यही माघ सुरु भएदेखि नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो ५ रुपैयाँसम्म बढेको छ। मूल्य बढ्नुपर्ने ठोस कारण नभएपछि यसमा उद्योगी र व्यापारीले एकअर्कालाई दोष लगाइरहेका छन्।
उद्योगबाट मूल्य बढेर नगएको दाबी उद्योगीले गरिरहेका छन् भने व्यापारीले पनि आफूले मूल्य नबढाएको बताइरहेका छन्।
अहिले नेपाली बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो ९० रुपैयाँसम्म राखिएको छ।
उद्योगीले अहिले पनि चिनीको फ्याक्ट्री मूल्य प्रतिकिलो ७८ रुपैयाँ रहेकाले बजारमा ८५ रुपैयाँभन्दा कम हुनुपर्ने बताइरहेका छन्। तर योभन्दा बढी छ भने व्यापारीले नै मूल्य बढाएको उनीहरूकाे आरोप छ।
बजारमा चिनीको मूल्य बढिरहेको र त्यसको दोष उद्योगीलाई लगाएको कुरा आफूले सुनेको बताउँदै चिनी उत्पादक संघका उपाध्यक्ष तथा रिलायन्स चिनी मिलका सञ्चालक राजकुमार अग्रवाल त्यो झुटाे भएको दाबी गर्छन्।
‘अहिले क्रसिङको समय हो। चिनी कतै पनि अभाव छैन, हामीले फ्याक्ट्री मूल्यमा पनि हेरफर गरेका छैनौं। अहिले (मूल्य) बढ्ने कुरा नै हुँदैन,’ उनले नेपालखबरसँग भने, ‘अहिले आफू उद्योगमा नै रहेको उद्योगबाट चिनी बिक्री गर्दा प्रतिकेजी ७८ रुपैयाँभन्दा कममा बिक्री गरिहेका छौं। उद्योगीलाई बहाना बनाएर आफूखुसी मूल्य तय गरिएकाे हुन सक्छ।’
उता व्यापारी भने यो कुरा अस्वीकार गर्छन्।
उद्योगीले नै मूल्य बढाएका कारण आफूहरू पनि बढाउन बाध्य भएको व्यापारीको दाबी छ। खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार उद्योगीले नै प्रतिकिलो २ रुपैयाँदेखि ५ रुपैयाँसम्म बढाएका छन्।
‘आफू संघको अध्यक्ष भएका नाताले नै मूल्य किन बढ्यो भन्ने विषयमा खोजतलास गरेर मूल्य बढ्नाको कारण उद्योगले नै मूल्य बढाउनु देखिएको छ,’ उनी भन्छन्, ‘होलसेल व्यपारीहरूसँग नै खुद्रा व्यापारीले ८५ देखि ८७ रुपैयाँसम्म खरिद गर्नुपर्ने भएकाले उपभोक्तालाई ९० रुपैयाँसम्म पर्न गएको हो। मूल्य बढ्नाको कारण भनेकै उद्योगीबाट मूल्य बढाउनु देखिन्छ।’
हाल नेपालमै चिनी उत्पादन भइरहेको र यो वर्ष विदेशबाट पनि अत्यधिक आयात भइरहेकाले मूल्य बढ्नु नपर्ने सरकारी पक्षको दाबी छ। तर मूल्य बढिरहेको देख्दा आफू आश्चर्यमा परेको उसको भनाइ छ।
चालू आर्थिक वर्षमा मात्रै ७ अर्ब ३५ करोड रुपैयाँ बरारबको चिनी आयात भएको छ। यो परिमाण साउनदेखि पुससम्मको हो।
गत वर्ष यही अवधिमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको चिनी मात्रै आयात भएको थियो। भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष ७ गुणा बढी चिनी आयात भएको हो।
यसरी मूल्य बढ्नाको कारण भने सरकारको मौज्दात प्रमुख कारण रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसी बताउँछिन्।
उनी भन्छिन्, ‘सरकारी संस्थानसँगको मौज्दात सकिएको छ। त्यसकारण उद्योगी तथा व्यापारीले आफूखुसी मूल्य बढाइरहेका हुन्। यसलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्न सरकारी संस्थानको मौज्दात राख्नुपर्ने बाध्यता छ।’
चिनीको कारोबार गर्ने सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसनसँगको मौज्दात सकिएको छ। उसलाई सरकारले दसैंअघि २० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको थियो। यसअनुसार संस्थानले ल्याएको चिनी अहिले सकिएको छ।
हालको मूल्य वृद्धि रोक्न सरकारले पुनः चिनी आयात गर्न कार्पोरेसनलाई अनुमति दिनुपर्ने सरकारी पक्षको तर्क छ।
साल्ट ट्रेडिङले पनि हाल ५० हजार मेट्रिक टन चिनी आयातका लागि सरकारसमक्ष प्रस्ताव पेस गरिसकको छ। सरकारी संस्थानले चिनी आयात गर्दा भन्सार छुटमा ल्याएर मूल्य चेक एन्ड ब्यालेन्स गर्नुपर्ने भएकाले कर्पोरेसनले भन्सारसमेत छुट गर्न माग गरेको छ। त्यसका लागि अर्थ मन्त्रालयको स्वीकृति चाहिन्छ।
आपूर्ति मन्त्रायले साल्टको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइसकको छ।
Shares
प्रतिक्रिया