ad ad

कारोबार


दुई दर्जन गौरवका आयोजना : एउटामात्रै सफल

दुई दर्जन गौरवका आयोजना : एउटामात्रै सफल

वसन्त अर्याल
चैत २०, २०७७ शुक्रबार १३:१,

ठूला आयोजनालाई तीव्रगति दिने भन्दै आर्थिक वर्ष २०६८/०६९ मा गौरवका १७ वटा आयोजना घोषणा गरे पनि अहिले एउटा आयोजना मात्रै सम्पन्न भएको छ।

सम्भाव्यता अध्ययन सुरु भएको ४८ वर्षपछि महत्वाकांक्षी मेलम्ची आयोजना सफल भएको हो।

शुक्रबार यसको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक कार्यक्रम नै गरी काठमाडौंको भृकुटीमण्डपमा मेलम्चीको पानीको धारा खोली उद्घाटन गरेकी हुन्।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा मन्त्रिपरिषद् बैठकले गौरवका आयोजनालाई केन्द्रित गरी विकास निर्माणमा तीव्रता दिने निर्णय गरेको थियो।

त्यसपछि आर्थिक वर्ष ०७०/०७१ मा चारवटा, २०७५/०७६ मा एउटा, ०७६/०७७ मा एउटा र ०७७/०७८ मा एउटा गरी थपिँदै थपिँदै हाल २४ वटा गौरवका आयोजना पुगिसकेका छन्।

विकास र समृद्धिको लागि न्यूनतम भौतिक पूर्वाधार आवश्यकता परिपूर्ति हुने गरी रणनीतिक तथा रुपान्तरणकारी विकास आयोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेकोमध्ये हालसम्म मेलम्ची खानेपानी आयोजनामात्रै सम्पन्न हुनसकेको हो।

गौरवका आयोजनामध्ये ४५६ मेगावाटको माथिल्लो तामाकोशी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल चालू आर्थिक वर्षभित्र सक्न सरकार लागिपरेको छ।

राष्ट्रिय गौरवका आयोजनालाई स्रोत विनियोजनमा प्राथमिकता तथा सुनिश्चितता र कार्यान्वयनमा बढी जोड दिइँदै आए पनि काम सम्पन्न हुनसकेका छैनन्।

सरकारले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने उद्देश्यले २०७७ जेठ १५ गते प्रधानमन्त्री कार्यालयमा तत्काल समस्या समाधान कक्ष समेत सञ्चालनमा ल्याएको थियो। तर पनि गौरवका आयोजनामा सोचेअनुसार काम अझै हुनसकेको देखिँदैन।

gaurab aayojana 909

यस्तो छ सफल  एउटा गौरवको आयोजनाको कथा
गौरवका आयोजनामध्ये सफल भएको मेलम्ची पनि ४८ वर्षपछि पूरा भएको आयोजनामा दर्ज भएको छ।

काठमाडौं उपत्यकामा दीर्घकालीन रुपमा खानेपानी आपूर्ति गर्न विश्व बैंकको सहयोगमा वि.सं. २०२९ सालदेखि नै यसको सम्भाव्यता अध्ययन सुरु भएको थियो।

वि.सं. २०४१ मा बीनी एण्ड पार्टनर्सले अध्ययन पूरा गरी २२ वटा विकल्प प्रस्तुत गरेको थियो। २०४९ मा फेरि अर्को तुलनात्मक अध्ययन भयो।

परामर्शदाता कम्पनी एसएमईसीले गरेको उक्त अध्ययनमा अघिल्ला २२ विकल्पमध्ये मेलम्ची, याङ्ग्री र लार्केबाट दैनिक ५१ करोड लिटर खानेपानी आपूर्ति हुनसक्ने विकल्प प्रस्तुत गरियो।

त्यसपछि २०५५/०५६ मा एडीबीको इन्जिनियरिङ ऋण सहायता र नर्वे सरकारको सहयोगमा आयोजनाको विस्तृत सम्भाव्यता र डिजाइन कार्य सुरु भएको थियो।

तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी काठमाडौंमा ल्याउने भाषण गरेपछि मेलम्ची आयोजनाको विषयमा चर्चा बढेको थियो।

मेलम्ची आयोजनामा एडीबीले वि.सं. २०५७ सालमा ऋण लगानी गर्ने जनाएकोमा २०५८ सालमा सम्झौता भएको थियो। एडीबीका अध्यक्ष कादावा चिन्वो नेपाल आएको अवसरमा सोही वर्ष ऋण सम्झौता भएको थियो।

‘नेपाल सरकारको तर्फबाट मेलम्ची आयोजनाको ऋण लगानीको विषयमा मैले सम्झौता गरेको थिएँ’, तत्कालीन अर्थसचिव विमल कोइरालाले नेपालखबरसँग भने, ‘एडीबीको तर्फबाट म्यानेजिङ डाइरेक्टर रजत नागले आयोजना सम्झौता गरेका थिए।’

उनले मेलम्ची आयोजनालाई अगाडि बढाउनुपर्छ भन्ने विषयमा पहिलेदेखि नै छलफल हुँदै आए पनि दाताहरुसँग कुरा नमिल्दा आयोजना बढ्न ढिलाइ भएको स्मरण गरे।

‘धेरै दुःख गरेर डोनर मिलाएका हौँ। यसमा धेरै डोनर थिए’, कोइरालाले भने, ‘सुरुमा विश्व बैंक पनि थियो तर उसले हात झिक्यो। त्यसपछि एडीबीसँग सम्झौता भएको हो।’

विश्व बैंकसँग मेलम्ची आयोजनाको निर्माणमा कुरा मिले पनि काठमाडौंको पाइपलाइनको विस्तारको कुरा नमिल्दा सम्झौता भएन।

त्यसपछि भने तत्कालीन सरकारले एडीबीसँग आयोजनाको कामसँगै काठमाडौंको पाइप पनि विस्तार गर्ने सहमति गरेको थियो।

मेलम्ची आयोजना निर्माणमा नर्वेजिएन कम्पनीले पनि सहयोग गर्ने प्रस्ताव नगरेको होइन। उसले जलविद्युत् उत्पादन पनि गर्ने प्रस्ताव गरेको थियो तर त्यसमा नेपाल सरकारले सहमति जनाएन।

यतिकैमा जापान सरकारसँग मेलम्चीको पानी काठमाडौं झर्ने ठाउँ सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गर्न सहमति भयो।

तत्कालीन अर्थसचिव कोइरालाले ऋण सम्झौता गरेको ६ वर्षसम्म अर्थात् २०६४ मा मुख्य संरचना निर्माण कार्य सुरु नहुँदै ऋण सम्झौता अवधि समाप्त भएको थियो।

सोही वर्ष सरकारले एडीबीलाई पुनर्संरचना गरी कार्य सञ्चालन गर्न अनुमति दियो।

डिजाइन सम्पन्न भएसँगै २०६६ देखि करिब २६ किलोमिटर सुरुङ निर्माण गर्ने कार्य सुरु भएको थियो। सुरुङ निर्माण सकिएर परीक्षण गरेपछि आजको अवस्थामा मेलम्ची आयोजना आइपुगेको हो।

‘सम्झौता भएको करिब २ दशकपछि भए पनि मेलम्चीको पानी काठमाडौंवासीको धारामा झर्दा खुसी लागेको छ’, कोइरालाले भने।

यो पनि : राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी वितरणको उद्घाटन

३ वर्षभित्र थप ३४ करोड लिटर पानी काठमाडौंमा
मेलम्चीको २६ किलोमिटर सुरुङमार्गबाट हाल दैनिक १७ करोड लिटर पानी आउँदै छ। चैत १५ गते काठमाडौंका धारामा पानी आएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ३ वर्षभित्र थप ३४ करोड लिटर पानी काठमाडौं ल्याउने दाबी गरेका छन्।

‘अहिले मेलम्चीको पूरै पानी आउँदा पनि १७ करोड लिटर मात्रै आउँछ’, मेलम्ची खानेपानी वितरण उद्घाटन कार्यक्रममा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘आगामी ३ वर्षभित्र याङ्ग्री र लार्केको १७–१७ करोड लिटर गरी ३४ करोड लिटर पानी आउँछ।’

त्यस्तै दोस्रो चरणअन्तर्गतको याङ्ग्री तथा लार्के नदीबाट प्रतिदिन ३४ करोड लिटर थप पानी काठमाडौं ल्याउन करिब ९.५ किलोमिटर लामो याङ्ग्री सुरुङ तथा हेडवक्र्स र २ किलोमिटर लामो लार्के सुरुङ निर्माण गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .