ad ad

कारोबार


अरु बैंकले निक्षेपको ब्याज घटाइरहँदा नबिल बैंकले किन बढायो?

अरु बैंकले निक्षेपको ब्याज घटाइरहँदा नबिल बैंकले किन बढायो?

नेपालखबर
चैत ५, २०७७ बिहिबार १२:३६,

अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाइरहेको अवस्थामा नबिल बैंकले भने निक्षेपको ब्याजदर बढाएको सूचना प्रकाशित गरेको छ।

बैंकिङ क्षेत्रमा तरलता घट्दै गइरहेको अवस्थालाई ध्यानमा राख्दै नबिलले निक्षेपकर्ताहरुलाई आकर्षित गर्न धेरै ब्याज दिने भएको हो।

नबिल बैंकले सार्वजनिक गरेको सूचनाअनुसार व्यक्तिगत मुद्दती खाताको ब्याजदर बढाइएको छ। बैंकले ६ महिनाभन्दा माथिको मुद्दती खातामा वार्षिक ७ दशमलव ५१ प्रतिशत ब्याज दिने भएको हो।

बैंकले यसअघि सात प्रतिशत ब्याज दिँदै आएको थियो।

त्यस्तै, अरु बैंकले भने एक वर्षे मुद्दतीमा पनि साढे चार प्रतिशत हाराहारीमा मात्रै ब्याज दिइरहेका छन्। केही दिनअघि नबिल बैंककै प्रतिस्पर्धी रहेका बैंकहरुले निक्षेपको ब्याजदर यसअघिभन्दा कम गरेका थिए।

गत हप्ता हिमालयन बैंकले सार्वजनिक गरेको नयाँ दररेटअनुसार मुद्दतीतर्फको ब्याजदर घटाइएको उल्लेख छ। बैंकले ४ प्रतिशतदेखि ७ प्रतिशतसम्मको रहेको बैंकको मुद्दती खाताको ब्याजदरलाई ३ दशमलव ५ देखि ६ दशमलव ५ प्रतिशतमा झारेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले चैत महिनाको ब्याजदर सार्वजनिक गर्दै पुस महिनाकै आधार दर ६ दशमलव ०७ प्रतिशत कायम गर्ने जानकारी गराएको थियो।

मुद्दतीतर्फ परिपक्व हुने समयका आधारमा ४ दशमलव ५ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याजदर कायम हुने र बैंकले साधारण बचततर्फ २ देखि ४ प्रतिशतसम्म ब्याजदर हुने बैंकको सूचनामा उल्लेख छ।

एभरेष्ट बैंकले साधारण बचतमा २ देखि ४ प्रतिशतसम्म ब्याजदर मुद्दती खातामा ४ दशमलव ७५ प्रतिशतदेखि ६ दशमलव ७५ प्रतिशत ब्याज दिइने सूचना निकालेको थियो।

सेन्चुरी कमर्सियल बैंकले साधारण निक्षेपतर्फ २ दशमलव ७५ प्रतिशतदेखि ४ दशमलव ७५ प्रतिशतसम्म ब्याज र मुद्दतीतर्फ ५ दशमलव ५० देखि ७ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको हो।

एसबीआई बैंकले साधारण बचतमा भने बैंकले २ देखि ३ दशमलव १६ प्रतिशतसम्मको ब्याज दिने सूचना जारी गरेको थियो। यसकारणले गर्दा अहिलेको प्रचलित दरमा नबिल बैंकले सबैभन्दा धेरै ब्याज दिने गरी सूचना जारी गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तमा नेपालमा सबैभन्दा धेरै अधिक तरलता रहेको थियो। त्यस समयमा इतिहासमा नै धेरै २ खर्बको तरलता रहेको थियो।

माघमा त्यो घट्ने क्रममा १ खर्बमा आएको थियो। हाल बैंकिङ प्रणालीमा ३० अर्ब हाराहारीमा तरलता रहेको राष्ट्र बैंकको भनाइ छ।

नेपाल राष्ट्र बैंकले बुधबार साँझ माघ मसान्तसम्मको तथ्याङ्क सार्वजनिक गर्दै कर्जा प्रवाह बढेको जानकारी गराएको छ।

कर्जाको माग निरन्तर बढिरहनु र तरलता घटिरहँदा नविल बैंकले निक्षेपकर्तालाई थप आकर्षित गर्न खोजेको देखिन्छ।

राष्ट्र बैंकका अनुसार वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.९ प्रतिशतले बढेको थियो।

माघ मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १४.० प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १७.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ४.४ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकले भनेको छ, ‘२०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ।’

आर्थिक वर्ष २०७७÷०७८ को सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २५.५ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ११.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १३.१ प्रतिशतले बढेको छ।

माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १४.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १६.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.३ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५३.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १८.२ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.९ प्रतिशतले घटेको राष्ट्र बैंकले जानाकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .