अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल फेसबुकलाई ‘जनताको शत्रु’का रुपमा टिप्पणी गरेका छन्। यसले वाल स्ट्रिटका केही सेयर कारोबारीलाई चिन्तित बनाएको सीएनएनले जनाएको छ।
ट्रम्पको टिप्पणीलसँगै फेसबुकको स्वामित्वकर्ता मेटा प्लेटफर्मको सेयरमा सोमबार गिरावट देखिएको थियो। मेटाको सेयर ४ प्रतिशतले घटेको हो। कारोबार अवधिमा पछि पुनः मेटाको सेयर १.२ प्रतिशत सुधार भएको थियो।
गत बिहीबार बेलुकायता ट्रम्पले फेसबुकविरुद्ध विभिन्न आरोप लगाइरहेका छन्। योसँगै मेटाको बजार मूल्यांकन ६० अर्ब डलरभन्दा बढीले घटेको सीएनएनले उल्लेख गरेको छ।
ट्रम्प यसपटक पनि राष्ट्रपतीय चुनावका प्रबल दाबेदार देखिइसकेका छन्। सेयर गिरावट आउनुपर्ने अन्य कुनै कारण नदेखिँदा ट्रम्पको आरोपको प्रभाव बजारमा देखिएको छ।
ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाएकोमा समेत असहमति जनाएका छन्। यसले अन्ततः मेटालाई फाइदा पुगेको उनको टिप्पणी छ। ट्रम्प र फेसबुकबीचको विवाद फेरि एकपटक सतहमा देखिएको हो। यसअघि उनको एकाउन्ट नै फेसबुकले निलम्बन गरिदिएको थियो। लामो समयपछि पुनः उनको फेसबुक एकाउन्ट खुलाइएको छ।
Shares
प्रतिक्रिया