ad ad

कारोबार


नागढुंगा–मुग्लिङ सडक अब कम्तीमा ९ मिटर फराकिलो

नागढुंगा–मुग्लिङ सडक अब कम्तीमा ९ मिटर फराकिलो

वसन्त अर्याल
चैत ५, २०७७ बिहिबार १०:५५,

काठमाडौं उपत्यका भित्रिने मुख्य सडकको नागढुङ्गा–मुग्लिङ खण्ड फराकिलो अब कम्तीमा ९ मिटर फराकिलो बनाइने भएको छ।

अत्यधिक गाडीको चाप हुने यो सडक हाल ६ देखि ७ मिटर फराकिलो छ।

विश्व बैंकको ऋण सहयोगमा सरकारले सडक निर्माणको लागि पूर्वतयारीको काम गरिरहेको सडक विभागले जनाएको छ।

विभागले असारसम्ममा ठेक्का लागिसक्ने दाबी गरेको छ।

नागढुंगा–मुग्लिङ सडक अहिले कतै दुई लेन त कतै डेढ लेनको मात्र छ।

साँघुरो हुँदा मालवाहक सवारीसाधनको बाक्लो ओहोरदोहोरले ट्राफिक जामको समस्या समेत दिनहुँ हुने गरेको छ। यसले सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ।

सडकलाई नागढुंगा–नौबीसे, नौबीसे–मलेखु र मलेखु–मुग्लिङ गरी ३ वटा प्याकेजमा बाँडेर स्तरोन्नति गर्न लागिएको सडक विभागले जानकारी दिएको छ।

ट्राफिक जाम तथा सडक दुर्घटना न्यूनीकरण गर्दै सरकारले ९५ किलोमिटर लामो सडकसँगै ६ वटा नयाँ पुल बनाउने योजना समेत अघि सारेको छ।

narayangadh mugling bato3

सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सीडीई लक्ष्मीदत्त भट्टले बजार क्षेत्रमा ४ लेनको सडक र अन्य क्षेत्रमा कम्तीमा दुई लेनको हुने बताए।

‘मुग्लिङदेखि नागढुंगासम्म कम्तीमा ९ मिटरको सडक हुनेछ’, उनले नेपालखबरसँग भने, ‘७ मिटर सडक निर्माण हुनेछ भने दुवै छेउमा १–१ मिटर छाडिनेछ।’

करिब ३६ किलोमिटर सडकमा मालवाहक सवारीको लागि डेडिकेटेड लेन विस्तार गर्ने योजना छ।

सडक विस्तारका लागि विभागले निर्माण कम्पनीसँग आशय माग गरिसकेको छ। इच्छुक कम्पनीको अहिले विभागले योग्यता जाँच गरिरहेको छ। त्यसमा सफल हुने कम्पनीलाई सूचीकृत गरी उनीहरुसँग आर्थिक र प्राविधिक प्रस्ताव मागेर तीन वर्षमा काम सक्ने गरी ठेक्का दिने विभागको तयारी छ।

‘अहिले ठेक्का व्यवस्थापनको काम हुँदै छ। असारसम्म ठेक्का लागिसक्छ’, भट्टले भने, ‘सडक स्तरोन्नतिको लागि करिब १८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।’

त्यसमा ७० प्रतिशत विश्व बैंकबाट ऋण लिइने र बाँकी नेपाल सरकारले नै खर्च गर्नेछ।

विस्तारित सडक भत्किए वा अन्य कुनै समस्या देखिए ५ वर्षसम्म ठेकेदार कम्पनीले नै मर्मत गर्ने गरी विभागले ठेक्का सम्झौता गर्नलागेको छ।

मुग्लिङ–नारायणगढ खण्डको सडक विस्तार गर्दा धेरै पहाड काट्नुपरेको थियो। मुग्लिङ–नागढुंगामा अहिले सडक भएकै ठाउँलाई फराकिलो बनाउन समस्या हुने भन्दै त्रिशूली वारिपारिबाट दुई/दुई लेनको सडक बनाउने चर्चा चलेको थियो।

‘जग्गा व्यवस्थापनमा समस्या देखिएपछि अहिले भएकै बाटोलाई कम्तीमा दुई लेनमा बनाउने गरी अगाडि बढेका छौँ’, भट्टले भने, ‘मुग्लिङ–नागढुंगा खण्डमा बढी भीर काट्नेभन्दा खोला छेउमा उपलब्ध ठाउँमा सडक बनाउने तयारी छ।’

सिस्नेखोलादेखि नागढुंगासम्म सुरुङमार्ग निर्माण भइरहे पनि अहिले भइरहेको सडक विस्तार हुने विभागले जनाएको छ। सुरुङमार्ग बाहिरबाट जान चाहने गाडीको लागि सडक आवश्यक हुने विभागको भनाइ छ।

narayangadh mugling bato1

मुग्लिङ–नारायणगढतर्फ १५ पुल निर्माण हुँदै
दुई वर्षअघि नै विस्तार सकिएको मुग्लिङ–नारायणगढ सडक खण्डमा १५ वटा नयाँ पुल निर्माणको काम सुरु भएको छ। पहिलो चरणमा ७ र दोस्रो चरणमा ८ गरी १५ पुल निर्माण हुनलागेको हो।

१५ वटै पुलको जिम्मा आएको अनक कन्स्ट्रक्सनले ‘डिजाइन एण्ड बिल्ड’ मोडमा पुल निर्माण गर्दैै छ। कम्पनीले पुलहरुको डिजाइन तयारी गरी सडक विभागबाट पास गराई पुल निर्माण अगाडि बढाउनुपर्नेछ।

पहिलो प्याकेजका धेरै पुलको डिजाइन स्वीकृत हुन बाँकी छ भने दोस्रो प्याकेजका ८ वटै पुलको डिजाइन स्वीकृत भइसकेको छ।

पहिलो प्याकेजका पुल निर्माण गर्न करिब ६८ करोड रुपैयाँ र दोस्रो प्याकेजका पुल निर्माण गर्न ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

२०७६ चैतमा ठेकेदारसँग सम्झौता भए पनि कोभिडको कारण लामो समय काम हुनसकेको थिएन। हाल डिजाइन स्वीकृत भएको पुलको काम धमाधम भइरहेको आयोजनाले बताएको छ।

नारायणगढ–मुग्लिङ सडकका पुराना पुलको चौडाइ ६–७ मिटरका थिए। अब ९ देखि ११ मिटरका हुनेछन्।

मुग्लिङ–नारायणगढ सडक अहिले कम्तीमा ११ मिटरको रहेको छ। ७ मिटरको सडकमा २/२ मिटर छोडिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .