नेपाली व्यवसायीहरुले छ वर्षपछि भारतको ठूला नोट चल्तीमा ल्याउन माग गरेका छन्।
आगामी वर्षको नीति तथा कार्यक्रम तयार गरिरहेको सरकारसँग उनीहरुले भारु पाँच सय र दुई हजारका नोट चल्तीमा ल्याउन माग गरेका हुन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छ वर्षअघि (२०१६ नोभेम्बर ८ मा) पाँच सय र हजारका नोट बन्द गराएका थिए। त्यस बेलादेखि नेपालमा एक सय भारतीय नोट मात्रै चल्तीमा छ । त्योभन्दा माथिका नोट नेपालमा चल्दैन।
भारतीय नोट चलाउन नमान्नुको पछाडि नेपालको विषय पनि जोडिएको छ। नेपालमा पनि बन्द गराउनु अघिदेखि नै भारतीय नोट रहेका थिए।
तर त्यो नोट साटिदिन भारतले अहिलेसम्म पनि कुनै चासो नै देखाएको छैन। नेपालले प्रयास गरे पनि भारतले नै चासो नदिँदा समस्या भएको राष्ट्र बैंकका एक निर्देशकले बताए।
उनले नेपालखबरसँग भने, ‘नेपालले नोट सटहीका लागि ठूला अधिकारीहरुको भारत भ्रमणमा हुँदा होस् वा विभिन्न फोरमहरुमा आग्रह गरेको थियो। तर त्यसको सुनुवाइ भारतले गरेको छैन।’
त्यसैलाई विषय बनाएर ठूलो नोट चल्तीमा नल्याए पनि यो कुरा पनि जोडिने ती निर्देशकको भनाइ छ।
राष्ट्र बैंकसँग पनि भारतीय नोट कति छन् भन्ने यति नै प्रमाण त छैन। तर बैंकिङ प्रणालीमा छ करोड रुपैयाँ रहेको छ।
अनौपचारिक क्षेत्रमा पनि ठूलो रकम हुनसक्ने विषय राष्ट्र बैंकले नोटबन्दीको समयमा उठाएको थियो। हाल अनौपचारिक क्षेत्रमा त्यो पैसा छ वा छैन भन्ने विषयको जानकारी कसैसँग पनि छैन।
भारतले पनि एक हजारको नोट अहिले चलनमा नरहेकाले भारतमा अवैधानिक रुपले पुग्यो भन्ने बाटो समेत छैन।
छ वर्षदेखि त्यो पैसा त्यतिकै बसिरहेको आकलन छ।
तर यो वर्ष व्यवसायीहरुले भने चर्को रुपमा भारतको ठूलो नोट चल्तीमा ल्याउन माग गरेका छन्। आगामी आर्थिक वर्षको बजेटको लागि सुझाव दिने क्रममा व्यवसायीहरुले यस विषयलाई जसरी पनि सल्टाउनुपर्ने माग गरेका छन्।
अर्थमन्त्री जनार्दन शर्मासँग उनीहरुले यो विषय सुनुवाइ गर्न जोडतोडले आग्रह गरेका छन्।
व्यवसायीहरु नेपालले वस्तु व्यापार गर्न ठूला नोट चल्तीमा हुँदा वा नहुँदा कुनै असर नहुने बताउँछन्। नेपालको वैदेशिक व्यापारको सबैभन्दा ठूलो साझेदार देश भारत भए पनि वस्तु व्यापारमा असर नगरेको उनीहरुको भनाइ छ।
तर पनि उनीहरुले नोटसम्बन्धी विषय जसरी पनि सल्टाउनुपर्ने माग राखिरहेका छन्। उनीहरुका अनुसार मुख्यतया पर्यटन क्षेत्रमा त्यसको प्रत्यक्ष असर देखिनथालेको छ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ भारतबाट नेपालमा अहिले पर्यटकहरु बढिरहेकोले पनि ठूला नोट चल्तीमा ल्याउनुपर्ने बताउँछन्।
‘कतिले क्रेडिट कार्ड ल्याउँछन्, कतिले नोट पैसा नै बोकेर आइरहेका छन्’, उनले भने, ‘ठूला नोट बोकेर आउनेहरुले गर्दा बजारमा समस्या भएको छ।’
उनका अनुसार पछिल्लो समय पर्यटकीय चहलपहल बढिरहेको छ। भारतीयमार्फत भित्रिने पैसा वैधानिक भए पनि ठूला नोट नेपाल भित्र्याएर नेपाली बजारमा पुग्दा आफैँमा अवैधानिक भइदिन्छ। त्यसकारण पनि ठूला नोट चल्तीमा ल्याउनुपर्ने उनको धारणा छ।
निजी क्षेत्रले नेपाल र भारतको खुल्ला सिमाना रहेकोले सीमावर्ती क्षेत्रमा यो ठूलो समस्या देखिएको बताएको छ।
यति मात्रै नभई भरतमा गएर नेपाल फर्किने श्रमिकहरुले समेत यो समस्या भोगेका छन्। भारतमा गएर श्रम गरेर नेपाल फर्किनेहरु प्रायः नोट नै बोकेर आउँछन्।
उपाध्यक्ष श्रेष्ठले भने, ‘वैधानिक प्रणालीबाट नेपाल भित्रिरहेको पैसा समेत नेपालमा आएपछि अवैधानिक जस्तो हुने गरेको भन्दै निजी क्षेत्रले यसको माग उठाएको हो। भारतमा अहिले एक हजारको नोट त चल्तीमा छैन तर पाँच सय दुई हजारको नोट पनि चल्नुपर्छ भन्ने हो। नेपाल सरकारले भारतले छ करोड रुपैयाँ नछापिएको भन्दै नसाटेको देखाएको छ। त्योभन्दा ठूलो रकमको व्यवसायमा गुमाइरहेको छ।’
यसबाहेक सीमावर्ती क्षेत्रमा नेपाली होटलहरु छन्। मनोरञ्जन गर्नेदेखि अन्य प्रयोजनका लागि समेत भारतीयहरु आउने गरेका छन्। यस्तोमा उनीहरुले क्यास ल्याएको खण्डमा समस्या हुने गरेको छ।
कोरोनाले थलिएको नेपालको पर्यटन क्षेत्र अहिले माथि जान थालेको अवस्थासँगै नेपालको विदेशी मुद्रा सञ्चिति घटिरहँदा यो निर्णय लिन ठीक हुने उपाध्यक्ष श्रेष्ठ बताउँछन्।
नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको छ।
कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत छ। यस्तो अवस्थामा ठूला नोट चल्तीमा ल्याउँदा सरकारलाई सहयोगी हुने उपाध्याक्ष श्रेष्ठको भनाइ छ।
त्यस्तै, यो वर्ष भारतीय पर्यटकको उत्साहजनक सहभागिता हुनथालेको देखिएको छ। मार्च महिनामा मात्रै १५ हजार भारतीय पर्यटकहरु आएको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ। ठूला नोट चल्तीमा आए उनीहरुलाई पनि सहज हुने देखिन्छ।
Shares
प्रतिक्रिया