राष्ट्रिय वाणिज्य बैंकले रुपन्देहीको बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा ५२औँ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्र शुभारम्भ गरेको छ।
एक्सटेन्सन काउन्टरको उद्घाटन बुटवल उप महानगरपालिका का प्रमुख खेलराज पाण्डेले गरेका हुन्।
कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल बजार व्यावसायिक क्षेत्र भएकाले काउण्टरबाट सरकारी कारोबारलगायत व्यावसायिक कारोबार समेतको माग रहेको बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा कार्यलयहरुबाट समेत राजस्व सङ्कलन गर्ने योजना रहेको बताए।
शाखा कार्यालय बुटवलमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिनेछ।
बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिनेश गौतमको सभापतित्वमा भएको कार्यक्रममा उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले स्वागत मन्तब्य तथा उप प्रबन्धक जितेन्द्रसिंह थापाले कार्यक्रम सञ्चालन गरेका थिए।
सो अवसरमा विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी, उद्योग वाणिज्य महासंघ बुटवलका अध्यक्ष उज्वल कसजु, शाखा कार्यालय बुटवलका शाखा प्रबन्धक सुरेन्द्र यादब, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ छ।
Shares
प्रतिक्रिया