स्वदेशतर्फको राजश्व संकलन गर्ने निकाय तीन हप्तादेखि नेतृत्वविहीन छ। पुस तेस्रो साता आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँवर गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा भएपछि रिक्त भएको सो पदमा अहिलेसम्म अर्थमन्त्री विष्णु पौडेलले नयाँ सहसचिव पठाएका छैनन्।
पौडेलले अर्थ मन्त्रालयमै रहेका दुई सहसचिवलाई आन्तरिक राजश्व विभागको महानिर्देशक बनाउन चाहेका थिए। तर, सहसचिवहरु रामेश्वर दंगाल र झक्कप्रसाद आचार्य दुवैले सो पद अस्वीकार गरेका छन्।
आफू सचिवमा बढुवाको क्रममा रहेकाले लामो समय विभागमा बस्न नसक्ने भन्दै दंगाल पन्छिएका हुन्। आचार्यले पनि सचिवमा बढुवाका लागि प्रदेश जानैपर्ने बाध्यता भएको भन्दै आन्तरिक राजश्व विभागको महानिर्देशकजस्तो आकर्षक मानिने पद अस्वीकार गरेका हुन्।
त्यसैले अहिले अर्थमन्त्री पौडेलले स्याङ्जा घर भएकी चन्द्रकला पौडेललाई महानिर्देशक बनाउन खोजेका छन्। अर्थमन्त्रीले आफूनिकट भएकाले चन्द्रकला पौडेललाई महानिर्देशक नियुक्त गर्न चाहेको स्रोतको भनाइ छ। उनी हाल गण्डकी प्रदेशमा कार्यरत छिन्।
तर, प्रधानमन्त्री कार्यालयले भने दीर्घराज मैनालीलाई आन्तरिक राजश्व विभागको महानिर्देशक बनाउन चाहेको छ। खासगरी प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल मैनालीलाई महानिर्देशक बनाउन लागिपरेका छन्।
मैनालीले प्रधानमन्त्री कार्यालयको तर्फबाट राम्रो लबिङ गरिरहेको स्रोतको भनाइ छ। उनी अहिले प्रधानमन्त्री कार्यालयअन्तगर्तकै राजश्व अनुसन्धान विभागमा छन्। करिब ३ वर्ष राजश्व अनुसन्धानमै बिताएका उनी आन्तरिक राजश्वमा आउन निकै बल लगाइरहेका छन्।
आफूले राजश्व अनुसन्धानमा भीसीटीएस प्रणाली लागू गरेर राजश्व चुहावट रोकेको, भ्याट छली, अन्तःशुल्क छली गर्नेहरुलाई निगरानीमा राखेर राजश्वमा ठूलो योगदान पुर्याएको रिपोर्ट मैनालीले प्रधानमन्त्रीसमक्ष पुर्याएका छन्। आन्तरिक राजश्वमा जान पाए सरकारलाई ठूलो सफलता दिलाउने योजना पनि उनले रिमाललाई थमाइसकेका छन्।
अर्कोतिर, आन्तरिक राजश्वमा जान उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिजालले पनि बल लगाइरहेका छन्। उनले अहिले अर्थमन्त्रीको विश्वसपात्र रहेका मन्त्रालयका बजेट महाशाखा प्रमुख धनीराम शर्मा तथा अर्थसचिव शिशिर ढुंगानामार्फत लबिङ गरिरहेका छन्।
धनीराम शर्मा र बलराम रिजालले विष्णु पौडेल पहिलो पटक अर्थमन्त्री हुँदा उपसचिवको रुपमा सँगै काम गरेका थिए। त्यसैले अहिले रिजाललाई महानिर्देशक बनाउँदा राम्रो हुने भन्दै शर्माले अर्थमन्त्रीको कान फुकिरहेका छन्।
चालू आर्थिक वर्षका लागि सरकारले लक्ष्यअनुसार राजश्व उठाउन सकिरहेको छैन। आर्थिक वर्षको ६ महिना बित्दा पनि सरकारले ४० प्रतिशत हाराहारीमा मात्रै राजश्व संकलन गरेको छ।
यो वर्ष भन्सारतर्फको राजश्व कम भएकाले आन्तरिक राजश्वको दायित्व झनै बढेको छ। आन्तरिक राजश्वमा प्रविधिको विकास र अनुगमनको चुनौती पनि नयाँ महानिर्देशकलाई हुनेछ।
प्रतिक्रिया