नेपाल–चीन मुख्य नाका रसुवागढी र तातोपानी बन्द हुँदा चाडबाड महंगिने भएको छ।
नाका बन्द भएर वस्तु आयात नै रोकिँदा लागत बढ्ने भएपछि त्यसको असर उपभोक्तासम्म पुग्ने भएको हो।
साउन २५ देखि चीनले पूर्ण रुपमा नेपालसँग जोडिएका रसुवागढी र तातोपानी नाका बन्द गरेको छ।
नाका के कारणले कहिलेसम्म बन्द भएको हो भन्ने नेपाली पक्षले आधिकारिक जानकारी पाएको छैन। तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार कहिले खुल्छ भन्ने जानकारी चिनियाँ पक्षबाट आएको छैन।
उनले भने, ‘चीनले २५ गतेदेखि आवतजावतमा रोक लगाएको हो। त्यसयता कुनै खबर गरेको छैन। तिब्बतमा कोरोना संक्रमण बढेको भन्ने सूचना छ। त्यही कारण रोकेको हो वा अन्य कुनै कारण हो, आधिकारिक जानकारी छैन।’
२५ गतेअगाडि पनि पूर्ण रुपमा नाका खुलेको थिएन। तर आंशिक रुपमा वस्तु आयात भइरहेको थियो। व्यापारीहरुले पालो पर्खेर वस्तु आयात गर्ने गरेका थिए।
पूर्णरुपमा रोकिँदा नजिकिएका सबै चाडपर्वलाई असर गर्ने व्यवसायीहरुले बताएका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले चीनबाट सबैभन्दा धेरै सामान यही सिजनमा आयात हुने गरेको बताए।
‘तर यही समयमै नाका बन्द हुँदा व्यापारीलाई ठूलो मार परिसकेको छ। त्यसको असर अब उपभोक्तासम्म आउने देखिँदै छ’, श्रेष्ठले नेपालखबरसँग भने।
दसैँमा नै नेपालमा सबैभन्दा धेरै वस्तु नेपालमा खपत हुन्छ। यो बेला चिनियाँ वस्तुको धेरै माग हुने गरेको छ। दैनिक प्रयोग हुने सानाठूलाका लत्ता कपडादेखि केही खाद्यान्नका वस्तुहरु हरेक वर्ष अर्बौँ रकममा चीनबाट आयात हुन्छ। दसैँ आउन डेढ महिना बाँकी हुँदा नाका बन्द हुनुले समग्र बजारमा नै असर गर्ने उनको भनाइ छ।
त्यस्तै संघका महासचिव भरत कार्कीका अनुसार आगामी हप्ता आइरहेको तीजलाई पनि चिनियाँ नाका बन्दले ठूलो असर गरिसकेको छ।
उनले भने, ‘चीनबाट तीजको लागि सुरुवाल, लेगिन्सलगायतका महिलाले पहिरिने कपडाहरु धेरै परिमाणमा आउँदै थिए। २५ गतेदेखि पूर्णरुपमा नाका बन्द हुँदा ती सामानहरु रोकिएका छन्, अहिले ती सामानहरुको अभाव छ।’
चीनले नाका बन्द गर्दा तीजमा एक खालको असर गरिसकेको उनको भनाइ छ।
अब दसैँलाई समेत ठूलो असर गर्ने उनले जानकारी दिए। दसैँको लागि सामान आयात सुरु भइसकेको छ। दसैँको लागि पनि चीनबाट लत्ताकपडा, घडी, जुत्ताजस्ता सामानहरु ठूलो परिमाणमा आउँछन्।
नेपालमै बन्ने जुत्ताका कच्चा पदार्थ समेत चीनबाट आउँछ। अब ती सामानहरुमा उच्च मूल्यवृद्धि हुने उनको भनाइ छ।
मूल्यमा असर
महासचिव कार्कीका अनुसार वस्तु लोड भएर हिँडेको धेरै सामानहरु रोकिएका छन्। त्यसको गोदाम भाडा तिर्नुपर्ने हुन्छ। वस्तु लामो समय रोकिएपछि त्यो बिक्री हुन पाउँदैन।
यता बैंकको ब्याजदर वृद्धि हुँदै जान्छ। त्यसले आयात गर्ने व्यापारीको लागत बढ्छ। बढेको लागत उपभोक्ता मूल्यमा जोडिन्छ। जसकारणले अब वस्तु आयात पनि महंगिएर बजारमा सर्कुलेसन हुने उनको भनाइ छ।
अन्य बजारबाट आएका वस्तुहरु बजारमा कम हुने भएको पनि आफैँमा समग्र वस्तुहरुको मूल्यवृद्धि हुने निश्चित भएको उनको भनाइ छ।
सरकारसँग अपिल गर्दै व्यापारी
व्यापारीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग नाका खुलाउने पहल गरिदिन अग्रह गरिरहेका छन्।
चाडबाडको मुखमा व्यापारीहरुले सामान आयत गर्न नपाएपछि चीनसँगको नाका जसरी पनि खुलाउने कोशिस गर्न आग्रह गरेका हुन्।
अध्यक्ष श्रेष्ठले भने, ‘हामीले नाका खाुलाउन माग गर्दै आएका छौँ। आपूर्ति मन्त्रीलाई समेत भेटेर गुनासो गर्ने कार्यक्रम बनाएका छौँ।’
दसैँ आउन डेढ महिना मात्र बाँकी छ। अब १५ दिनमा नाका खुलेको खण्डमा व्यापार केही सहज हुन्छ। अन्यथा व्यापारीहरुलाई घाटा र उपभोक्तालाई मार पर्ने देखिएको उनले बताए।
Shares
प्रतिक्रिया