ad ad

कारोबार


५५ रोपनी जग्गामा चाँगुनारायणमा बन्दै अपार्टमेन्टसहितको निलवाराही हाउजिङ

५५ रोपनी जग्गामा चाँगुनारायणमा बन्दै अपार्टमेन्टसहितको निलवाराही हाउजिङ

वसन्त अर्याल
चैत २५, २०७७ बुधबार १२:१३,

सीई कन्स्ट्रक्सनअन्तर्गतको सीई रियल स्टेटले भक्तपुरमा निलवाराही हाउजिङ र अपार्टमेन्ट निर्माण गर्ने भएको छ।

सीईले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित निलवाराहीमा ५५ रोपनी क्षेत्रफलमा हाउजिङसहितको अपार्टमेन्ट निर्माण गर्नलागेको हो।

हाउजिङभित्र एउटा घरको मूल्य १ करोड ७५ लाख रुपैयाँदेखि चार करोड ३७ लाख रुपैयाँसम्म हुनेछ। कम्पनीले मध्यमदेखि उच्चवर्गका ग्राहकलाई लक्षित गर्दै हाउजिङ निर्माणको काम अघि बढाएको हो।

सीईले ९९ घरमध्ये ६९ वटा घर बिक्री अर्थात् बुकिङ भइसकेको जनाएको छ।

एउटा घर ४ देखि ७ आनासम्मको जग्गामा निर्माण हुनेछन्। उक्त क्षेत्रमा करिब ७० वटा युनिट हुने अपार्टमेन्टको डिजाइन समेत भइरहेको छ।

nilbarahi housing1

विभिन्न पाँच प्रकारका हाउजिङमा टाइप ‘ए’मा २६ युनिट, टाइप ‘बी’मा ३२ युनिट, टाइप ‘सी’मा २१ युनिट, टाइप ‘डी’मा १३ युनिट, टाइप ‘ई’मा ७ युनिट गरी कुल ९९ वटा घर निर्माण हुनेछन्।

कम्पनीले हाउजिङ र अपार्टमेन्टबाहेक पनि व्यावसायिक र सर्भिस क्षेत्र भनेर छुट्याएको छ। यसअनुसार ग्रोसरीलगायतका आधारभूत आवश्यकता पूरा हुने गरी हाउजिङ क्षेत्रमै विकास गरिनेछ।

उक्त क्षेत्रमा हाल जग्गाको मूल्य प्रतिआना २५ लाख रुपैयाँ छ।

निलवाराही हाउजिङका हरेक घर २ तल्लाको हुनेछ। टाइप ‘ए’का घर १५ सय ४० वर्गफिटमा निर्माण हुँदै छन्। टाइप ‘बी’का घर १६ सय ४० वर्गफिटमा निर्माण हुने कम्पनीले जनाएको छ।

त्यस्तै टाइप ‘सी’का घर १८ सय ५५ वर्गफिटमा निर्माण हुनेछ भने टाइप ‘डी’का घर २६ सय वर्ग फिटका हुनेछन्। निलवाराही हाउजिङ क्षेत्रमा जानको लागि ८ मिटर फराकिलो सडक हुनेछ। हाउजिङ क्षेत्रका प्रत्येक घरमा पहुँच मार्गको रुपमा ६ मिटरको सडक हुनेछ।

nilbarahi housing5

हाउजिङभित्र ३ वटा खुल्ला तथा हरित क्षेत्र राखिएको छ। हाउजिङको गुरुयोजनाअनुसार यो क्षेत्रमा छिर्नेबित्तिकै करिब ५ हजार वर्गफिट खुल्ला क्षेत्र हुनेछ। दोस्रो खुल्ला क्षेत्र ४५ सय वर्गफिटको हुनेछ।

हाउजिङमा गाडी पार्किङ, विद्युत्, खानेपानी, सञ्चार, ढल व्यवस्थापन, कम्युनिटी हललगायतका सुविधा हुनेछन्।

कम्पनीले हाउजिङसहित अपार्टमेन्टको लागत करिब साढे ३ अर्ब हुने अनुमान गरेको छ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित निलवाराही हाउजिङ योजना निलवाराही मन्दिरनजिकै छ।

निलवाराही क्षेत्रमा हरियाली जंगलसमेत छ। यो क्षेत्र हाल पिकनिक स्पोटको रुपमा प्रयोग हुँदै आएको छ।

nilbarahi housing2

भक्तपुरको बोडेचोकबाट १.५ को दूरीमा हाउजिङ निर्माण हुँदै छ। उपत्यका विकास प्राधिकरणले उक्त क्षेत्रलाई समेट्दै १ लाख रोपनी क्षेत्रमा ईशान सहर निर्माण गर्ने योजना अघि सारेको छ।

नयाँ सहर निर्माण हुँदा निलवाराही क्षेत्रमा पुग्नको लागि मनोहरा कोरिडोरले सहयोग पुग्नेछ।

हाल निलवाराहीमा पुग्नको लागि भक्तपुरको सल्लाघारीबाट उत्तरतर्फ लाग्नुपर्छ। पेप्सीकोला–मूलपानी पीपलबोट हुँदै पनि निलवाराही जान सकिन्छ।

nilbarahi housing4

सीई कन्सट्रक्सनले योबाहेक कीर्ति कोलोनी, गोलढुंगा हाइट, दधिकोट हाइट, ठैब हाइट, लोकन्थली हाउजिङ, सीई कोलोनी, रिट्रिट अपार्टमेन्ट, ग्रान्डी टावर निर्माण गरिरहेको छ।

कम्पनीले हाउजिङ तथा अपार्टमेन्टबाहेक हाइड्रोपावर, हस्पिटल, ठूला होटल, व्यावसायिक भवन समेत निर्माण गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .