ad ad

कारोबार


संघीय सरकारसँग समन्वय नगर्दा तुहियो न्युरोडमा फुटपाथ बढाउने बालेनको योजना

महानगरका प्रवक्ता भन्छन्– बालेन र महासेठलाई नै सोध्नुस्
संघीय सरकारसँग समन्वय नगर्दा तुहियो न्युरोडमा फुटपाथ बढाउने बालेनको योजना

वसन्त अर्याल
जेठ २१, २०८१ सोमबार १६:१३, काठमाडौँ

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले समन्वय नगर्दा न्युरोडमा फुटपाथ विस्तारको योजना तुहिएको छ। 

सडक डिभिजन कार्यालय, काठमाडौँले सोमबार महानगरले न्युरोड क्षेत्रमा दुवैतर्फ १.५ मिटर फुटपाथ बनाउन काटेको सडक पुनःनिर्माण गरेको छ। 

महानगरले न्युरोड क्षेत्रमा सर्वसाधरणको भिड लाग्ने हुँदा फुटपाथ सानो भएको तर्क गर्दै आएको छ। अहिलेको सडकमा डेढ मिटर फुटपाथ बढाई सर्वसाधरणलाई आउजाउमा सहज बनाउने महानगरको योजना थियो। 

फुटपाथ बनाउने काम महानगरको कार्यक्षेत्रभित्र परे पनि मुख्य सडक भने संघीय सरकारअन्तर्गत पर्छ। सडक विभाग अन्तर्गतको सडक समन्वय नगरी काटेकाले कालोपत्रे गरिएको डिभिजन कर्यालयले स्पष्ट पारेको छ। 

सोमबार सडक कालोपत्रे गरेको सडक डिभिजन कार्यालयले महानगरलाई क्षतिपूर्तिसमेत भराउने बताएको छ। 

महानगरले न्युरोड क्षेत्रमा फुटपाथ विस्तारका लागि सडक काटे पनि सडक विभागले समन्वय नगरेको भन्दै काम रोकेको थियो। जहाँ सोमबार सडक कालोपत्रेसमेत गरिएको छ। 

‘न्युरोडजस्तो क्षेत्रमा भद्रगोल भएपछि हामी आफैँले कालोपत्रे गर्न लागेका हौँ,’ सडक डिभिजन कार्यालय, काठमाडौँका इन्जिनियर प्रमोद खतिवडाले नेपालखबरसँग भने, ‘कूल २१० मिटर लम्बाइमा कालोपत्रे हुँदै छ। दुवैतर्फ १.५ मिटर कटान गरिएको छ।’ 

डिभिजन कार्यालयले सोमबार सडक निर्माणको काम सकेको छ। 

यसअघि सडक डिभिजन कार्यालयले महानगरलाई २ दिनभित्र कालोपत्रे गर्ने अल्टिमेटम दिएको थियो। महानगरले फुटपाथ निर्माणको अधिकार महानगरको भएकाले कानुनी लडाइँमा जाने बताएको थियो। 

कार्यपालिका बैठकमै यो विषयमा प्रश्न उठेपछि मेयर शाहले सडक विभागकै काम कानुनसम्मत नभएको तर्क पेस गरेका थिए। साथै, उनले विभागलाई कानुनअनुसार कारबाही हुने बताएका थिए।

शाहले भनेजस्तै सडक विभागले पनि कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ। 

‘सडक ऐनअन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ, जसमा क्षतिपूर्तिसहितको कारबाही हुन्छ,’ खतिवडाले भने। 

कालोपत्रेको काम सकिएपछि मात्रै त्यहाँ भएको खर्चबारे थाहा हुने उनले बताए

सोमबार विभागले सडक कालोपत्रे गर्न थालेपछि मेयर शाहका समर्थकहरूले विरोध गरेका थिए। 

उक्त सूचना पाउनासाथ महानगर प्रहरी बलको टोली पनि न्युरोड पुगेको थियो। केहीबेरमा नेपाल प्रहरी पनि निर्माणस्थल पुगेपछि महानगर प्रहरी र समर्थकहरू बाहिरिएका छन्। 

महानगरका प्रवक्ता भन्छन्– बालेन र महासेठलाई नै सोध्नुस्
यस विषयमा जिज्ञासा राख्दा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने अनौठो जवाफ दिए। उनले यो विषय मेयर शाह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीचकै भएको तर्क गरे।

‘यो कुरा हामी केटाकेटीलाई नसोधे हुन्छ, बालेन र महासेठलाई नै सोध्नू,’ उनले भने। 

साथै, आफूहरूसँग महानगरले कुनै समन्वयन नगरेको गुनासो उनको थियो। ‘हामीलाई कुनै समन्वय नै गर्दैनन्। के गर्ने भन्ने हामीलाई पनि थाहा हुँदैन,’ उनले सोमबार दिउँसो भने।

केहीदिनअघि मेयर शाहले भौतिक पूर्वाधारमन्त्री महासेठकै नाम लिएर कलंकी–महाराजगन्ज सडक विस्तार नभएको तर न्युरोडको काम रोक्न थालेको भन्दै रोष प्रकट गरेका थिए।

दीर्घकालीन योजना नबनाए घर भत्किने स्थानीयको चिन्ता
न्युरोडका स्थानीयले काठमाडौँ महानगरका मेयर शाहले सडक विभागसँग समन्वय नगर्दा जुँगाको लडाइँ बनेको बताएका छन्। 

स्थानीय गणपतिलाल श्रेष्ठका अनुसार, सडक विभागमाताहत पर्ने सडक भनेपछि समन्वय नगर्दा समस्या देखिएको हो। उनले न्युरोड क्षेत्र कस्तो बनाउने भन्नेबारे दीर्घकालीन योजना नबनाई फुटपाथ मात्रै बढाएर समास्या समाधान नहुने तर्क पेस गरे।

‘न्युरोड क्षेत्रलाई कहिले भेहिकल फ्रि क्षेत्र भनेको छ, कहिले फुटपाथ बढाएर सडक साँघुरो बनाउने भनेको छ,’ श्रेष्ठ भन्छन्, ‘न्युरोडमा सडक साँघुरो बनाएर जाम हुँदा पूरै क्षेत्र अस्तव्यस्त हुन्छ। दीर्घकालीन योजना बनाएर मात्रै काम गर्नुपर्छ।’

काठमाडौँ महानगरपालिकाले नयाँ सडक क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोधसमेत गरेका छन्।

स्थानीयले ‘नयाँ सडक बचाऔँ’, ‘न्युरोड साँघुरो गर्न पाइँदैन’ जस्ता नारा लेखिएका तुल बोकेर न्युरोड गेटदेखि विरोध प्रदर्शन गरे। जुद्ध शालिकमा अझै पनि ब्यानर टाँगेर विरोध गरिरहेका छन्। 

स्थानीयले गत हप्ता न्युरोड गेटबाट जुद्ध शालिकसम्म दायाँबायाँ उभिएर महानगरले निर्माण गर्न लागिएको फुटपाथको चौडाइको आकार बनाएरै प्रदर्शन गरेका थिए। 

‘अहिले सडक साँघुरो बनाइरहेको छ। पछि अर्को आएर सडक साँघुरो भयो, घर नै भत्काउनुपर्छ भन्ला,’ कालोपत्रे भैरहेको ठाउँमा भेटिएका एक स्थानीय भन्छन्, ‘न्युरोडको समस्या कसरी समाधान गर्ने भन्ने समग्र रूपमा सोच्नुपर्छ।’

तत्कालीन भूकम्प पुनःनिर्माण प्राधिकरणले काठमाडौँ महानगर क्षेत्रमा खुला क्षेत्र, पार्किङ, न्युरोडमा गाडीमुक्त बनाउने गरी अवधारणामा डिजाइन तयार गरेको थियो।

उक्त योजनाअनुसार टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ बनाउने र टुँडिखेलदेखि न्युरोड क्षेत्रसम्म यात्रु आवतजावतलाई सहज बनाउने उल्लेख छ।

तर योजना कसरी अगाडि बढाउने विषयमा कसैले ध्यान दिएन। महानगरले फुटपाथ ठूलो बनाउने योजना त बनायो तर संघीय सरकारसँग समन्वय नगर्दा तत्कालका लागि अलपत्र पर्ने देखिएको छ। 

२ करोड ५६ लाखमा लागेको थियो ठेक्का
नयाँ सडक क्षेत्रमा पहिले सवारी पार्किङ गर्ने गरिएको भागबाट पार्किङ प्रयोजन हटाएपछि त्यो भाग पैदलयात्रीका लागि उपलब्ध गराउन खोजेको थियो।

नयाँ सडकको मर्मत गर्ने, सुधार गर्ने, सडक कालोपत्रे गर्ने काम पहिले पनि महानगरपालिकाले गरिरहेको थियो। पैदलयात्रीको सुरक्षाका लागि बार महानगरपालिकाले नै राखेको थियो। 

उक्त क्षेत्रमा पूर्वधार निर्माणको काम महानगरपालिकाले गर्दै आएको जनाएको छ। उक्त क्षेत्र भएर बग्ने ढल पनि महानगरपालिकाले नै राखेको हो।

‘पूर्वाधार निर्माण र सहरी सुविधा वितरणका लागि यस अघि पनि काम गरिसकेको क्षेत्रमा अहिले पैदल मार्ग सुधार गर्ने योजनाअन्तर्गत काम हुन लागेको हो,’ महानगर सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले भने।

उनका अनुसार, योजना कार्यान्वयन गर्ने सन्दर्भमा सडक विभागलाई डिजाइनसमेत संलग्न राखेर २०८० असोज ४ गते पत्राचार भएको थियो।
पैदलमार्ग सुधार गर्दा आवागमन, व्यापार तथा स्थानीय सहजतालाई कुनै पनि असर नगर्ने उनले बताएका छन्। ‘जहाँ पैदलयात्रा धेरै हुन्छ, त्यो ठाउँको जीवन्तता अझ थपिन्छ। व्यापार झन् बढ्छ,’ शाक्यले भने। 

योजनाअनुसार नयाँ सडक, धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडक खण्डका पैदल मार्ग फराकिला बनाउने योजना रहेको छन्। यी क्षेत्रहरू वडा २२, २३ र २४ मा पर्छन्। 

काठमाडौँ महानगरले आरोग्य साइटेक जेभीलाई २ करोड ५६ लाख रुपैयाँमा ठेक्का लगाएको थियो। अब यो ठेक्का के हुन्छ भन्ने प्रश्न उब्जिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .