ad ad

कारोबार


महामारीमा हेलि–चार्टर बढ्यो, कोरोना बिरामी उद्धारमा ९० प्रतिशत उडान

महामारीमा हेलि–चार्टर बढ्यो, कोरोना बिरामी उद्धारमा ९० प्रतिशत उडान

वसन्त अर्याल
जेठ ४, २०७८ मंगलबार १३:५,

कोरोना भाइरस संक्रमितहरुको उद्धारले हेलिकप्टर व्यवसायलाई चलायमान बनाएको छ।

गत वर्ष कोभिड १९को कारण पूरै ठप्प रहेको व्यवसाय यो वर्ष कोभिड बिरामीकै उद्धारले चलायमान भएको हो।

वायुसेवा सञ्चालक संघले करिब ९० प्रतिशत हेलिकप्टर उडान कोभिड उद्धारको लागि हुनथालेको जनाएको छ।

गत वर्ष कोरोना सुरु हुँदा महामारीको डरले लामो समय हेलिकप्टरबाट उद्धार उडान नै भएको थिएन। महामारी नियन्त्रण उन्मुख भएको समयमा सिम्रिक हेलिकप्टरले कोभिड बिरामीको उद्धार उडान सुरु गरेको थियो।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले गत वर्ष सुरुमा सिम्रिक एयरमात्रै रहे पनि मनाङ एयर जोडिएको बताए। उनले यो वर्ष थप हुने क्रममा अल्टिच्युड, एयर डाइनेस्टी, हेली एभेरेष्टी, श्री एयरलाइन्सले कोभिड ‘रेस्क्यु’ गरिरहेको जानकारी दिए।

कँडेलका अनुसार नेपालमा १० वटा हेलिकप्टर कम्पनीमध्ये अहिले अधिकांश कम्पनीले कोभिड रेस्क्युको उडान गर्नथालेका छन्। कोभिड रेस्क्युको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै उडान गर्न पाइन्छ।

यो पनि–
कोभिड बिरामी उद्धारको लागि हेलिकप्टर चाहियो? यी नम्बरमा फोन गर्नुस्

संघका प्रवक्ता कँडेलले हेलकप्टर उडान चलायमान हुनुमा यो वर्ष हिमाल आरोहणार्थ आएका पर्यटकको पनि योगदान रहेको बताए।

‘अंग्रेजी नयाँ वर्ष सुरु भएसँगै केही विदेशी पर्यटक नेपाल भित्रिए। सोही कारण बीचमा केही चार्टर्ड उडानहरु भए’, उनले भने, ‘अहिले दुई किसिमका उद्धार उडान भइरहेका छन्। एउटा कोभिड उद्धार र अन्य उद्धार उडान पनि भएका छन्।’

निषेधाज्ञाको बीचमा पनि हिमाल आरोहणमा गएकाहरुको लागि पर्यटक उद्धार उडान भएका थिए। त्यसपछि कोभिडका बिरामी बोक्नेबाहेक अरु कुनै बिजनेस खासै नभएको उनी बताउँछन्।

‘अहिले जहाजहरु मुभमेन्ट भइरहेका छन्। जहाज चलिराख्नु भनेको पनि मेसिन नबिग्रिनु हो’, कँडेलले भने, ‘जहाज धेरै दिन ग्राउन्डमा बस्यो भने बिग्रिने सम्भावना पनि धेरै हुन्छ।’

सबैभन्दा बढी उडान गर्ने अल्टिच्युड र सिम्रिक एयर
कोभिड उद्धारलाई नै प्राथमिकता राखेका अल्टिच्युड र सिम्रिक एयरले अहिले पनि दैनिक ‘रेस्क्यु’ उडान गरिरहेका छन्।

सञ्चालनमा रहेका १० वटा हेलिकप्टर कम्पनीमध्ये मे ७ देखि १७ गतेसम्म त्रिभुवन विमानस्थलबाट अल्टिच्युड एयरले १०० वटा उडान गरेको छ भने स्रिमिक एयरले ९७ वटा उडान गरेको छ।

सिम्रिक एयरका पाइलट सिद्धार्थ गुरुङले दैनिक कोभिड रेस्क्यु उडान गरिरहेको बताए।

हेलिकप्टर कम्पनीले मेडिकल टिमसहित कोभिड ‘रेस्क्यु’ गर्ने गरेका छन्। कम्पनीहरुका अनुसार हस्पिटलमा बेड पाइने निश्चित भएपछि मात्रै सम्बन्धित हस्पिटलको मेडिकल टिमसहित ‘रेस्क्यु’ हुन्छ।

यो पनि–
कोभिड संक्रमितको हवाइ उद्धार बढ्यो, हेलिकप्टर कम्पनीले माग धान्नै सकेनन्

कोरोना संक्रमणको दोस्रो लहरको सुरुमा बाहिरी जिल्लाबाट कोभिड बिरामी ल्याउनको लागि हेलिकप्टर ‘रेस्क्यु’ हुने गरेकोमा अहिले काठमाडौंमा बेड नपाएर बाहिर लैजान समेत ‘रेस्क्यु’ हुने गरेको छ।

काठमाडौंबाट बाहिर झापाको बीएन्डसी हस्पिटलमा ‘कोभिड एयर लिफ्ट’ हुने गरेको कम्पनीहरुले बताएका छन्। निषेधाज्ञाकै बीचमा बढी उद्धार उडान गर्नेमा कैलाश हेलिकप्टर अगाडि छ। उसले ८४ उडान गरेको छ।

त्रिभुवन विमानस्थलका अनुसार मे ७ देखि १७ सम्म कैलाशको ३३, प्रभु हेलिकप्टरको ४६ र मनाङ एयरको ५५ वटा उडान भएको छ।

त्यस्तै हेली एभरेष्टले २७, माउन्टेन हेलीले २७, एयर डाइनेस्टीले ३६ वटा र फिस्टेल एयरले २० वटा उडान गरेको छ।

अनुगमन पनि सँगसँगै
वायुसेवा सञ्चालक संघले कोभिड ‘रेस्क्यु’को लागि बेला–बेलामा अनुगमन पनि गरिरहेको दाबी गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड ‘रेस्क्यु’का क्रममा हेलिकप्टर कम्पनीले जथाभावी भाडा लिएपछि घटाउन निर्देशन दिएको थियो।

संघका प्रवक्ता कँडेलले सोही कारण कसैले बदमासी नगरोस् भनेर निगरानी गरिरहेको दाबी गरे।

‘छिटो छरितो गर्नका लागि एयरपोर्टमा जसको हेलिकप्टर खाली हुन्छ, उसले बोक्ने गरी समन्वय गरिरहेका छौँ’, कँडेलले भने, ‘कोभिड बिरामीको छिटो उद्धार होस् भनेर यस्तो प्रणाली बनाएका हौँ।’

यो पनि–
कोरोना बिरामी उद्धार गर्ने हेलिकप्टरलाई अतिरिक्त शुल्क घटाउन निर्देशन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .