ad ad

कारोबार


सरकारले निर्धारण गरेको उखुको मूल्यबाट किसान निराश, सरकार उद्योगपतिको हितमा चलेको आरोप

सरकारले निर्धारण गरेको उखुको मूल्यबाट किसान निराश, सरकार उद्योगपतिको हितमा चलेको आरोप

नेपालखबर
पुस ५, २०८० बिहिबार १०:१८, सर्लाही

तराई मधेशमा उखु खेती गरिरहेका किसान सरकारले निर्धारण गरेको उखुको मूल्यबाट निराश भएका छन्। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालु सिजनको लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ कायम गर्ने निर्णय गरेको थियो। 

गत वर्ष किसानले पाएको भन्दा सरकारले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैयाँ बढाउने निर्णय गरेको छ। तर, उखु खेतीमा लागेका किसानले यो मूल्यमा चित्त बुझाएका छैनन्।

चिनीको बिक्री मूल्यको आधारमा यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्नुपर्ने माग किसानको थियो। 

चिनीको बिक्री मूल्य र उखुको उत्पादन लागतको आधारमा वैज्ञानिक ढंगले उखुको मूल्य निर्धारण गर्न माग गर्दै सर्लाहीका किसानले बिगत २ सातादेखि चरणबद्ध सडक आन्दोलन गर्दै आएका छन्। 

देशका धेरैजसो चिनी उद्योग भने सञ्चालनमा आइसकेका छन्। तर, किसानको आन्दोलनको कारण हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योग भने अझै सञ्चालनमा आउन सकेको छैन। 

सञ्चालनमा आएका चिनी उद्योगले पनि उखु क्रसिङपछि किसानलाई दिने नेट पुर्जीमा उखुको मूल्य खाली राख्ने गरेका छन्। 

सरकारले किसानका कुरै नसुनी उद्योगीको प्रभावमा परेर उखुको मूल्य निर्धारण गरेको आरोप उखु किसान संघर्ष समिति सर्लाहीले लगाएको छ। 

उखुको न्यायोचित मूल्य माग गर्दै सडक संघर्ष गर्दै आएका सर्लाहीका किसानले आज पनि इन्दु शंकर चिनी उद्योग नजिकै रहेको पूर्वपश्चिम राजमार्गमा बिहान ११ बजे चक्काजाम गर्दैछन्। 

उखुको मूल्यको विषयमा सरकारले किसानसँग छलफलै नगरी उद्योगपतिका मात्रै कुरा सुनेर मूल्य निर्धारण गर्नु दुःखदायी भएको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले बताए। 

‘सरकारले उद्योगपतिको प्रभावमा परेर उखुको मूल्य निर्धारण गरेको छ, हामी यो मूल्यलाई मान्दैनौँ,’ अध्यक्ष उप्रेतीले नेपालखबरसँग भने, ‘उखुको मूल्य ६३५ रुपैयाँ तोक्ने सरकारले चिनीको मूल्य पनि तोक्नुपर्छ।’

उनले अहिले उद्योगीले चिनी प्रतिकिलो एक सय रुपैयाँ भन्दा बढी मूल्यमा बेचिरहेको अवस्थामा उखुको मूल्य ६३५ निर्धारण हुनु खेदजनक भएको बताए। 

‘सरकारले निर्धारण गरेको उखुको मूल्य चिनी प्रतिकिलो ८० रुपैयाँमा बेच्दाको हो। यदि उद्योगीले चिनी ८० रुपैयाँ प्रतिकिलोले बेच्छन् भने हामी सरकारले निर्धारण गरेको मूल्यलाई मानौँला। उद्योगीले चिनी किलोको एक सयमा बेचिरहेको अवस्थामा उखुको मूल्य भने त्यसअनुसार वृद्धि नगर्ने कुरा हामीलाई मान्य हुँदैन।’

उनले उद्योग र कृषि मन्त्रालयले उद्योगपतिको सेटिङमा किसानलाई हतोत्साहित बनाउने ढंगले उखुको मूल्य निर्धारण गरेको आरोप लगाए।  

सरकारले निर्धारण गरेको मूल्य र आन्दोलनको विषयमा छलफल गर्न अहिले किसान प्रतिनिधिको सर्लाहीमा बैठक बसिरहेको छ। 


 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .