ad ad

कारोबार


बालुवा प्रशोधन गर्ने नयाँ उद्योगलाई सरकारले दियो सञ्चालन अनुमति

बालुवा प्रशोधन गर्ने नयाँ उद्योगलाई सरकारले दियो सञ्चालन अनुमति

दीपक भट्ट
माघ १५, २०७७ बिहिबार १३:५१,

बालुवा प्रशोधन गर्ने नयाँ उद्योग सञ्चालनको बाटो खुलेको छ।

औद्योगिक व्यवसाय ऐन २०६७ ले ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा प्रशोधन गर्ने नयाँ उद्योग सञ्चालनमा रोक लगाएको थियो। तर, सोमबार बसेको उद्योग तथा लगानी प्रर्बद्धन बोर्डले बालुवा प्रशोधन गर्ने नयाँ उद्योगलाई भने अनुमति दिने निर्णय गरेको छ।

उद्योग विभागले सीधै यस्ता उद्योग सञ्चालनको अनुमति दिन नसक्ने व्यवस्था छ। ऐनअनुसार बोर्ड या मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको नेतृत्वमा सोमबार बसेको बोर्डको २ सय ३३ औं बैठकले सरकारले तयार गरेको मापदण्डअनुसार आवेदन आएको नयाँ उद्योगलाई अनुमति प्रदान गर्न निर्देशन दिएको हो।

‘बालुवा प्रशोधन गर्ने उद्योगको अनुमति, दर्ता तथा नियमनसम्बन्धी कार्यविधि तयार गर्ने सम्बन्धी बोर्डको २३२ औं बैठकबाट गठित कार्यदलले तयार गरेको प्रतिवेदन स्वीकृत गर्ने प्रतिवेदनअनुसार कार्य गर्न उद्योग विभागलाई निर्देशन दिने,’ बैठकको निर्णयमा भनिएको छ।

कार्यदलले तयार गरेको मापदण्डले यस्तो उद्योग राजमार्ग, खोला वा नदीबाट कति टाढा हुनुपर्छ भन्ने तय गरेको छ। त्यस्तै, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका स्थान र सुरक्षा निकायबाट निश्चित दुरी टाढा मात्रै उद्योग स्थापना गर्न पाइनेछ।

यो मापदण्ड केही दिनमा सार्वजनिक गरिने उद्योग मन्त्रालयले जनाएको छ। सो मापदण्ड पालना भएनभएको अनुगमन गरी पुराना उद्योगलाई समेत त्यसको पालना गर्न आग्रह गरिने मन्त्रालयका एक अधिकारीले जनाए।

सोमबारको बोर्ड बैठकले लगानी कम्पनी र उद्योग स्थापनामा एकरुपता कायम गर्ने विषयमा आगामी बैठकमा छलफल गर्ने निर्णय समेत गरेको छ।

एक चिनियाँ समूहले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न कम्पनी खोल्ने प्रस्ताव गरेको छ। त्यस्ता कम्पनीलाई अनुमति दिन सकिने वा नसकिने भन्नेबारे आगामी बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .