पछिल्लो समय नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको कारोबार गरिरहेको बज्र ग्रुप ३१ वर्षमा प्रवेश गरेको छ।
सो अवसरमा कम्पनीले आगामी दशैँसम्ममा नेपाली बजारका लागि इन्डोनेसियामा निर्मित वुलिङ ब्रान्डको ईभी भित्र्याउने घोषणा गरेको हो।
बज्र ग्रुपका म्यानेजिङ डाइरेक्टर प्रकाश बज्राचार्यले अमेरिकी कम्पनी जनरल मोटर्सको सब्सिडी कम्पनीको रुपमा रहेको वुलिङ ईभी नेपाली बजारमा ल्याउने बताए।
एउटा सानो पसलबाट सुरुवात गरेको व्यवसाय कोहलर लगायतका स्यानिटरी हुँदै सन सिटी, बज्र सांग्रिला र मेरो सिटी जस्ता अपार्टमेन्टको व्यवसायसम्म फैलिएको उनले बताए।
उनले कोभिडको समयमा मास्कको माग अझै बढ्दै गएको समयमा नेपालमै म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गरी बज्र मास्क बजारमा उपलब्ध गराएको र पोस्ट कोभिडमा इलेक्ट्रिक सवारीको माग बढ्दै गएको अवस्थामा बोस कम्पनीको मोटरयुक्त चीनमा उत्पादित लेभ्निङका टु ह्विलर र थ्री ह्विलर बजारमा उपलब्ध गराइरहेको जानकारी दिए।
उनले नेपाली बजारमा उपलब्ध लेभ्निङको थ्री ह्विलर अशक्तहरुका लागि निकै नै प्रभावकारी भएको बताए। पहिले स्यानिटरी, त्यसपछि हाउजिङ एन्ड अपार्टमेन्टको व्यवसाय पश्चात मास्क र अब इलेक्ट्रिक सवारीको व्यवसायमा लाग्ने योजनाका साथ बज्र ग्रुपले कार्य गरिरहेको बताए।
बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले हाल लेभ्निङ इलेक्ट्रिक स्कुटरको बिक्री–वितरण गरिरहेको छ। वुलिङ ईभीको कारोबार पनि ईभी नेपाल मोटर्सले नै गर्नेछ।
नेपाली बजारमा वुलिङ ईभीका २०० किलोमिटर र ३०० किलोमिटर रेन्ज तथा ५० किलोवाट क्षमता भएको र १०० किलोमिटर प्रतिघण्टाको स्पिडमा जान सक्ने फोर सिटर उपलब्ध गराउने बज्राचार्यले बताए।
आधारभूत आवश्यकतालाई पुरा गर्न सक्ने र ग्राहकले आफ्नो खर्चले धान्न सक्ने इलेक्ट्रिक कार नेपाली बजारमा उपलब्ध गराउने उनको भनाइ छ।
वुलिङ ईभीको वेबसाइट अनुसार कम्पनीले वुलिङ एयर ईभी बजारमा उपलब्ध गराइरहेको छ । बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले यही ईभी नेपाली बजारमा उपलब्ध गराउने अनुमान गरिएको छ।
Shares
प्रतिक्रिया