सरकारले देशका ५० भन्दा जिल्लामा निषेधाज्ञा जारी गरे पनि हिमाल आरोहण भने बन्द गरेको छैन।
गत वर्ष कोभिडका कारण ठप्प भएको हिमाल आरोहणलाई अहिले पनि निरन्तरता दिएको छ।
गत वर्ष हिमाल आरोहण बन्द हुँदा यो वर्ष सगरमाथा आरोहणमा सबैभन्दा धेरै आरोहीले अनुमति पाएका छन्।
पर्यटन विभागले १६ वटा हिमालमा ७ सय ४२ जनालाई आरोहण अनुमति दिँदा सगरमाथामा मात्रै ४ सय ८ जनाले अनुमति पाएका छन्।
विभागले वसन्त ऋतुको लागि अप्रिल ३० सम्म सगरमाथा आरोहणका लागि ४०८ जनालाई अनुमति दिएको छ। जसमा ४३ टिमका ३१५ पुरुष र ९२ जना महिला छन्।
दोस्रोमा सबैभन्दा बढी ल्होत्से हिमाल आरोहीले अनुमति पाएका छन्। ल्होत्से हिमालमा १४ टिमका ९६ पुरुष र २९ महिला सगरमाथा आरोहण गर्दै छन्।
त्यसैगरी धौलागिरिमा ३३, मकालुमा २०, नुप्त्सेमा ३८, अन्नपूर्णमा ४४, अमादब्लाममा २७ र बरुत्सेमा १५ जनाले आरोहण अनुमति पाएका छन्।
हिमाल आरोहणीलाई सहयोग गर्ने एजेन्सीका अनुसार यो वर्ष सगरमाथा आधारशिविरमा ३ हजार बढी मानिस रहेको बताएका छन्। ४ सय ८ जना आरोहीका गाइड, पोर्टर, शेर्पा गरी ३ हजार बढी रहेको उनीहरुको भनाइ छ।
हिमालमा कोभिडको जोखिम
पर्यटन विभागले हिमाल आरोहणका लागि अनुमति दिँदा पीसीआर नेगेटिभ रिपोर्ट ल्याउनेलाई मात्र दिएको बताएको छ।
तर सगरमाथा, धौलागिरिलगायतका हिमाल पुगेका आरोहीमा कोभिड देखिएको एजेन्सीहरुले जनाएका छन्।
सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले विश्वभर कोरोना फैलिएको समयमा हिमालमा कोरोना देखिनु नौलो कुरा नभएको बताए।
उनले कुनै आरोही वा सहयोगीलाई लक्षण देखिए काठमाडौं ‘रिफ’र गर्ने गरेको बताए ।
पर्यटन विभागले हिमाल आरोहणमा गएका कुनै आरोही बिरामी भए उद्धार गरिने बताएको छ।
विभागकी निर्देशक मिरा आचार्यले सगरमाथामा दुई जना डाक्टरले आरोहीलाई कुनै समस्या भए रेस्क्युको लागि रिफर गर्ने जानकारी दिइन्।
उनले बेसक्याम्पमा कोभिड भए÷नभएको चेक गर्ने व्यवस्था नभएको भन्दै कुनै व्यक्तिमा समस्या देखिए एजेन्सीले काठमाडौं फिर्ता लैजाने गरेको बताइन्।
‘बेस क्याम्पमा कुनै कोभिडसँग मिल्दोजुल्दो केस देखा परे डाक्टरले काठमाडौं रिफर गर्नुहुन्छ’, आचार्यले भनिन्, ‘कसैलाई कोभिड देखियो भने ऊसँग बसेकालाई कम्तीमा १ हप्ता छुट्टै बस्न अनिवार्य गरेका छौँ।’
विभागले कुनै पनि बेसक्याम्पमा आरोहणका लागि जम्मा भएका आरोही तथा सहयोगीलाई जमघट गर्न नदिएको दाबी गरेको छ।
आचार्यले नेपालखबरसँग भनिन्, ‘एउटा क्याम्पबाट अर्को क्याम्पमा जान रोक लगाएका छौँ। क्याम्पभित्र बस्दा पनि स्यानिटाइजर र मास्क अनिवार्य गरेका छौँ।’
उनका अनुसार सगरमाथा बेसक्याम्पमा रहेका डाक्टरले कोभिडका लक्षणसम्बन्धी जानकारी गराउँछन्। कोभिडबाट कसरी बच्ने भन्ने विषयमा विभिन्न क्याम्पमा गएर भन्ने र आवश्यक सुझाव दिने काम गरिरहेका छन्।
विभागका अर्का निर्देशक मोहन बहादुर जिसीले हिमालमा कोभिडको जोखिम भए पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराइएको बताए।
‘अहिले विशेष परिस्थिति भएर हामी फिल्डमै छौँ’, जिसीले भने, ‘घरमै बस्दा त कोभिडको डर हुन्छ भने हिमालमा पनि हुन्छ। आरोहीलाई कुनै समस्या भए एजेन्सीले फिर्ता ल्याउँछन्।’
यो पटक सगरमाथा आरोहणमा धेरै सहभागी भएकाले व्यवस्थित गर्न विभागकी निर्देशक मिरा आचार्य बेसक्याम्पमै पुगेकी छिन् भने जिसी पनि बेसक्याम्प जाने तरखरमा छन्।
सगरमाथामा डोरी टांगिँदै
यो वर्ष विश्वशिखर सगरमाथाको चुचुरोमा पुग्न बहराइनका राजकुमारदेखि अमेरिकी फुटबलर, गायकसम्म सगरमाथा आधारशिविर पुगेका छन्।
एजेन्सीहरुले सगरमाथामा हाल डोरी टाग्ने काम सुरु भएको जनाएका छन्। अबको एक हप्तामा हिमाल आरोहण सुरु हुने बताइएको छ।
सगरमाथा आरोहण अनुकूल मौसममा मात्रै गर्न सकिने हुँदा आधारशिविर पुगेका आरोही सफा मौसमको पर्खाइमा छन्। पर्यटन विभागले मौसम खुल्दा एकैपटक लाइन लाग्ने हुँदा एक पटकमा १५० देखि १७० जनासम्मले आरोहण गर्नसक्ने व्यवस्था गरेको छ।
यसपालि अनुमतिपत्रको आधारमा वा एजेन्सीको एक आपसको सल्लाहबमोजिम एक पटकमा १७० जनाभन्दा बढी आरोही चढ्न नपाउने व्यवस्था गरिएको छ।
विभागले सगरमाथामा कोभिडको जोखिमसँगै भीड व्यवस्थापन समेत चुनौती रहेको बताएको छ।
प्रतिक्रिया