ad ad

कारोबार


आयोजनाका काम नसकिँदै धमाधम उद्घाटनको तयारीमा ओली

आयोजनाका काम नसकिँदै धमाधम उद्घाटनको तयारीमा ओली

वसन्त अर्याल
चैत ३०, २०७७ सोमबार १२:५३,

प्रधानमन्त्री केपी शर्मा ओलीले केही आयोजनाको पूरा काम सम्पन्न नहुँदै उद्घाटनका लागि दबाब दिँदै आएका छन्।

पछिल्लो समय नेपाली राजनीति अन्योलको भूमरीमा फस्दा प्रधानमन्त्री पद असुरक्षित हुँदै गएकाले पनि ओलीले उद्घाटन र शिलान्यासलाई प्राथमिकता दिएका हुन्।

साइट क्लियरेन्सलगायतका आयोजनाको पूर्वतयारीविनै धेरै आयोजना शिलान्यास गरेका छन् भने आधा काम मात्रै सकिएका आयोजनाको पनि उद्घाटनको हतारो बढेको छ।

यतिसम्म कि प्रधानमन्त्री ओली उद्घाटन गरे पनि तत्काल प्रयोगमा आउन नसक्ने आयोजनाको समेत उद्घाटन गर्न हतारिएका छन्।

वैशाख ११ मै धरहरा उद्घाटन गर्ने तयारी
२०७२ सालको भूकम्पले ढलेको धरहरा अहिले धमाधम निर्माण भइरहेको छ। आयोजनाले धरहराको काम सकिन अझै डेढ वर्ष लाग्ने बताएको छ। सरकार आफैँले धरहरा निर्माणको लागि २०७८ पुससम्मको समयावधि दिएको छ।

तर प्रधानमन्त्री ओली भने भूकम्प गएको ६ वर्षको अवसर पारेर आगामी वैशाख ११ मै धरहरा उद्घाटन गर्ने तयारीमा छन्।

धरहराका प्रोजेक्ट म्यानेजर इन्जिनियर श्याम श्रेष्ठले धरहरा उद्घाटन गरे पनि सर्वसाधारणको लागि खुल्ला नहुने बताए।

‘उद्घाटन गरे पनि त्यहाँ बाँकी निर्माणको काम भइरहेको हुन्छ’, उनले भने, ‘तत्काल सर्वसाधारणको लागि खुल्न सक्दैन।’

उनले वैशाख ११ गतेसम्म धरहराको टावर निर्माणको काम सकिए पनि अरु काम बाँकी नै रहेको जानकारी दिए।

श्रेष्ठका अनुसार धरहरामा गजुरको राख्ने काम भने केही दिनभित्र हुनेछ।

‘धरहराको पूरा काम गर्नको लागि सरकारले डिसेम्बर २०२१ (२०७८ पुस)सम्म काम सक्न म्याद थप गरेको छ’, उनले नेपालखबरसँग भने, ‘हाम्रो अनुमानमा धरहराको सबै काम सकिन अझै डेढ वर्ष लाग्छ।’

पहिला ७ रोपनी क्षेत्रफलमा भएको धरहरा अहिले ४२ रोपनीमा बन्दै छ। अन्डरग्राउन्ड पार्किङ, म्युजियम लगायतको काम अझै बाँकी छ।

भूकम्पपछि भत्किएको पुरानो ऐतिहासिक धरहरालाई जस्तो छ त्यस्तै अवस्थामा राखिनेछ। त्यसलाई म्युजियमको रुपमा सिसाभित्र राखिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। उक्त काम अझै हुनसकेको छैन।

पुनर्निर्माण प्रधिकरणले आयोजना सम्पन्न नहुँदै गर्नलागेको उद्घाटनबारे टावर र बाँकी काम छुट्टै भएको प्रतिक्रिया दिएको छ।

ओलीले तमासा देखाएः गगन थापा
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने प्रधानमन्त्रीले काम नसकिँदै धमाधम उद्घाटन गरेको भन्दै तमासाको संज्ञा दिएको छ।

गत बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस नेता तथा सांसद गगन थापाले प्रधानमन्त्रीको शिलान्यास तथा उद्घाटनको हतारोलाई ‘तमासा’ भनेका हुन्।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पनि उद्घाटन हुँदै
यता प्रधानमन्त्री ओलीले वैशाखमै ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गर्ने तयारी गरिरहेका छन्।

हाल सुरुङमार्गमा बाँध, सुरुङ, प्रसारणलाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका काम बाँकी छ।

अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी निर्देशक विज्ञान श्रेष्ठले वैशाख १०÷१२ गते सुरुङमा पानी छाडिने बताए।

मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइपजस्ता संवेदनशील संरचनाहरु तथा गेट, म्यानहोल र भल्भहरुको प्राविधिक परीक्षण गर्ने उनको भनाइ छ।

जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको उनले बताए।

श्रेष्ठका अनुसार वैशाख तेस्रो हप्ताको अन्तिमबाट विद्युत् उत्पादनको लागि टर्बाइन घुमाइनेछ। आयोजनामा ७६/७६ मेगावाटका ६ वटा युनिट गरी ४५६ मेगावट विद्युत उत्पादन हुनेछन्। पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत् उत्पादन हुनेछ।

‘वैशाखमै परीक्षण उत्पादन सुरु भए पनि आयोजना पूर्णरुपमा सञ्चालन असारसम्म बल्ल हुन्छ’, श्रेष्ठले भने।

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको कम्पनीले जनाएको छ।

भैरहवा र पाेखरा विमानस्थल पनि उद्घाटन गर्ने इच्छा
त्यस्तै, ओलीले निर्माणको अन्तिम चरणमा रहेको भैरहवा विमानस्थल उद्घाटन गर्ने चर्चा पनि चुलिनथालेको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणले अहिले निर्माणको अन्तिम चरणमा रहे पनि प्रकिया पु¥याएर सञ्चालनको लागि अझै ६ महिना लाग्ने बताउँदै आएको छ।

प्राधिकरणका अधिकारीहरुका अनुसार प्रधानमन्त्रीको पद जाने निश्चित भए गौतमबुद्ध विमानस्थलको पनि उद्घाटन हुने सम्भावना छ। विमानस्थलको भौतिक निर्माणको काम सम्पन्न भई हाल उपकरण जडानलगायतको काम भइरहेको छ।

‘पूर्वाधारको काम सम्पन्न भए पनि आईकाओसँग उडान अनुमति, विदेशी वायुसेवा कम्पनीलाई उडान अनुमतिका काम बाँकी नै छन्’, प्राधिकरणका एक अधिकारीले नेपालखबरसँग भने, ‘भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको लागि भारतले रुटमा सहमति नदिँदा समस्या उही छ।’

भैरहवा विमानस्थलबाहेक पोखरा विमानस्थल उद्घाटनको लागि प्रधानमन्त्री कार्यालयबाट दबाब आइरहेको चर्चा भए पनि पुससम्म निर्माणको काम नसकिने आयोजनाले स्पष्ट पारेको छ। असारसम्म काम सकिने बताएको आयोजनाले कोभिडलगायतको कारणले २०२१ को डिसेम्बरमा बल्ल सकिने जनाएको छ।

‘मुख्य भौतिक संरचनाको काम सकिएर फिनिसिङको काम बाँकी रहेको छ’, पोखरा विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले भने, ‘अब मुख्य काम उपकरण जडान गर्नुपर्ने छ। उपकरणहरु केही नेपाल आइसके पनि केही अझै चीनमा बनिरहेका छन्।’

उनले उपकरण जडानलगायतको काम २०२१ को अन्त्यसम्म सकिने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .