ad ad

कारोबार


माथिल्लो तामाकोसीको परीक्षण अन्तिम चरणमा

माथिल्लो तामाकोसीको परीक्षण अन्तिम चरणमा

नेपालखबर
असार १५, २०७८ मंगलबार ८:४९,

स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न अन्तिम चरणका परीक्षणका काम धमाधम भइरहेका छ।

७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिक तय गरिएको छ। पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत उत्पादन हुनेछ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरी पहिलो युनिटबाट सोमबारबाटदेखि विद्युत उत्पादनको तालिका तय गरेको हो।

टोलीले विद्युतगृहमा भइरहेको उपकरणहरुको परीक्षण, बाँधस्थल, रामेछापको खिम्तीमा निर्माणाधीन २२० को न्यू खिम्ती सबस्टेसनलगायतको अनुगमन गरी निर्माणमा संलग्न अधिकारीहरुसँग छलफल गरेको थियो।

‘विभिन्न समस्या झेल्दै आएको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत उत्पादन गर्ने अवस्थामा पुर्याएका छौं, सम्पूर्ण परीक्षणहरु अन्तिम चरणमा पुगेका छन्, अब कुनै प्राविधिक समस्या नआएका सोमबार बिहान स्विच अन गरी पहिलो युनिबाट विद्युत उत्पादन सुरु गर्छौं’,उनले भने, ‘माथिल्लो र तल्लो ठाटो सुरुङकोबीच भागमा राखिने पेनस्टक पाइपको डिजाइन परिमार्जन र निर्माण सम्पन्न भएर भासिएको प्रसारण लाइनको टावर निर्माणका विषयमा कम्पनीबाट तत्काल निर्णय नलिइएको भए आयोजना अझै पर धकिलिने अवस्था थियो, समयमै निर्णय गरी काम सम्पन्न गरेका छौं।’

जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सबै प्रकारका परीक्षणहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन्। विद्युतगृहमा पहिलो युनिटको परीक्षण भइरहेको छ।

आयोजनाबाट उत्पादित विद्युत गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ। यसका लागि प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ भने लाइनको परीक्षण भइरहेको छ।

tamakoshi-up.jpg

७६ किलोमिटर खिम्ती–ढल्केबर प्रसारण लाइनको परीक्षण भइरहेको छ। माथिल्लो तामाकोसीको विद्युतगृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको परीक्षण गरिने छ। खिम्तीमा निर्माणाधीन २२० केभीको न्यू खिम्ती सबस्टेसनको परीक्षण भइरहेको छ।

‘सबस्टेसनको परीक्षणका लागि केही दिन लाग्ने देखिएकोले हाललाई वैकल्पिक व्यवस्था गरी आयोजनाको विद्युत न्यू खिम्ती सबस्टेसनमा नलगी सिधै ढल्केबर सबस्टेसनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ’, शाक्यले भने। ‘यसका लागि आवश्यक प्रवन्ध गरिसकेका छौं।’

सबस्टेसनको निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत न्यू खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती–लामोसाँघु–भक्तपुर प्रसारण लाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिने छ। सबस्टेसन १५ दिनभित्रमा सञ्जालनमा आउनेछ।

आयोजनाको साइट कार्यालय, आयोजनास्थलसम्मको पुहँच सडक, पुललगायतका पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२/६३मा र मुख्य संरचनाहरुको निर्माण आर्थिक वर्ष २०६७/६८मा सुरु भएको थियो। २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो।

substation-tamakoshi.jpg

लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो। कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो।भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, महामारीको रुपमा विश्वभर फैलिएको कोभिड–१९ लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो।

लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो। उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्व, आयोजनामा खटिएका कर्मचारी, ठेकेदार कम्पनीहरु, स्थानीय बासिन्दाहरुलगायत सबैको अथक प्रयास र सहयोगमा आयोजना विद्युत उत्पादन गर्ने अवस्थामा पुगेको छ।

आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो। आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .