ad ad

कारोबार


२२ तले धरहराको २०औँ तलामा सिसाको भ्यु डेक, शिरमा सुनको गजुर (भिडियो)

२२ तले धरहराको २०औँ तलामा सिसाको भ्यु डेक, शिरमा सुनको गजुर (भिडियो)

वसन्त अर्याल
बैशाख ६, २०७८ सोमबार १२:१३,

भूकम्पको छैठौँ वर्षमा यही वैशाख ११ गते नवनिर्मित धरहराकाे उद्घाटनको तयारी भएको छ।

त्यसका लागि निर्माणकार्य तीव्र बनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पको ६ वर्ष पुगेको अवसरमा पुनर्निर्मित धरहरा उद्घाटनको तयारी गरेका हुन्।

नौ तले धरहरा ०७२ वैशाख १२ गते शनिबार ढलेकोमा अहिले २२ तले बनेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको स्तम्भको काम अन्तिम चरणमा रहेको जनाएको छ। प्राधिकरणका अनुसार पुनर्निर्माणको काम सकिएको छ भने थपिएका संरचना धमाधम निर्माण भइरहेको छ।

‘धरहराको टावर सम्पन्नको लागि धमाधम चौबीसै घण्टा काम भइरहेको छ। टावरमा रङरोगनको काम भइरहेको छ’, प्राधिकरणका विज्ञ राजुमान मानन्धरले नेपालखबरसँग भने, ‘मुख्य स्तम्भको काम करिब सम्पन्न भए पनि पार्किङ, म्युजियमलगायतको काम जारी छ।’

dharahara 22 tale 6

हाल स्तम्भबाहिरको पर्दा हटाउने काम भइरहेको छ। स्तम्भभित्र विद्युतको काम बाँकी रहेको छ। धरहराको २ वटा लिफ्टमध्ये एउटा निर्माणसम्पन्न भई मानिस आउजाउ गर्न सकिने भएको छ भने अर्को निर्माण भइरहेको छ।

‘२०७२ सालको भूकम्पमा ढलेको धरहरा खडा भयो है भन्ने सन्देश दिन खोजेका छौँ’, मानन्धरले भने, ‘धरहराबाहेकको संरचना राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र अन्य निकायबीच समन्वय भई निर्माण भइरहेको छ।’

उनले वैशाख ११ गते उद्घाटन भए पनि छिट्फुट काम बाँकी रहन सक्ने बताए।

dharahara 22 tale 2

भीमसेन थापाको पालामा बनेको धरहरा २०७२ वैशाख १२ गतेको महाभूकम्पले भत्किएको थियो।

भत्किएको धरहरालाई भने म्युजियमको रुपमा विकास गरी त्यसको नजिकै नयाँ धरहरा निर्माण गरिएको हो।

पहिला गोश्वारा हुलाक कार्यालय रहेको ठाउँमा पार्किङ र टक्सार रहेको ठाउँमा म्युजियम निर्माण हुँदै छ। धरहराबाहेकका काम पुनर्निर्माण नभई नवनिर्माण भएको प्राधिकरणले जनाएको छ।

भूकम्पले ढालेको धरहरामा चुना, सुर्कीलगायतको निर्माण सामग्री प्रयोग भएको थियो। अहिले निर्माण भएको धरहरा भूकम्प प्रतिरोधात्मक घर हो।

अत्याधुनिक प्रविधिबाट निर्माण भएकाले सुरक्षित रहेको मानन्धरको दाबी छ।

dharahara 22 tale 3

२२ तलाको धरहरामा २०औँ तलाबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिनेछ। कुल उचाइ २ सय ४५ फिट उचाइको धरहराको २०औँ तल्लामा सिसाले घेरिएको भ्यु डेक बनाइएको छ।

धरहराको शिरमा सुनको गजुर राखिएको छ।

भूकम्पले भत्काएको धरहरा अवशेष मात्रै बाँकी छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले त्यसलाई म्युजियमको रुपमा राख्ने बताएको छ। त्यसको काम अझै सुरु भइसकेको छैन।

पुसपछि मात्रै सर्वसाधारण चढ्न पाउने
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उद्घाटन भए पनि तत्काल सर्वसाधारणको लागि धरहरा खुल्ला गर्न नसकिने बताएको छ।

धरहरामा स्तम्भसँगै कार पार्किङ स्थल, उद्यान, म्युजियमलगायतका संरचनाहरु बन्नेछन्। अहिले धरहरा स्तम्भको मात्रै निर्माण सम्पन्न भएको हो। बाँकी काम पनि धमाधम भइरहेको मानन्धरले बताए।

‘निर्माण व्यवसायीलाई सन् २०२१ डिसेम्बर २५ सम्म सबै काम सम्पन्न गर्न समय दिइएको छ’, मानन्धरले भने, ‘त्यसपछि मात्रै सर्वसाधारणका लागि खुल्ला हुनेछ।’

dharahara 22 tale 7

धरहराको स्तम्भबाहेक पुनर्निर्माण नभई नवनिर्माण भएको प्राधिकरणको भनाइ छ।

धरहरा क्षेत्रमा ४ सयवटा सानो गाडी र ७ सयवटा मोटरसाइकल पार्किङ गर्न क्षेत्र निर्माण हुँदै छ। धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गतेभित्र धरहराको सम्पूर्ण निर्माणकार्य सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो। तर साइट क्लियरेन्स, कोभिड लगायतको समस्याका कारण पुस १० गतेसम्मको म्याद थप गरिएको छ।

dharahara 22 tale 4

धरहरा निर्माणको लागि भ्याटबाहेक ३ अर्ब ८ करोड रुपैयाँमा सम्झौता भएको थियो। हालसम्म १ अर्ब ७४ करोड खर्च भइसकेको छ।  

भिडिओ : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .