ad ad

कारोबार


सय जना नेपाली गाइडसहित सगरमाथा चढ्दै बहरेनी राजपरिवार सदस्यको टोली

सय जना नेपाली गाइडसहित सगरमाथा चढ्दै बहरेनी राजपरिवार सदस्यको टोली

वसन्त अर्याल
चैत ३, २०७७ मंगलबार ९:१७,

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहरेनी राजपरिवार सदस्यसहित १६ जनाको टोली सोमबार नेपाल आइपुगेको छ।

डिफेन्स फोर्सको सैन्य विशेष विमानमार्फत नेपाल आएको टोलीमा बहरेन राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासमेत छन्।

उनीसहित टोलीमा बहरेन रोयल गार्ड, डिफेन्स फोर्समा कार्यरत १३ जना बहरेनी नागरिक र अन्य तीन जना बेलायती पनि छन्।

यो टोलीले समुद्री सतहदेखि ८ हजार मिटर अग्लो मनास्लु र ६ हजार मिटर अग्लो लोबुचे हिमालको गत असोजमा आरोहण गरेर कात्तिक ६ गते बहरेन फर्किएको थियो।

सगरमाथामा एकैपटक चढ्न पाइँदैन। त्यसका लागि ७ हजार मिटरमाथिको हिमाल पहिले चढेको हुनुपर्ने व्यवस्था छ। त्यहीअनुसार टोलीले असोजमा दुई हिमाल आरोहण गरेको थियो।

अहिले सोही टोली ८० दिनसम्म नेपालमै रहने गरी आएको हो। यहीबीचमा उनीहरुले विश्वकै अग्लो शिखरमा आफ्नो पाइला राख्नेछन्।

बहरेनको टोलीको स्थानीय एजेन्सी सेभेन समिट ट्रेक प्रालि रहेको छ।

bahrain royal member mt everest1
बहरेनबाट नेपाल प्रस्थान गर्नुअघि टाेली। (तस्बिरः नेपाली राजदूतावास) 

सेभेन समिटका म्यानेजिङ डाइरेक्टर टासी लाक्पा शेर्पाले टोली सदस्यहरु क्वारेन्टिन बसाइपछि मात्रै काठमाडौंबाहिर जाने जानकारी दिए।

सरकारी स्वास्थ्य सुरक्षा मापदण्डअनुसार यो टोली अब ७ दिनसम्म पाँचतारे होटल म्यारियटमा बस्ने भएको छ।

‘पीसीआर नेगेटिभ आएपछि उहाँहरु गोरखा सामागाउँ जानुहुन्छ’, लाक्पा शेर्पाले नेपालखबरसँग भने।

क्वारेन्टिन बसाइ सकिएसँगै टोलीको मनास्लु हिमालमुनि रहेको गोरखाको सामागाउँ जाने कार्यक्रम छ। टोलीले सामागाउँनजिकै रहेको बहरेन पिक आरोहण समेत गर्नेछ।

यसैबीच, टोलीले गोरखा जिल्ला चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरसविरुद्ध करिब २ हजार डोज अस्ट्राजेनेका खोप समेत सहयोगस्वरुप प्रदान गर्नेछ।

‘त्यसपछि काठमाडौं फर्किएर उहाँहरु सोलुखुम्बु जानुहुन्छ’, टोलीको आरोहण कार्यक्रमबारे शेर्पाले भने, ‘उहाँहरुसँग प्रशस्त समय छ। हतार–हतारमा आरोहण गराउँदैनौँ। पहिला हिमालको वातावरणमा घुलमिल गराउँछाैँ।’

बहरेनको टोलीले २०७७ भदौ ३१ मा विशेष विमानमार्फत काठमाडौं आई मनास्लु र लोबुचे हिमाल आरोहण गरेको थियो।

त्यतिखेर पनि सेभेन समिटले नै उनीहरुको कार्यक्रम संयोजन गरेको थियो।

सगरमाथा आरोहणका लागि दुई हिमालको आरोहणलाई ट्रेनिङका रुपमा समेत लिइन्छ।

‘सगरमाथा आरोहणका लागि मनास्लु र लोबुचे हिमाल आरोहण टे«निङ जस्तै थियो’, सेभेन समिटका अध्यक्ष मिङमा शेर्पाले भने, ‘कहिल्यै हिमाल आरोहण नगरेकालाई त्यसपछि मात्र सगरमाथा आरोहणका लागि सहज हुन्छ।’

bahrain royal member mt everest2
बहरेनबाट नेपाल जानुअघि नेपाली राजदूतावासले गरेकाे विदाइ (तस्बिरः नेपाली राजदूतावास) 

सय जना नेपाली गाइड पनि
सगरमाथा आरोहणका लागि उक्त टोली १५ दिनपछि सोलुखुम्बु जाने तयारी भएको अध्यक्ष शेर्पाले जानकारी दिए। बहरेनी टोलीलाई सगरमाथा आरोहणका लागि करिब १०० जना नेपालीले गाइडका रुपमा सहयोग गर्नेछन्।

‘करिब १०० जना गाइडले बहरेनको टोलीलाई सगरमाथा आरोहणका लागि सहयोग गर्नेछन्’, उनले भने, ‘समिट सुरु गरेको कति दिनमा आरोहण गर्न सकिन्छ भन्ने आरोहीमा भर पर्छ।’

हिमाल आरोहण गर्दा खाने बस्ने लगायत सबै व्यवस्था सेभेन समिटले नै गर्नेछ।

‘उहाँहरुको मुख्य उद्देश्य सगरमाथाको चुचुरोमा पुग्नु हो। त्यसको लागि हामीले भरपूर सहयोग गर्छौँ’, मिङमा शेर्पाले भने, ‘पहिला आउँदा उनीहरुसँग आरोहणसम्बन्धी कुनै अनुभव थिएन। नेपाल आएर नै पहिलोपटक हिमाल आरोहण गरेका थिए।’

यता पर्यटन विभागले बहरेनी टोलीले १ हप्ता क्वारेन्टिन बसेपछि सबै डकुमेन्ट बुझाएपछि मात्र सगरमाथा आरोहणका लागि अनुमति पाउने बताएको छ।

‘अहिले १ हप्ता क्वारेन्टिन बस्नुपर्ने व्यवस्था छ। एक हप्ता क्वारेन्टिनको अवधि पु¥याएर पीसीआर नेगेटिभ रिपोर्ट लिएर आएपछि हामी आरोहण अनुमति जारी गर्छौँ’, पर्यटन विभागकी निर्देशक मिरा आचार्यले भनिन्।

विभागले वसन्त ऋतुको लागि हालसम्म २ वटा टोलीले हिमाल आरोहणका लागि अनुमति लिइसकेको बताएको छ। जसमा नुप्त्से हिमाल ४ जनाले आरोहण गर्दै छन् भने मनास्लुको आरोहण १ जनाले गर्ने विभागले जनाएको छ।

तीन हिमालमा आरोहीको चासो
कोभिडको कारण २०२० मा ठप्प भएको हिमाल आरोहण २०२१ को वसन्त ऋतुमा अन्नपूर्ण, धौलागिरि र सगरमाथा हिमालमा आरोहणसम्बन्धी बढी चासो रहेको आचार्यले बताइन्।

‘अहिले इन्क्वाइरी आएकै छ। २०१९ को जस्तै हुन्छ कि हुँदैन भन्न सकिँदैन। तर २०२० मा भन्दा धेरै राम्रो हुन्छ’, आचार्यले भनिन्, ‘२०२१ भरिमा नेपालको माउन्टेन टुरिजम २०१९ को सामान्य अवस्था हुन्छ भन्ने अपेक्षा छ।’

कोभिड महामारीको बीचमा बहरेन राजपरिवार सदस्य समेत नेपाली हिमाल आरोहणमा गर्दा नेपाल पर्यटकको लागि सुरक्षित छ भन्ने सन्देश विदेश जाने पर्यटन व्यवसायीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .