ad ad

कारोबार


आंशिक रुपमा भए पनि १८ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खोल्नुपर्ने मनस्थितिमा मन्त्रालय

आंशिक रुपमा भए पनि १८ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खोल्नुपर्ने मनस्थितिमा मन्त्रालय

वसन्त अर्याल
जेठ १२, २०७८ बुधबार ११:२४,

मन्त्रिपरिषद्को निर्णय स्पष्ट नहुँदा कतार र चीनमा नियमित उडान हुनसकेको छैन।

जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘ओपन विन्डो’को रुपमा दोहा र ग्वान्झाउ उडान खोल्ने निर्णय कार्यान्वयन हुन नसकेको हो।

मन्त्रिपरिषदको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो हप्ताबाट नेपाल एयरलान्स र हिमालय एयरलाइन्सले कतार र चीनमा नियमित उडान गर्ने जनाएको थियो।

तर मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उडान खोल्ने निर्णय नपठाउँदा नियमित उडान हुनसकेको छैन।

‘चीनको ग्वान्झाउ र कतारको दोहामा नियमित उडान हुने मन्त्रिपरिषद्को निर्णय सुनेका थियौँ’, प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रले भने, ‘हामीलाई अहिलेसम्म दुई देशमा नियमित उडानको विषयमा पत्र आएको छैन।’

जेठ ३ को मन्त्रिपरिषद् बैठकले कोभिडसम्बन्धी स्वास्थ्य सामग्री सहज आपूर्तिका लागि कतार र चीनमा उडान खुल्ला गर्ने निर्णय गरेको हो।

उक्त निर्णय ६ गते मन्त्रालयमा आएर थन्किएको छ।

मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले कोभिड रोकथाम तथा नियन्त्रणका लागि हप्तामा दुई उडान हुने निर्णय मन्त्रिपरिषद्बाट प्राप्त भएको बताए।

‘कोभिड रोकथाम, नियन्त्रण तथा उपचारसँग सम्बन्धित सहज आवतजावतका लागि कतार र चीनमा उडान गर्न नेपाली वायुसेवा कम्पनीले सहज उडान गर्न अनुमति दिने निर्णय भएको छ’, सुवेदीले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै भने, ‘तर नियमित उडानमा यात्रु जान पाउने वा नपाउने स्पष्टता छैन।’

उड्डयन मन्त्रालयले सहज आपूर्तिको लागि दैनिक कार्गो उडान भएकाले दुई देशको उडान खोल्ने निर्णयमा स्पष्टता नभएको दाबी गरेको छ।

‘सहज आपूर्तिको लागि दैनिक कार्गो उडान भइरहेका छन्’, मन्त्रालयका अर्का एक अधिकारीले भने, ‘खोइ दुई देशमा कस्तो नियमित उडान गर्ने भनिएको हो, बुझिएन।’

अहिले हिमालय एयरलाइन्स, सिचुवान एयरलाइन्स, नेपाल एयरलाइन्सले दैनिकजसो चीनबाट कार्गो उडान गरिरहेका छन्।

त्यसैगरी कतार एयरवेजले दोहा–काठमाडौं कार्गोसँगै चार्टर्ड उडान गरिरहेको छ।

जेठ १८ बाट नियमित उडान खोल्नुपर्ने मन्त्रालयको निष्कर्ष
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ १८ पछि आंशिक रुपमा नियमित उडान खोल्नुपर्ने बताएको छ।

मन्त्रालयले नेपालमा रहेका विदेशी र विदेशमा रहेका नेपालीको लागि आंशिक उडान आवश्यक भएको मन्त्रालयको भनाइ छ।

हाल नेपाल–भारत मात्र एयर बबल सम्झौतामार्फत हप्ताको दुई उडान भइरहेको छ। बुधबार र शुक्रबार नेपाल एयरलाइन्स र एयर इन्डियाले यात्रुसहितको उडान गर्दै आएका छन्।

त्यसबाहेक नेपालमा भएका विदेशी लैजान चार्टर्ड उडान हुँदै आएका छन्। चार्टर्ड उडानमा नेपाली समेत विदेश जान पाउने मन्त्रालयले निर्णय गरेको छ।

तर चार्टर्ड उडानमा बढी भाडा तिर्नुपर्ने हुँदा आंशिक रुपमै भए पनि नियमित उडान खोल्नुपर्ने मन्त्रालयले बताएको छ।

‘मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणसहित अन्य निकायसँग दैनिकजसो छलफल गरिरहेको छ’, मन्त्रालयका हवाइ महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले भने, ‘हामी जेठ १८ बाट आंशिक रुपमा नियमित अन्तर्राष्ट्रिय उडान खोल्नुपर्नेमा सहमत छौँ।’

उनले अन्तर्राष्ट्रिय उडान खोल्नेबारे मन्त्रालयभन्दा मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने बताए।

‘सबै देशमा अहिले नै खोल्न नसकिएला तर कोरोनाको जोखिम कम भएका र बढी नेपाली आउजाउ गर्ने क्षेत्रमा उडान खोल्नुपर्छ’, सहसचिव लामिछानेले भने।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले मन्त्रिपरिषले पनि मन्त्रिपरिषद्ले निर्णय नगरेसम्म कहिले खुल्छ भन्न नसकिने बताए।

सरकारले वैशाख २४ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै नेपालमा भएका विदेशी यतै रोकिएका छन्।

वैदेशिक रोजगारीबाट विदामा आएका नेपाली समेत विदेश जान पाएका छैनन्।

नेपालका विदेशस्थित विभिन्न राजदूतावासले अब नियमित उडान नखोले भिसा म्याद सकिएका, करार अवधि सकिएका नेपालीले दुःख पाउने बताउँदै आएका छन्।

विभिन्न कारणले मृत्यु भएका नेपालीको शव उडान नियमित नहुँदा उतै रोकिएका छन्। विदेशस्थित राजदूतावासले नियमित उडान खोल्न सरकारलाई सुझाव दिँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .