ad ad

कारोबार


निषेधाज्ञाको दुई हप्तामा नेपाल भित्रियो ५ लाख किलो स्वास्थ्य सामग्रीसहितको कार्गो

निषेधाज्ञाको दुई हप्तामा नेपाल भित्रियो ५ लाख किलो स्वास्थ्य सामग्रीसहितको कार्गो

वसन्त अर्याल
जेठ ७, २०७८ शुक्रबार १०:२९,

निषेधाज्ञापछि कोभिड स्वास्थ्य सामग्रीसहित करिब ५ लाख किलो कार्गो नेपाल भित्रिएको छ।

पछिल्लो दुई हप्तामा नेपाली वायुसेवा कम्पनीसहित विदेशी एयरलाइन्सले उक्त परिमाणको सामग्री भित्र्याएका हुन्।

हिमालय एयरलाइन्सले निषेधाज्ञापछि दैनिकजसो चीनको कुनमिङबाट कार्गो सामग्री नेपाल ल्याइरहेको छ।

त्यसबाहेक चीन, भारत, बंगलादेश, स्पेन, अमेरिका, बेलायत सरकारले सहयोग गरेको सामग्री समेत कार्गोमार्फत नेपाल आएको छ।

यहीबीचमा खाडी मुलुकमा रहेका नेपालीको सहयोगमा ५ सय ५० अक्सिजन सिलिन्डरसहित कार्गो नेपाल एयरलाइन्सले ल्याएको थियो।

नेपाल एयरलाइन्सले चीनबाट २ हजार बढी अक्सिजन सिलिन्डर कार्गो गरी ल्याइसकेको छ। बिहीबार नै स्पेन सरकारले सहयोग गरेको कोभिड स्वास्थ्यसामग्री काठमाडौं आइपुगेको छ।

स्पेनले कार्गोमा ५ टनभन्दा बढी कोभिडसम्बन्धी स्वास्थ्य सामग्री रहेको छ। विभिन्न एयरलाइन्सले विदेशबाट रेस्पिरेटर, अक्सिजन कन्सेन्ट्रेटर, फेस मास्क, एन्टिजेन किट, अक्सिजन सिलिन्डरलगायतका सामग्री कार्गो गरी नेपाल पठाएका छन्।

हिमालय एयरलाइन्सले अहिले अन्य सेवा बन्द भएकाले कार्गोमा कोभिड स्वास्थ्य सामग्री बढी हुने गरेको बताएको छ।

‘हाम्रो चीनबाट दैनिक कार्गो उडान भइरहेको छ’, हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘कार्गोमा कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री बढी छ।’

उनले हिमालय एयरलाइन्सले चीनबाहेक बंगलादेशबाट समेत कोभिड स्वास्थ्य सामग्री ल्याएको बताए।

श्री एयरलायन्सले समेत थाइल्यान्डको बैंककबाट कोभिडसम्बन्धी स्वास्थ्य सामग्री नेपाल ल्याएको छ।

विदेशी एयरलाइन्स एयर चाइना, सिचुवान एयर, कतार एयरवेज, क्याथेप्यासेफिकलगायतले समेत कार्गो सामग्री नेपाल ल्याएका छन्।

himalayan airlines cargo from kunming2

निषेधाज्ञापछि कहिले कति कार्गो सामग्री?
सुरुमा हिमालय एयरलाइन्सले मात्रै कार्गो उडान गरेपछि पछिल्लो समय अन्य एयरलाइन्सले कार्गो सामग्री नेपाल ल्याइरहेका छन्।

बिहीबार स्पेनसहित चीनबाट ३ जहाजले १८ हजार ८ सय किलो कार्गो विदेशबाट ल्याएका थिए भने बुधबार ६५ हजार ७ सय किलो कार्गो नेपाल ल्याएका थिए।

त्यस्तै, मंगलबार ४१ हजार ८ सय किलो कार्गो नेपाल भित्रिएको छ।

सोमबार हिमालय एयरलाइन्सले कुनमिङबाट र नेपाल एयरलाइन्सले बेइजिङबाट ४२ हजार २ सय किलो कार्गो ल्याएका थिए।

आइतबार पनि हिमालय र नेपाल एयरलाइन्सले चीनबाट ३२ हजार ८ सय किलो कोभिड स्वास्थ्य सामग्री ल्याएका थिए।

शनिबार हिमालय, एयर चाइना र नेपाल एयरलाइन्सले करिब ६० हजार किलो कार्गो नेपाल ल्याएका थिए।

शनिबार नेपाल एयरलाइन्सले ओमानको मस्कटबाट ५ सय ५० अक्सिजन सिलिन्डरसहितका कोभिड स्वास्थ्य सामग्री ल्याएको थियो।

शुक्रबार ४९ हजार किलो कार्गो नेपाल भित्रिएको छ। शुक्रबार हिमालय एयरलायन्स, श्री एयरलाइन्स, एयर इन्डिया, एयर अरेविया, क्याथे प्यासिफिकले कार्गो नेपाल ल्याएका थिए।
पछिल्लो एक हप्तामा मात्रै साढे ३ लाख किलो कार्गो नेपाल भित्रिएको छ।

अन्तर्राष्ट्रिय उडान बन्द भएको दिन वैशाख २४ गते हिमालय एयरलाइन्सले चीनबाट २३ हजार किलो स्वास्थ्य सामग्री नेपाल ल्याएको थियो।

२५ गते ३६ हजार ३ सय र २७ गते १२ हजार २ सय किलो कार्गो त्रिभुवन विमानस्थलमा आएको थियो।

२६ गते भने कुनै पनि कार्गो उडान नभएको त्रिभुवन विमानस्थलले जनाएको छ।

त्यस्तै २८ गते ४४ हजार, २९ गते ६४ हजार ४ सय र ३० गते हिमालय एयरलाइन्सले कुनमिङबाट १२ हजार किलो कार्गो नेपाल भित्र्याएको थियो।

त्रिभुवन विमानस्थलका अनुसार वैशाख २४ देखि जेठ ६ गतेसम्म ५ लाख २ हजार बढी कार्गो हवाइ यातायातमार्फत नेपाल भित्रिएको छ।

Airport social distancing1

त्रिभुवन विमानस्थलमा २५ प्रतिशत अन्तर्राष्ट्रिय उडान
त्रिभुवन विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले कार्गो उडानका कारण विमानस्थलमा २५ प्रतिशत अन्तर्राष्ट्रिय ‘मुभमेन्ट’ भइरहेको बताए।

अन्तर्राष्ट्रिय उडानतर्फ कार्गो र स्वादेश फिर्ती गरी २५ प्रतिशत उडान भइरहे पनि यात्रु भने नगन्य मात्र रहेको उनको भनाइ छ।

निषेधाज्ञाको बीचमा रसियन एयरलाइन्सले २ सय ५१ जना रसियन नागरिक स्वादेश फिर्ता लगेको थियो। कतार एयरवेज र टर्किश एयरवेजले युरोपियन तथा अमेरिकन नागरिकलाई नेपालबाट फिर्ता लगेका थिए।

त्यसबाहेक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले भारतीय दूतावासको आग्रहमा नेपालमा रहेका भारतीय नागरिकलाई साउदी अरब लगेका छन्।

नेपाल र भारतमा अहिले हप्ताको दुई उडान भइरहेको छ भने अर्को हप्ताबाट कतार र चीनमा समेत नियमित उडान हुँदै छ।

आन्तरिक उडानतर्फ निषेधाज्ञापछि माउन्टेनरिङ, कोभिड प्यासेन्जर, उद्धार उडान गरी १५ प्रतिशत आन्तरिक उडान भइरहेको तिवारी बताउँछन्।

निषेधाज्ञाअघि आन्तरिक उडान सामान्य अवस्थामा फर्किएको थियो। दैनिक १५ हजार नागरिकको ‘मुभमेन्ट’ भएका थिए।

त्रिभुवन विमानस्थलमा उडानको संख्या घटेसँगै आम्दानी पनि घटेको छ। तिवारीले विमानस्थलको आम्दानी १० प्रतिशतमै सीमित भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .