नेकपा एमालेका नेता तथा सांसद रघुजी पन्तले सर्वोच्च अदालतमा दुर्गा प्रसाईंका अंगरक्षकले हतियारसहित प्रवेश गरेकोबारे संसदीय समितिमा प्रश्न उठाएका छन्।
राज्यव्यवस्था समितिको बुधबारको बैठकमा सांसद पन्तले उक्त हतियार राख्ने अधिकार कहाँबाट आएको भनी सरकारसँग प्रश्न गरेका हुन्।
आजको बैठकमा गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई डाकिएको छ।
पन्तले भने, ‘सर्वोच्च परिसरमै दुर्गा प्रसाईंका बडिगार्डको हतियार भेटियो। दुर्गा प्रसाईलाई त्यस्तो हतियार राख्ने अधिकार कहाँबाट आयो?’
उनले यस्ता हतियार राज्यभित्र कतिलाई दिइएको छ भन्दै प्रश्न गरे।
‘प्रसाईलाई जुन हतियार दिइयो त्यो हेर्दा यसमा पुनर्विचार गर्नुपर्ने देखियो। त्यो नीति परिमार्जन गर्ने केही छ कि छैन?’, पन्तको प्रश्न थियो।
उनले व्यक्तिले हतियार राख्नेबारे सरकारको नीति स्पष्ट पार्न गृहमन्त्री लामिछानेसँग आग्रह गरे।
‘हाम्रो सेक्युरिटी अवस्था के हो? सुरक्षा सयन्त्र कसरी तयार राखेको छ?’, उनले सोधेका थिए।
Shares
प्रतिक्रिया