हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर क्रस–होल्डिङ रहेको भन्दै विगत केही वर्षदेखि मर्जरको सम्झौताको विषयमा वित्तीय क्षेत्रमा चर्चा हुने गरेको थियो।
त्यसकारण पनि यी दुई बैंकको जोडी टिक्न सक्ने भन्दै चर्चा भएको थियो। २०७८ वैशाखमा यी दुई बैंकहरुबीच मर्जर सम्झौता समेत भयो। यो जोडी नेपाल राष्ट्र बैंकले नै जुटाइदिएको पनि भनियो।
अध्यक्ष इन्भेष्टमेन्ट बैंकले राख्ने र सीईओ हिमालयन बैंकको तर्फबाट हुने भन्ने सम्झौता भएको थियो। सेयरको स्वाप रेसियो १ अनुपात १ हुने प्रारम्भिक सम्झौता भएको थियो। तर यी दुई बैंक मर्जरमा जान सकेनन्। मर्जरको धेरै प्रक्रिया अघि बढिसके पनि हिमालयन बैंकको साधारणसभाले मर्जर प्रस्ताव फेल भयो।
सम्पत्ति तथा दायित्व मूल्याङ्न समेत भएको थियो। तर इन्भेष्टमेन्ट बैंकको केही थप दायित्व रहेको भन्दै हिमालयन बैंकले १ अनुपात १ को स्वाप रेसियोमा जान नसकिने निर्णय गर्यो। त्यसपछि इन्भेष्टमेन्ट बैंकले नयाँ जोडीको रुपमा मेगा बैंकलाई खोजेको थियो।
हिमालयन र इन्भेष्टमेन्टको मर्जर टुट्नुको कारण के थियो?
इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको प्रक्रिया निकै अगाडि बढिसकेको थियो। २०७८ असोजमा हिमालयन बैंकको नेतृत्व परिवर्तन भयो। त्यसपछि यी दुई बैंकबीच मर्जर टुटेको थियो।
प्रचण्डमान श्रेष्ठ अध्यक्ष भएपछि उनले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान नसकिने अडान लिएका थिए।
हिमालयन बैंकको लगानी ग्रुप र इभेष्टमेन्ट बैंकको लगानी ग्रुपबीच पारिवारिक सम्बन्ध रहेको भन्दै उनले मर्जरमा जानै नहुने अडान लिएका थिए।
साथै उनले इन्भेष्टमेन्ट बैंकसँग अतिरिक्त दायित्व समेत अर्थात् महालेखा परीक्षकको रिपोर्टले सरकारलाई तिर्नुपर्ने बक्यौता कायम रहेको देखाएको भन्दै उनले मर्जरमा जान नहुने अडान लिएका थिए। उनको अडानलाई साधारणसभाले साथ दिएको थियो। त्योसँगै दुई बैंकबीचको मर्जर टुटेको थियो।
टुटेको सम्बन्ध मेगासँग जोडियो
हिमालयनसँगको मर्जर असफल भएसँगै उसले मेगालाई मर्जर पार्टनर पाउन सफल भएको हो। दुई बैंकको मर्जरमा जाने मुख्य आधार नै सेयर स्वामित्वमा भएको सहमति थियो।
सेयर स्वामित्व यी दुई बैंकबीच इन्भेष्टमेन्ट बैंकको १०० बराबर मेगा बैंकको ९० को मूल्याङ्कन सहमति थियो। इन्भेष्टमेन्टको सेयर १०० मानिँदा मेगाको सेयर ९० कायम हुनेछ अर्थात् १००ः९० को रेसियोमा अघि बढ्ने सहमति जुटेको छ।
दुई बैंकबीच गत जेठ अन्तिममा मर्जर सम्झौता भएको थियो। सोही सम्झौतामा आधारित भएको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक बुधबारदेखि एक भएका हुन्। यी दुवै बैंक गाभिएर एकीकृत कारोबार सुरु समेत गरेका छन्। बुधबार ठमेलमा आयोजित एक कार्यक्रममा औपचारिक एकीकृत कारोबार सुरु गरिएको हो।
चुक्ता पुँजी ३४ अर्ब पुग्यो
बैंक एक भएपछि कुल चुक्ता पुँजी ३४ अर्ब १२ करोड पुगेको छ। अब बैंकको निक्षेप रकम ३६० अर्ब र कर्जा लगानी ३ सय २९ अर्ब पुगेको छ। कुल शाखा सञ्जाल २९६ हुँदा एटीएम २७९, अतिरिक्त काउन्टर ५९ र ग्राहक संख्या ३० लाख भएको छ।
केन्द्रीय कार्यालय साबिकको इन्भेष्टमेण्ट बैंकको दरबारमार्ग हुँदै छ। मर्जरपछि बैंकको अध्यक्ष इभेष्टमेन्ट बैंकले पाएको छ। जसअनुसार पृथ्वीबहादुर पाँडे अध्यक्ष चयन भइसकेका छन्। त्यस्तै बैंकको सीईओ समेत इन्भेष्टमेन्ट बैंकले नै पाएको छ। ज्योति प्रकाश पाण्डे सीईओ भएका छन् भने डेपुटी सीईओमा मेगा बैंकको तर्फबाट महेश शर्मा ढकाल डेपुटी सीईओ भएका हुन्।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष पाँडेले यो मर्जर आफूमा महत्वपूर्ण रहेको बताए। उनले भने, ‘मेगा बैंकलाई आज भन्दा ८÷९ वर्ष अघिदेखि मर्जरको लागि ताकेता गरेका थियौँ। त्यतिबेला मर्जरको विषय उठाउन सम्भव भएको थिएन। तर आज सम्भव भयो। खुसी लागेको छ।’
Shares
प्रतिक्रिया