हङकङमा सामूहिक उद्यममा परिचित नेपाली उद्यमीहरुको समूह ‘ग्लोबल नेपाल हङकङ’ ले नेपालमा पनि आफ्नो ब्यावसायिक सेवा विस्तार गरेको छ।
हङकङको श्रमबजारबाट आर्जन गरेको कमाईलाई एक ठाउँमा जम्मा गरि त्यो रकम ब्यापार–व्यवासायमा लगानी गर्न खोलिएको ग्लोबल नेपाल हङकङले जोरपाटीमा ‘इस्ट–वेस्ट फास्टफुड एण्ड बार‘ संचालन गरेको हो।
कलाकार दयाहाङ राईले १३ असारमा उद्घाटन गरेपछि फास्टफुड औपचारिक रुपमा प्रारम्भ भएको हो।
नेपाली ग्राहकलाई चिनियाँ परिकारको स्वाद दिन यो रेष्टुरेन्ट खोलिएको यसका नेपाली सञ्चालक जसबहादुर ओख्राबुले बताए।
‘हामीले नेपाली फुड एण्ड बेवरेज बजारको राम्ररी अध्ययन गरेर यो फास्टफुड खोलेका हौँ’, उनले भने।
यो फास्टफुडमा विशेष मेशिनमा चिनियाँ शैलीमा फ्राई गरिएको बंगुर, हाँस, कुखुरा र माछाको परिकार बनाई सर्ब गरिन्छ।
हङकङ र चीनमा त्यहाँका स्थानीयबीच निकै लोकप्रिय यस्तो परिकारलाई नेपालीमाझ चिनाउन हङकङबाट काठमाडौं आइपुगेका लगानीकर्ता मध्येका एक वसन्त राई भन्छन्, ‘नेपालमा नयाँ भए पनि छिटै नेपाली मेनुमा चिनियाँ परिकारका यी स्वाद पनि जोडिनेमा हामी ढुक्क छौँ।’
हङकङमा लामो समय फुड एण्ड बेवरेज उद्योगमा संलग्न वसन्तको नेतृत्वमा ग्लोबल नेपाल हङकङले जोर्डनमा ‘जी–५०’ नामक रेष्टुरेन्ट संचालन गर्दै आइरहेको छ। जुन स्थानीय चिनियाँमाझ पनि लोकप्रिय छ।
सुरुमा ५० जनाको समूहबाट सुरु भएको ग्लोबल नेपाल हङकङले हरेक महिना निश्चित रकम जम्मा गर्ने गर्छ। जसलाई ब्यापार ब्यवसायमा लगानी गरिन्छ।
चिनियाँ स्वादलाई सुरुमा काठमाडौं उपत्यकाभर फैल्याउन ठाउँ-ठाउँमा आउटलेट खोल्ने योजनामा बनाइरहेको यो समूहले त्यही बमोजिम अध्ययनमा लगानी गरिरहेको छ।
देशको अर्थतन्त्र बिग्रिएको अवस्था भए पनि हङकङको श्रमबजारबाट जम्मा भएको सामूहिक लगानी नेपालमा लगानी गर्दा राम्रो प्रतिफल दिने विश्लेषणमा ग्लोबल नेपाल हङकङ अन्य क्षेत्रमा पनि लगानी बढाउने योजनामा छ।
राई भन्छन्, ‘हाम्रो समूहले नेपालमा प्रारम्भ गरेको लगानीले हङकङमा राम्रो प्रभाव परेको छ। हामी जस्ता अन्य समूहहरु पनि लगानी ल्याउन इच्छुक देखिन्छन्।’
भिडिओ
प्रतिक्रिया