चौधरी ग्रुपले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग सञ्चालन गर्ने भएको छ।
ग्रुपले सीजी स्न्याक्स प्रालि उद्योग स्थापनाको काम सुरु गरेको हो।
उद्योग स्थापना गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा उद्योग दर्ता भई सञ्चालन अनुमति लिएको ग्रुपले जनाएको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा उक्त उद्योग दर्ता नं. ३०१७०४/०७९/०८० रहेको छ। उद्योग स्थापनाका लागि ग्रुपले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा करिब पाँच बिघा जग्गा खरिद गरेर उद्योग स्थापनाको काम थालेको छ।
चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले उद्योगको शिलान्यास गरी तत्काल निर्माणको काम सुरु गर्ने तयारी गरेका थिए।
तर यस विषयलाई नवलपरासी १ बाट उम्मेदवार रहेका जनता प्रगतिशील पार्टीका नेता हृदयेश त्रिपाठीले अवरोध गरेका छन्।
त्रिपाठीले यहाँ उद्योगको शिलान्यास गर्न नदिन प्रशासनसँग हारगुहार गरेका छन्।
शिलान्यास गरिए त्यसको अवरोध गर्ने र चुनाव बिथोल्ने समेतको धम्की दिएको प्रशासन स्रोतले जानकारी दिएको छ।
उद्योग खोल्न अवरोध गरेर त्रिपाठीले आफ्नो विकासविरोधी चरित्रलाई थप उदांगो बनाएको स्थानीयको भनाइ छ।
सुस्ता गाउँपालिका वडा नम्बर ४ का प्रमोद पाण्डेले भने, ‘उहाँले आफू पनि केही गर्नुभएन र अरुलाई पनि गर्न दिन्न भन्नु आपत्तिजनक छ। हामीलाई यही रोजगारी पाउने वातावरण बनाउने राजनीति चाहिएको हो।’
यहाँ रोजगारको अवसर उपलब्ध नभएपछि लुम्बिनी प्रदेशमै यस क्षेत्रबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीमा गएका छन्।
प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का हरिजन चौधरीले भने, ‘अहिले हरेक घरघरमा हेर्ने हो भने युवाहरु सबै विदेश छन्। लुम्बिनी प्रदेशमा सबैभन्दा बढी विदेश जानेमा यो जिल्ला नै पर्छ। यही उद्योग खुल्छ भने किन विरोध गर्ने? कि विरोध गर्नेले हामीलाई रोजगारीको व्यवस्था मिलाउनुप¥यो।’
चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले उद्योग विस्तार गर्ने काम तत्कालका लागि अवरोध गरिए पनि निर्वाचनलगत्तै अगाडि बढाइने बताए।
‘यस क्षेत्रलाई हामीले औद्योगिक पार्कका रुपमा विकास गर्नेछौँ। यहाँ अन्य उद्योगहरु पनि विस्तार हुँदै जानेछन् जसका कारण धेरैभन्दा धेरै युवाहरुका लागि रोजगारीका अवसर र किसानका लागि उचित मूल्य पाउने वातावरण तयार हुनेछ।
Shares
प्रतिक्रिया