ad ad

कारोबार


मोफसलमा आक्रामक रुपमा बन्दै छन् हाउजिङ र अपार्टमेन्ट

मोफसलमा आक्रामक रुपमा बन्दै छन् हाउजिङ र अपार्टमेन्ट

वसन्त अर्याल
चैत ३१, २०७७ मंगलबार ११:१२,

काठमाडौं उपत्यकामा केन्द्रित हाउजिङ तथा अपार्टमेन्ट उपत्यकाबाहिरका मुख्य सहरमा पनि निर्माण हुने क्रम बढ्नथालेको छ।

संघीय राजधानीबाहेक पर्यटकीय सहर पोखरा, भैरहवा तथा विराटनगरजस्ता सहरमा हाउजिङ तथा अमार्टमेन्ट निर्माण बढेको हो।

उपत्यकाबाहिरका अव्यवस्थित बसोबासलाई एकीकृत र व्यवस्थित गर्ने उद्देश्यले हाउजिङ परियोजना मोफसलमा तीव्र रुपमा विस्तार भएको यसका डेभलपरहरु बताउँछन्।

पछिल्लो समय रुपन्देहीमा सबैभन्दा धेरै हाउजिङ परियोजना निर्माणको चरणमा छन्।

यी सहरमा सुविधासम्पन्न घरको माग बढेसँगै हाउजिङ निर्माण बढिरहेको व्यवसायीको भनाइ छ।

सीई कोलोनी (विराटनगर)
सीई कन्स्ट्रक्सनले विराटनगर ७ सनिहाट मार्गमा पहिलो व्यवस्थित सीई कोलोनी निर्माण गर्दै छ। सीई कोलोनीमा साढे २ तल्लाको घर हुनेछन्। कम्पनीका अनुसार २ हजार ४५ वर्गफिट र २३ सय ९ वर्गफिटमा २ प्रकारका घर निर्माण हुनेछन्।

सीईले विराटनगरका व्यवसायी सुरेश राठीसँगको सहकार्यमा घर निर्माण गर्नलागेको हो।

कोलोनीमा २५ वटा घर निर्माण हुने कम्पनीले जनाएको छ। एउटा घरको मूल्य १ करोड ९९ लाख ५० हजारदेखि २ करोड ७७ लाख ७० हजार रुपैयाँसम्म पर्नेछ।

कम्पनीले यसलाई विराटनगरकै पहिलो व्यवस्थित सामुदायिक हाउजिङ भएको उल्लेख गरेको छ। खुल्ला क्षेत्र, पार्किङसहित आधुनिक सेवा सुविधासहितका घर बन्ने कम्पनीको भनाइ छ।

The Hub Lumbini 3

द हब लुम्बिनी (भैरहवा)
यस्तै, सीई ग्रुपकै साझेदारीमा रुपन्देहीको भैरहवामा ‘द हब लुम्बिनी’ निर्माण हुँदै छ।

व्यावसायिक तथा आवासीय सुविधायुक्त परियोजना निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलभन्दा १३ किलोमिटर र लुम्बिनी मायादेवी मन्दिरबाट ५ किलोमिटर दूरीमा छ।

पर्यटकीय पूर्वाधारको रुपमा विकास भइरहेको परियोजनामा तारे होटल, रेष्टुरेन्ट, कन्भेन्सन सेन्टर, आवासीय तथा व्यापारिक भवन, वाटरपार्क हुनेछन्।

‘द हब लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्यमा पाइलट प्रोजेक्टको रुपमा सुरु गरिएको हो’, सीई कन्सट्रक्सन प्रालिकी अप्रेसन मेनेजर रेश्मा श्रेष्ठले भनिन्, ‘जुन मिक्स्ड डेभलपमेन्ट मोडलअनुसार करिब ७ बिघा जमिनमा बन्दै छ।’

उनका अनुसार यसभित्र करिब २५ वटा घरसहितको हाउजिङ निर्माण हुनेछ। यी घरहरु सबै व्यावसायिक तथा आवासीय प्रयोजनका हुनेछन्। जहाँ व्यापारसँगै बसोबास गर्न सकिनेछ। हाउजिङ निर्माणको काम छिट्टै सुरु गर्ने उनको भनाइ छ।

‘द हब लुम्बिनी’को लागि जग्गा प्राप्ति भइसकेको र पूर्वाधार निर्माणको काम सुरु भएको छ।

जग खन्ने काम सुरु हुँदा अहिले नै ४० युनिटको माया अपार्टमेन्ट बिक्री समेत भइसकेको सीई कन्स्ट्रक्सनले जनाएको छ।

bodhi homes1

बोधी होम्स (भैरहवा)
त्यस्तै, भैरहवामै बोधी होम्सले हाउजिङ परियोजना अघि बढाएको छ। कम्पनीले दुई चरणमा हाउजिङ बनाउने गरी परियोजना अघि बढाइएको बताएको छ। पहिलो चरणमा १०५ र दोस्रो चरणमा १९५ वटा गरी ३ सय घर निर्माण गर्दै छ।

भैरहवा–परासी सडकखण्ड छेउमा पर्ने परियोजना लुम्बिनी प्रदेशकै ठूलो आवासीय क्षेत्र रहेको कम्पनीले उल्लेख गरेको छ। पहिलो चरणको काम २ वर्षमा र दोस्रो चरणको काम थप दुई वर्षमा गर्ने कम्पनीको योजना छ।

‘हामीले बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा सामुदायिक आवासको संस्कार विकास गर्न यो हाउजिङ परियोजना सुरु गरेका हौँ’, बोधी होम्सका अध्यक्ष जलेश्वर पाण्डेले भने, ‘काठमाडौंलगायतका सहरमा विकसित हाउजिङ आवास अब लुम्बिनी क्षेत्रमा पनि विकास भएको छ। यो ठाउँका लागि राम्रो सन्देश हो।’

यस हाउजिङ परियोजनामा पर्यटन व्यवसायी एवं बैंकर पाण्डेसहित रुपन्देहीका प्रतिनिधिसभा सदस्य प्रमोद यादव, चार्टर्ड एकाउण्टेण्ट दीपक पाण्डे, दिनबन्धु पोखरेल, एनआरएनए छविलाल कुँवर र रवीन्द्र कुँवर लगायतका व्यवसायीहरुले लगानी गरेका छन्।

tilottama homes lumbini

तिलोत्तमा होम्स (रुपन्देही)
रुपन्देहीमै अर्को ‘तिलोत्तमा होम्स’ हाउजिङ परियोजना करिब दुई अर्ब रुपैयाँ लगानीमा निर्माण सुरु भएको छ। लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले सुविधासम्पन्न १२३ घरसहितको हाउजिङ निर्माण गर्नलागेको हो।

बुटवल–भैरहवा सडक खण्डको भलबारी चोकदेखि डेढ किलोमिटरभित्र ६ बिघा क्षेत्रफलमा उक्त परियोजना निर्माण हुँदै छ। कम्पनीले खेल मैदान, बगैँचा, स्विमिङ पुल, बास्केटबल कोर्ट, कभर्ड हल, हेल्थ क्लब, सैलुन, रेष्टुरेन्टलगायत सुविधाहरु हुने जनाएको छ।

परियोजनाअन्तर्गत दुई प्रकारका घर हुनेछन्। यसअनुसार ‘क’ समूहमा २९ वर्गफिटका साढे दुईतले घरहरु निर्माण हुनेछन्। यस्ता घरको मूल्य साढे दुई करोड छ। त्यस्तै, ‘ख’ समूहका ८५ घर २२ सय वर्गफिटका हुनेछन्। यस्ता घरको मूल्य १ करोड ७५ लाख रहेको कम्पनीले उल्लेख गरेको छ।

annapurna apartment pokhara

अन्नपूर्ण अपार्टमेन्ट (पोखरा)
यता पर्यटकीय सहर पोखरामा घरजग्गा व्यवसायी कालु गुरुङको कम्पनी रोड शो रियलस्टेटले ३ वटा अपार्टमेन्ट निर्माण गर्दै छ।

अन्नपूर्ण अपार्टमेन्टको नामबाट २ वटा र दीप अपार्टमेन्टको नामबाट एउटा अपार्टमेन्ट निर्माण गर्ने योजना कम्पनीको छ।

अन्नपूर्ण अपार्टमेन्ट मास्बारको बुकिङ खुलिसकेको छ। कम्पनीले यसअघि नै पोखरामा दीप हाउजिङ निर्माण गरिसकेको छ। १०८ घरसहित करिब ४० युनिटको अपार्टमेन्ट निर्माण गरेको कम्पनीले जनाएको छ।

lovely hills pokhara

लभ्ली हिल्स रेसिडेन्सी (पोखरा)
पोखरामै ह्वाइट हर्स डेभलपर्स प्रालिले ‘लभ्ली हिल्स रेसिडेन्सी’ निर्माण गरिरहेको छ।

कम्पनीले १३ घरसहित २ वटा टावर भएको अपार्टमेन्ट निर्माण गरिरहेको हो।

अबको १ वर्षमा सकिने परियोजनामा ४४ युनिटको अपार्टमेन्ट बन्नेछ।

करिब ५० हजार वर्गफिटमा उक्त परियोजना निर्माण हुनलागेको कम्पनीले जनाएको छ।

sugam colony birtamod

सुगम र हरिहर कोलोनी (झापा)
यता पूर्वेली सहर झापाको बिर्तामोड ४ मा शिवम् हाउजिङले २९ घरसहितको सुगम कोलोनी निर्माण गरिरहेको छ। यसको हालसम्म ६० प्रतिशत काम सकिइसकेको छ।

त्यसैगरी शिवम् हाउजिङले नै बिर्तामोड ६ मा हरिहर कोलोनी निर्माण गर्दै छ। करिब ८५ घरसहितको कोलोनी निर्माण गर्नलागेको हो। हालसम्म २० घरको बुकिङ भइसकेको जनाएको छ।

कम्पनीले कोलोनीमा ३ प्रकारका घर निर्माण गर्नेछ। पर्याप्त खुल्ला क्षेत्रसहित स्विमिङ पुल, फिटनेस सेन्टर, सामुदायिक कार्यालय समेत यहाँ निर्माण हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .