लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला व्यापारिक केन्द्रसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै छ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै उक्त क्षेत्रआसपासमा धमाधम ठूला पर्यटकीय पूर्वाधार समेत बनिरहेका छन्।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ५ हजार जना अट्ने सम्मेलन तथा ध्यान केन्द्रदेखि विदेशी पर्यटकसम्मलाई लक्षित गरी धमाधम तारे होटल निर्माण भइरहेका छन्।
पहाडी जिल्लाबाट बसाइ सरी तराई झर्दा अव्यवस्थित रुपमा विकास भइरहेको बुटवल–भैरहवा सहरलाई व्यवस्थित बनाउन यस क्षेत्रमा हाउजिङ तथा अपार्टमेन्ट निर्माण पनि सुरु भएका छन्।
यिनैमध्येको रुपन्देहीमा निर्माण सुरु भएको परियोजना हो– द हब लुम्बिनी।
रियलस्टेट, ठूला पूर्वाधार र जलविद्युतमा लगानी गरिरहेको सीई कन्स्ट्रक्सनको प्रमुख साझेदारीमा अघि बढेको ‘द हब लुम्बिनी’ व्यावसायिक तथा आवासीय सुविधायुक्त परियोजना हो।
उक्त परियोजना निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलभन्दा १३ किलोमिटर र लुम्बिनी मायादेवी मन्दिरबाट ५ किलोमिटर दूरीमा छ।
यसको अहिले धमाधम निर्माणकार्य भइरहेको छ।
सीई ग्रुपले अरु व्यवसायीसँगको साझेदारीमा तारे होटलसहित हाउजिङ र अपार्टमेन्ट निर्माण गरिरहेको छ। ‘द हब लुम्बिनी’मा सीई कन्स्ट्रक्सनसँगै ग्राण्डी होल्डिङ प्रालि तथा व्यवसायी योगेन्द्र शाक्यको मुख्य सेयर छ।
पर्यटकीय पूर्वाधारको रुपमा विकास भइरहेको परियोजनामा तारे होटल, रेष्टुरेन्ट, कन्भेन्सन सेन्टर, आवासीय तथा व्यापारिक भवन, वाटरपार्क समेत हुनेछन्।
सीई कन्सट्रक्सन प्रालिकी अप्रेसन मेनेजर रेश्मा श्रेष्ठले ‘द हब लुम्बिनी’ आवास (हाउजिङ) र आतिथ्य सत्कार (हस्पिटालिटी) मिश्रित सहरी सुविधायुक्त परियोजना भएको बताइन्।
‘द हब लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्यमा पाइलट प्रोजेक्टको रुपमा सुरु गरिएको हो’, श्रेष्ठले नेपालखबरसँग भनिन्, ‘जुन मिक्स्ड डेभलपमेन्ट मोडलअनुसार करिब ७ बिघा जमिनमा बन्दै छ।’
उनका अनुसार यसभित्र करिब २५ वटा हाउजिङ (घर) निर्माण हुनेछन्। यी घरहरु सबै व्यावसायिक तथा आवासीय प्रयोजनका हुनेछन्। जहाँ व्यापारसँगै बसोबास गर्न सकिनेछ। यसबाहेक अपार्टमेन्ट समेत निर्माण गरिनेछ।
हाउजिङ निर्माणको काम छिट्टै सुरु गर्ने उनको भनाइ छ।
आयोजनाले हाउजिङ र व्यावसायिक तथा आवासीय प्रयोजनका घरका मूल्य भने अहिले नै सार्वजनिक गरेको छैन।
पूर्वाधार निर्माणको काम सुरु
‘द हब लुम्बिनी’को लागि जग्गा प्राप्ति भइसकेको र पूर्वाधार निर्माणको काम सुरु भएको छ। आयोजना क्षेत्रमा पहुँच मार्गको निर्माण भइसकेको छ भने मुख्य संरचना निर्माण सुरु भएको छ।
जग खन्ने काम सुरु हुँदा अहिले नै ४० युनिटको माया अपार्टमेन्ट बिक्री समेत भइसकेको सीई कन्स्ट्रक्सनले जनाएको छ।
उक्त क्षेत्रमा फरक स्वाद पस्किने ५ वटा रेष्टुरेन्टको लागि जग्गा बिक्रीको काम सकिएको छ भने रेष्टुरेन्ट निर्माणको सबै तयारी सकिएर काम सुरु हुने तरखरमा छ।
यो परियोजनाको अर्को आकर्षणका रुपमा एउटा कन्भेन्सन सेन्टर र अर्को वाटरपार्क समेत छन्। जसमध्ये दुवै पार्क निर्माणको चरणमा छन्।
‘अपार्टमेन्ट र रेष्टुरेन्ट साढे २ वर्षमा बनिसक्ने लक्ष्य राखेका छौँ’, श्रेष्ठले भनिन्, ‘हबभित्रका सबै पूर्वाधार ५ वर्षभित्रै सकिनेछ।’
यसको कुल अनुमानित लागत करिब ४ अर्ब रहेको श्रेष्ठले जानकारी दिइन्।
योगेन्द्र शाक्यले तारे होटल सञ्चालन गर्ने
‘द हब लुम्बिनी’ परियोजनामा स्टार होटल सञ्चालन हुनेछ। काठमाडौंको लाजिम्पाटमा चारतारे होटल सञ्चालन गरिरहेका व्यवसायी योगेन्द्र शाक्यले नै त्यहाँ होटल निर्माण सुरु गरेका हुन्।
नगरकोटमा उनको क्लब हिमालय समेत सञ्चालनमा छ। लुम्बिनीमा भने उनले शाक्यमुनिको नामबाट तारे होटल सञ्चालन गर्नलागेका हुन्।
होटल निर्माणको लागि जग्गाको विषयमा शाक्यसँग सम्झौता भइसकेको छ। अब निर्माणको काम सुरु हुनेछ।
हाल लुम्बिनीमा पर्यटकले छोटो समय बिताउँदै आएकामा ‘द हब लुम्बिनी’ले परियोजना सम्पन्न भएपछि पर्यटकहरुको बसाइ अवधि लम्ब्याउन सहयोग गर्ने विश्वास लिएको छ।
प्रतिक्रिया