केही दिनअघि भारतीय धनाढ्य मुकेश अम्बानीले आफ्ना छोरा अनन्त अम्बानीको प्रि–वेडिङ समारोहलाई भव्य बनाए।
संसारका धनाढ्यलाई निम्त्याइएको उक्त समारोहमा बिल गेट्सदेखि मार्क जुकरबर्गसम्म उपस्थित भए।
समारोह आफैँमा भव्य र विशाल त थियो नै यससँग जोडिएका अन्य धेरै विषयहरुले पनि राम्रै चर्चा पाए। तिनैमध्ये अनन्त अम्बानीको महँगो घडीले राम्रै चर्चा बटुलेको थियो।
यतिसम्म कि फेसबुकका मालिक मार्क जुकरबर्गको जोडीले अनन्तको घडीमा विशेष रुचि राखेको थियो। खासगरी घडीको मूल्यलाई लिएर विशेष चर्चा भएको थियो।
तर भारतीय मिडियाहरुका अनुसार समारोहमा अनन्तको भन्दा महँगो घडी बलिउड हस्ती सलमान खानले पहिरिएका थिए।
अनन्तले लगाएको घडी स्विस ब्रान्ड रिचार्ड मिलेको थियो। जसको मूल्य करिब १६ करोड भारु रहेको बताइएको छ।
तर सलमानले लगाएको घडीको मूल्य नै २२ करोड भारु रहेको नवभारत टाइम्सले जनाएको छ। सलमानले लगाएको घडी द पाटिक फिलिप एक्वेनट रेनबो ल्युस मिनट रिपिटर रहेको छ।
यसलाई विश्वमै बहुमूल्य घडीमध्ये मानिन्छ। यसमा सुन, हिरालगायत बहुमूल्य धातुको प्रयोग हुन्छ। यसको मूल्य २८ लाख डलर पर्ने बताइएको छ। यसअनुसार भारतीय मुद्रामा २२ करोडभन्दा बढी हुन आउँछ।
त्यसो त सलमानलाई महँगा घडीका पारखी नै मानिन्छ। उनीसँग रोलेक्स सबमारिनर, १८के गोल्ड रोलेक्स याट मास्टर २, औडीमार्स पिजट रोयल ओक ४१ रोज गोल्ड, रोलेक्स डेटोना एल्लो गोल्ड ४०एमएम स्टिल ह्वाइट फ्याक्ट्री डायमन्ड डायल, पाटिक फिलिप ५७११ नटिलस, रोलेक्स डे डेट ३६ टर्क्वाइजलगायत छन्। यी घडीको मूल्य ७ लाखदेखि ५० लाख भारुसम्म पर्ने बताइएको छ।
Shares
प्रतिक्रिया