ad ad

कारोबार


एनसेलले परिमार्जन गर्‍यो १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क, कुन देशको कति?

एनसेलले परिमार्जन गर्‍यो १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क, कुन देशको कति?

नेपालखबर
जेठ २५, २०७८ मंगलबार १२:१६,

एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागू हुने गरी विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ।

नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका छन् ।

गत जेठ ९ गते नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरी १९ देशहरुका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृति प्रदान गरेको थियो।

प्राधिकणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरुका लागि एनसेलको अन्तरराष्ट्रिय कल शुल्क अब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ ।

नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्कअनुसार माथि उल्लिखित १८ वटा देशहरुको शुल्क करबाहेक प्रतिमिनेट ३० रुपैयाँ निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रतिमिनेट कल शुल्क करबाहेक ३०.६५ रुपैयाँ निर्धारण भएको छ।

यसअघि यी देशहरुमा कल गर्दा गन्तव्य देशअनुसार प्रतिमिनेट ४.९९ देखि १५ रुपैयाँसम्म लाग्ने गरेको थियो । अझै पनि माल्दिभ्सको लागि एनसेलको प्रतिमिनेट कल शुल्क अरु सेवा प्रदायकले लिने शुल्कभन्दा निकै कम रहेको छ ।

अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्षदेखि एनसेलले अन्तर्राष्ट्रिय कलबापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको छ ।

साथै यसअघि एनसेलले यी देशहरुका लागि प्रदान गर्दै आएको अन्तरराष्ट्रिय शुल्क अन्य सेवा प्रदायकहरुको स्वीकृत कल शुल्कभन्दा ६ गुणा कम दरमा ग्राहकहरुलाई अन्तर्राष्ट्रिय कल सुविधा प्रदान गर्दै आएको थियो ।

सन् २०१६ देखि अप्रिल २०२१ सम्ममा एनसेलले अन्तर्राष्ट्रिय कल सेवामा अव्यावहारिक नोक्सानी व्यहोरेको छ ।

विगत ५ वर्षमा एनसेलले अन्तर्राष्ट्रिय कलबाट हुने आयमा २७.५ करोड रुपैयाँभन्दा बढी नोक्सान भोगेको छ ।

केही युरोपियन गन्तव्यहरुमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दरभन्दा निकै बढी रहेकोले हाल यी देशहरुका लागि गरिएको शुल्क परिमार्जनपश्चात् पनि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझै पनि घाटामै रहने कम्पनीले जनाएको छ ।

प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रतिमिनेट ३० रुपैयाँ रहे पनि कल गरिने गन्तव्य देशअनुसार कुनै—कुनै युरोपियन गन्तव्यहरुको कल शुल्क करबाहेक १,१७०.३० रुपैयाँसम्म रहेको छ ।

गुणस्तरीय सेवा सुलभ दरमा प्रदान गर्न र डिजिटल कनेक्टिभिटी अझ बढाउदै यसले दिने लाभहरुसँग सबैलाई जोड्न एनसेल प्रतिबद्व छ । एक जिम्मेवार कपोर्रेटको रुपमा एनसेलले सबै नियम तथा कानुनको पूर्णरुपमा परिपालना गर्दै आएको छ ।

स्थापनाकालदेखि गत आर्थिक वर्ष २०७६/०७७ सम्ममा एनसेलले कर तथा शुल्कहरुबापत २४२ अर्ब रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको कम्पनीको भनाइ छ ।

‘देशको एक सबैभन्दा ठुलो करदाताको रुपमा नेपालमा सामाजिक तथा आर्थिक विकासको लागि एनसेलले उल्लेखनीय भूमिका रहेको छ र देशको हितको लागि दिगो व्यवसाय संचालनलाई निरन्तरता दिँदै जानेछ’, कम्पनीले विज्ञप्तिमार्फत भनेको छ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी पहलअन्तर्गत हालसम्म १ अर्ब २७ करोडभन्दा बढी रकम खर्च गरिसकेको छ।

देशको आर्थिक सामाजिक विकासमा योगदान पुर्याउँदै स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .