ad ad

कारोबार


सार्वजनिक संस्थानको खुद नाफा घट्यो, लाभांश ४८ प्रतिशतले बढ्यो

सार्वजनिक संस्थानको खुद नाफा घट्यो, लाभांश ४८ प्रतिशतले बढ्यो

वसन्त अर्याल
जेठ १४, २०७८ शुक्रबार १२:१५,

आर्थिक वर्ष २०७५/०७६ को तुलनामा सार्वजनिक संस्थानको खुद नाफा आव २०७६/०७७ मा १.२१ प्रतिशतले कमी आएको छ।

अर्थ मन्त्रालयले शुक्रबार जारी गरेको ‘पहेँलो किताब ०७६/०७७’ अनुसार सार्वजनिक संस्थानको खुद नाफा ४८ अर्ब २९ करोड रुपैयाँ रहेको छ।

सरकारी स्वामित्व भएका सार्वजनिक संस्थानको खुद नाफा घटे पनि लाभांश बढेर १४ अर्ब ९ करोड पुगेको छ।

यो अघिल्लो वर्षको तुलनामा ४८.८७ प्रतिशतले बढी हो।

आर्थिक वर्ष २०७६/०७७ मा कोभिड १९ को कारण सार्वजनिक संस्थानको कुल आय ९ प्रतिशतले घटेको छ।

अर्थ मन्त्रालयले कार्यसम्पादनमा संकुचन आए पनि समग्र वित्तीय स्थिति सन्तोषजनक रहेकोे जनाएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा संस्थानको कुल सञ्चालन आय ४ खर्ब ७१ अर्ब रुपैयाँ रहेको थियो।

गत वर्ष महामारीको कारण यस्तो आय ४ खर्ब २८ अर्बमा झरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७६ मा उल्लेख रहेको छ।

आव ०७६/०७७ मा सञ्चित नाफा १८.१९ प्रतिशतले वृद्धि भई १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ।

सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा करिब १ प्रतिशतले कमी आई ३४ अर्ब २३ करोड रुपैयाँ कायम भएको छ।

सबै संस्थानको सञ्चित नाफा २९.५३ प्रतिशतले वृद्धि भई ७५ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

आव ०७६/०७७ मा अस्तित्वमा रहेकामध्ये २४ संस्थान नाफा आर्जन गर्न सफल भएका छन् भने २ वटा संस्थानको कारोबार शून्य र १८ संस्थानले घाटा व्यहोरेका छन्।

सार्वजनिक संस्थानमध्ये जनकपुर चुरोट कारखाना बन्द छ भने विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामा छन्।

नोक्सानीमा सञ्चालनमा भइरहेका संस्थानमध्ये नेपाल ओरियन्ड म्याग्नासाइट प्रालि, बुटवल धागो कारखाना लिमिटेडको व्यावसायिक कारोबार नभएको, नेपाल रेल्वे कम्पनीको व्यवसाय सञ्चालनको प्रक्रियामा रहेकाले प्रशासनिक खर्च भएका कारण नोक्सानी व्यहोरिरहेका छन्।

आर्थिक वर्ष २०७६/०७७ मा नाफामा सञ्चालित २४ संस्थानको खुद नाफा ४.२८ प्रतिशत र नोक्सानीमा सञ्चालित १८ संस्थानको खुद नोक्सानी ९९.४६ प्रतिशतले बढेको छ।
सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा १२.६८ प्रतिशतले वृद्धि भएको छ।

आव ०७६/०७७ मा सेयरधनी कोष १३.११ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी अघिल्लो वर्षको तुलनामा ११.८२ प्रतिशतले वृद्धि भई ५ खर्ब १९ अर्ब रुपैयाँ रहेको छ।

गत आर्थिक वर्ष विद्युत् उत्पादन, प्रसारण लाइन, विमानस्थल निर्माण, खानेपानी र वित्तीय क्षेत्रका केही संस्थानमा थप लगानी गरेकाले कुल लगानी बढ्न गएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ।

सार्वजनिक संस्थानमा सेयर लगानी ६.१७ प्रतिशतले वृद्धि भई २ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ भने ऋण लगानी १९.७९ प्रतिशतले वृद्धि भई २ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ।

आव ०७६/०७७ सम्म अस्तित्वमा रहेका ४४ संस्थानमध्ये नेपाल सरकारको पूर्ण स्वामित्वमा २३ संस्थान छन्। ५० प्रतिशतभन्दा बढी सरकारी स्वामित्व भएका संस्थान २१ रहेका छन्।

सार्वजनिक संस्थानको कुल चुक्ता पुँजी ३ खर्ब ११ अर्बमध्ये नेपाल सरकारको मात्रै झण्डै ९३ प्रतिशत स्वामित्व रहेको छ। अघिल्लो वर्षको तुलनामा चुक्ता पुँजी करिब ९ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षमा सार्वजनिक संस्थानले कुल १९ अर्ब ३६ करोड रुपैयाँ आयकर दाखिला गरेका छन्। अघिल्लो वर्षको तुलनामा १०.२२ प्रतिशतले बढी हो।

संस्थानहरुले २८ हजार ३६४ जनालाई रोजगारी दिएका छन् । जसमा सबैभन्दा बढी जनोपयोगी क्षेत्रका संस्थानले ४७.२, सबैभन्दा कम व्यापारिक क्षेत्रका संस्थानले ४.५ प्रतिशत रोजगारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .