ललितपुर सातदोबाटोमा ‘स्मार्ट ग्यास पाइपलाइन’सहितको हाउजिङ निर्माण हुँदै छ।
युरोपियन स्ट्यान्डर्डमा रिङरोडको २०० मिटर दूरीमै ‘द अर्बान स्पेस’ हाउजिङ बन्नलागेको हो।
हाउजिङ निर्माताले नेपालमा पहिलोपटक स्मार्ट ग्यास पाइपलाइनसहितका घर हुने बताएको छ। जहाँ ग्यास सकिन्छ कि भनेर सिलिन्डर थुपार्नु पर्नेछैन। ग्यास सकियो भने सिलिन्डर बोकेर पसल जानु पनि नपर्ने कम्पनीले जनाएको छ।
स्मार्ट सेन्ट्रलाइज्ड ग्यास पाइपमा सबैको घरमा ग्यासको मिटर हुन्छ। पैसा सकिन लागेपछि मोबाइलमा सन्देश आउँछ। मोबाइलबाटै पैसा तिर्न सकिन्छ।
युरोपियन डिजाइनमै बन्नलागेको हाउजिङमा जाडो समयमा घरलाई न्यानो राख्न सेन्ट्रल हिटिङ सिस्टमलगायत नयाँ प्रविधिको प्रयोग गरिएको छ।
काठमाडौं उपत्यकामा ६ महिना जाडो नै हुन्छ। गर्मीको समयमा पंखा वा एसी आवश्यक हुँदैन। बरु अर्बान स्पेस हाउजिङमा हरेक घरमा एसीको व्यवस्थाभन्दा ‘सेन्ट्रल हिटिङ सिस्टम’ जडान हुनेछ।
हिटिङ सिस्टमले जाडो समयमा घरलाई तातो बनाउन सहयोग गर्छ। कति तातो बनाउने कुन कोठामा कति आवश्यक भन्ने आफैँले कन्ट्रोल गर्न सकिनेछ।
मेरोघरका सीईओ तथा इन्जिनियर विपिन गैरे भन्छन्, ‘प्लटिङ गरेको हाउजिङ र अर्बान प्लानरले बनाएको हाउजिङ फरक हुनुपर्छ भनेर यस्तो व्यवस्था गरेका हौँ।’
उनले स्मार्ट ग्यास पाइपलाइनको लागि नेपाल ग्याससँग समझदारी भइसकेको जानकारी दिए।
काठमाडौं उपत्यकामा सामान्यतया हाउजिङ रिङरोडको ४/५ किमिभन्दा बाहिर बनेका छन्। रिङरोडको भित्र अपार्टमेन्ट बनेका छन्। तर हाउजिङको लागि पर्याप्त ठाउँ छैन।
‘विदेशमा थोरै ठाउँमा राम्रो संरचना बनेका हुन्छन्। तर नेपालमा ठूला ठाउँलाई पनि व्यवस्थित गर्न सकिएको छैन’, गैरेले नेपालखबरसँग भने, ‘म अर्बान प्लानर हो। थोरै ठाउँमा व्यवस्थित सहर बनाउनुपर्छ। यसको सुरुवात यहाँबाट गरेको हो।’
नगरपालिकाहरुले हरेक घर बनाउँदा झ्यालको लागि ५ फिट जग्गा छाड्ने व्यवस्था गरेका छन्।
यसअनुसार दुईवटा घरले ५–५ फिट जग्गा छाडेका हुन्छन्। बीचमा पर्खाल लगाइएको हुन्छ। त्यो १० फिट जग्गाको उपयोगिता राम्रो हुनसकेको छैन।
अर्बान स्पेसको डिजाइनअनुसार भने दुई घरको बीचमा बाँकी रहने १० फिट जग्गामा थप १० फिट ठाउँ राखेर घर नै निर्माण हुँदै छन्।
‘दुवै घरको पछाडिको भाग सेयर भई ८ आना जग्गा खुल्ला क्षेत्रको रुपमा रहनेछ’, गैरेले भने, ‘यो नौलो प्रयोग हो। त्यसैलाई आधार मानेर हाउजिङको नाम ‘अर्बान स्पेस’ राखिएको छ।’
३ आना लालपुर्जासहितको सम्पत्ति व्यक्तिको नाममा हुन्छ। बाँकी घरहरुबीचको ८ आना जग्गा साझा हुन्छ। त्यहाँ बच्चाहरुलाई खेलकुदको लागि प्रयोग गर्न सकिन्छ।
१२ वटा प्रपर्टी (घर) बन्नेछन्। जसमा ११ वटा व्यक्तिको घरको रुपमा रहन्छन् भने एउटा साझा पार्किङ क्षेत्रसहित क्याफे, जिमसहित सर्भिस सेन्टरको रुपमा रहनेछ।
घरको अगाडि आफ्नो प्राइभेट स्पेस हुन्छ। त्यहाँ दुईवटा गाडी पार्किङ गर्न सकिन्छ। हाउजिङ सेफ्टीको लागि सीसी क्यामेरासहित फायर फाइटिङ जडान गरिएको छ।
अर्बान स्पेसमा साँच्चैकै ‘स्ट्रेस फ्रि’ घर बन्ने कम्पनीले बताएको छ। यसमा चौबीसै घण्टा पानीको व्यवस्था हुने र ग्यास सकियो भन्ने कुनै चिन्ता नहुने हुँदा चैनसँग बस्न सकिनेछ।
‘मानिससँग पैसा भए पनि सुविधा उपयोग गर्नसकेका छैनन्’, उनले भने, ‘हामीले स–साना कुरालाई ख्याल गरेर डिजाइन तयार पारेका छौँ।’
हाउजिङ सामान्यतया साढे दुईतल्लाका बन्ने गरेकामा अर्बान स्पेस हाउजिङ साढे ३ तल्लाको हुनेछ।
घरमा किचन, डाइनिङबाहेक ४ वटा बेडरुम हुनेछन्।
हरेक बेडरुममा बाथरुम हुनेछन्। एउटा घरमा ५ वटा बाथरुम हुँदै छन्। एउटा सबैले प्रयोग गर्न मिल्ने र बाँकी हरेक कोठामा। घर २६ सय वर्गफिटको हुनेछ। हाउजिङमा घरको माथि ट्यांकी नै नदेखिने गरी डिजाइन गरिएको छ।
‘यहाँको सबैभन्दा राम्रो भनेको जग्गाको लोकेसन हो। हाउजिङनजिकै राम्रा विद्यालय छन्। हस्पिटल वरिपरि नै छन्’, उनले भने।
१० प्रतिशत रकम दिएर बुकिङ गर्न सकिने
कम्पनीले घरको बुकिङ खुल्ला गरिसकेको छ। ग्राहकले सुरुमा १० प्रतिशत रकम दिएर बुकिङ गर्न सक्ने गैरेले बताए।
घर निर्माणको काम नयाँ वर्षको सुरुवातसँगै हुनेछ। एउटा घरको सुरुवाती मूल्य ३ करोड ६० लाख छ। हरेक प्लटको एउटै मूल्य भने छैन।
ग्राहकले बनेको घर वा थोरै फर्निचर जडित या पूर्ण फर्निचर जडित किन्ने हो, चाहनाअनुसार किन्न पाउनेछन् तर मूल्य सोहीअनुसार फरक फरक हुनेछ।
‘घर फिनिस्ड, सेमि–फर्निस र फुल्ली फर्निस ग्राहकले जस्तो चाह्यो त्यस्तै हस्तान्तरण हुन्छ’, गैरेले भने, ‘रिङरोडबाट नजिकै रहेकाले जग्गाको मूल्य नै महंगो छ।’
बुकिङ गरेका ग्राहकले घर बन्दै गर्दा बाहिरी स्वरुपमा डिजाइन परिवर्तन नभए पनि भित्रको डिजाइन भने परिवर्तन गर्न सक्ने उनको भनाइ छ।
इन्टेरियर अर्थात् भित्री डिजाइनका सामग्री ग्राहक आफैँले छनोट गर्न सक्नेछन्।
‘यो हाम्रो पाइलट प्रोजेक्ट हो। यो प्रोजेक्ट सफल भयो भने ठूलो स्केलमा बनाउँछौँ’, गैरेले भने।
प्रतिक्रिया