ad ad

कारोबार


यसकारण जुम्लामा अब दैनिक साढे सात घण्टा बिजुली उपलब्ध हुने

यसकारण जुम्लामा अब दैनिक साढे सात घण्टा बिजुली उपलब्ध हुने

नेपालखबर
माघ ५, २०७७ सोमबार ११:३६,

नेपाल विद्युत प्राधिकरणले जुम्लामा दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् दिने गरी नयाँ समय तालिका तय गरेको छ।

राष्ट्रिय प्रसारण ग्रिड नपुगेको जुम्लामा यसअघि एक दिन बिराएर विद्युत् आपूर्ति गर्दै आएको प्राधिकरणले अहिले दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् उपलब्ध गराउने तालिका सार्वजनिक गरेको छ। प्राधिकरणले एउटा समूहबाट दैनिक सात र अर्कोबाट साढे सात घण्टा विद्युत् आपूर्ति हुने गरी नयाँ तालिका तय गरेको हो।

प्राधिकरणले ११०/११० किलोवाट जडित क्षमता भएका दुईवटा युनिट रहेको लघुजलविद्युत आयोजनाबाट विद्युत् उत्पादन गरी जुम्ला सदरमुकाम र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ।

हिउँदमा खोलामा पानी घट्ने भएकाले अहिले आयोजनाबाट १३० देखि १४५ किलोवाटसम्म मात्रै विद्युत् उत्पादन हुन्छ। विद्युत माग र आपूर्तिको सन्तुलन मिलाई उपभोक्ताले दैनिक रुपमा विद्युत् प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।

‘प्राधिकरणले जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैन, एक दिन बिराएर विद्युत् आपूर्ति हुँदै आएकोमा अब दैनिक रुपमा विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको हो, यसबाट स्थानीय खुशी भएको जानकारी पाएका छौं’, उनले भने, ‘कर्णालीका कालिकोट, हुम्ला र मुगुमा चालु आर्थिक वर्षभित्रमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने गरी काम गरिरहेका छौं।’

राति २ बजेबाट बिहान ५ बजेसम्म विद्युत उत्पादन बन्द गरी पानी जम्मा गरिन्छ। त्यसरी जम्मा भएको पानीबाट विहान विद्युतगृह सञ्चालन गरी विद्युत् आपूर्ति गरिन्छ। फेरि बिहान ८ बजेदेखि १० बजेसम्म विद्युत गृह बन्द गरिन्छ। जम्मा भएको पानीबाट १० बजेपछि ४ बजेसम्म विद्युत् उत्पादन गरी आपूर्ति गरिन्छ।

साँझ विद्युत आपूर्तिका लागि विद्युत गृह फेरि दिउसो ४ बजेदेखि साँझ ६ बजेसम्म बन्द गरिन्छ। ६ बजेपछि विद्युतगृह सञ्चालन गरी राति २ बजेसम्म विद्युत् आपूर्तिको व्यवस्था गरिएको प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले जानकारी दिए।

कर्णाली प्रदेशका कालिकोट, हुम्ला, डोल्पा, जुम्ला र मुगुमा राष्ट्रिय प्रसारण ग्रिडमार्फत विद्युत पु्र्याउन दैलेखबाट कालिकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .