४५६ मेगावाटको अपर तामाकोशी जलविद्युत् आयोजनाकाे सुरूङमा पानी हाल्न सुरु गरिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङ र भाैतिक पूर्वाधार तथा यातायातमन्त्रीले स्विच थिचेर बिहीबार पानी छाेडेका हुन्।
केही दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सो आयोजनाबाट उत्पादन हुने विद्युतको औपचारिक रुपमा उद्घाटन गर्ने मन्त्री गुरूङले जानकारी दिएका छन्।
आयोजनाका अनुसार बाँधबाट सुरुङमार्गमा पानी पुर्याउने काम सुरु भएको हो।
दोलखा जिल्लाको बिगु गाउँपालिकामा अवस्थित आर्थिक वर्ष २०६७/०६८ बाट सुरु भएको आयोजना ५ वर्ष अर्थात् २०७२/०७३ सम्म सकिने लक्ष्य राखिएको थियो।
आयोजनाले भूकम्प, कोरोनालगायत कारण देखाउँदै हालसम्म निर्माण सम्पन्न हुनसकेको छैन।
तामाकोशीमा हेडवर्क्सका मुख्य संरचना डाइभर्सन बाँध, इन्टेक र डिस्यान्डरको सिभिल निर्माणकार्य करिब सकिएको छ।
आयोजनका सबै सुरुङहरु करिब १८.५ किमि खन्ने कार्य सम्पन्न भएको छ।
अपर तामाकोशी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बाँधबाट पानी सुरुङमार्गमा पानि हाल्न थालिएको जानकारी दिए।
‘विद्युत उत्पादनको लागि चरणबद्ध रुपमा काम हुँदै छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘बाँधबाट सुरुङमार्गमा पानी हाल्ने काम भइरहेको छ।’
४५६ मेगावट विद्युत् उत्पादनको लागि ६ वटा विद्युत् गृह निर्माण भएका छन्। यसमध्ये एउटा विद्युत् गृहबाट वैशाखमै विद्युत उत्पादन हुने आयोजनाको दाबी रहेको छ।
कम्पनीले बाँकी विद्युत् गृहबाट जेठ, असार, साउन महिनामा क्रमशः उत्पादन बढ्ने जनाएको छ।
‘अपर तामाकोशीको सम्पूर्ण काम सकिएको छ’, श्रेष्ठले भने, ‘सबै संरचनाको परीक्षणको तयारीमा रहेका छौँ।’
उनले सुरुङमार्गमा पानी हाल्न सुरु गरिसकेको भन्दै अबको दुई हप्तामा टेस्टिङको काम सकिने जानकारी दिएका छन्।
टेस्टिङको सफल परीक्षण भएसँगै विद्युत उत्पादन सुरु हुनेछ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले वैशाखको अन्तिमभित्रै पहिलो युनिटबाट उत्पादन सुरु हुने बताउँछन्।
शाक्यले जेठ, असार मसान्तसम्म चारवटा युनिट र साउन मसान्तसम्ममा बाँकी २ वटा युनिट गरेर ६ वटा युनिटबाटै विद्युत् उत्पादन हुने बताएका छन्।
‘रन अफ द रिभर’को आयोजनाले वार्षिक २ हजार २८१ गिगावट घण्टा रहेको छ। विद्युत् गृहबाट उत्पादन भएको प्रसारणलाइन तथा सबस्टेसनको काम समेत सम्पन्न भएको छ।
ढिलाइ हुँदा १४ अर्ब लागत बढ्यो
माथिल्लो तामाकोशी निर्माण, सञ्चालन र व्यवस्थापन गर्ने उद्देश्यले २०६३ सालमा स्थापना भएको थियो।
वि.सं. २०६५ सालमा परामर्शदाता कम्पनीले आयोजनाको सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन तथा सबस्टेसन लगत अनुमान ५३३ मिलियन अमेरिकी डलर लागत अनुमान गरेको थियो।
त्यसलाई कम्पनी सञ्चालक समितिले पुनरवलोकन गरी ४४१ मिलियन अमेरिकी डलर हुने गरी पास गरेको थियो।
तत्कालीन विदेशी विनिमय दरअनुसार १ रुपैयाँको ८० ले हिसाब गर्दा ३५ अर्ब २९ करोड अनुमानित लागत कायम गरिएको थियो।
हाल विभिन्न कारण देखाउँदै निर्माण अवधि थप हुँदा आयोजनाको लागत ४९ अर्व २९ करोड रुपैयाँ पुगेको छ।
अपर तामाकोशीमा संस्थापक सेयरतर्फ सबैभन्दा बढी नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत रहेको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको २ प्रतिशत रहेको छ।
सर्वसाधारणतर्फ कर्मचारी सञ्चय कोषका कर्मचारीहरुको १७.२८ प्रतिशत, कम्पनी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरुको २.८८, दोलखा जिल्लाका स्थानीय बासिन्दाहरुको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर रहेको छ।
आयोजनाको काममा ढिलाइप्रति प्रधानमन्त्री ओली नै असन्तुष्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको हाइड्रोपावर कम्पनीले काममा अस्वाभाविक रुपमा ढिलासुस्ती गरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
प्रधानमन्त्री ओलीले केही दिनअघि काठमाडौंमा भएको एक कार्यक्रमामा आयोजनाको काम समयमा नसकिँदा प्रत्यक्ष/अप्रत्यक्ष दैनिक १३ करोड रुपैयाँ घाटा भइरहेको दाबी गरेका थिए।
‘एउटा सानो मेसिन जडान गर्नु छ। १ वर्षअघि सुनेको त्यही हो। १० महिनाअघि पनि त्यही हो ... अहिले सुन्दा पनि एउटा सानो पाइप कि मेसिन राख्नु छ भनेको छ’, ओलीको आक्रोश थियो।
यता कम्पनीले २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको जनाएको छ।
प्रतिक्रिया