काठमाडौं विश्वविद्यालयले हाइड्रोजन प्रयोगशाला स्थापनाको २ वर्षपछि यसको सफल उत्पादन र परीक्षण गरेको छ।
प्रयोगशालाले हाइड्रोजन उत्पादन गरी गाडीमा रिफ्युलिङ (इन्धन भर्ने)को काम सफल भएको घोषणा आइतबार गरेको हो।
सन् २०२० मा प्रयोगशाला स्थापना गरेर विश्वविद्यालयले नेपाल आयल निगमको आर्थिक सहयोगमा हाइड्रोजनसम्बन्धी अध्ययन अघि बढाएको थियो।
सो क्रममा नेपालमा हाइड्रोजन इन्धन प्रयोगका क्षेत्र र पेट्रोलियम पदार्थको विकल्पको सम्भावनाबारे अध्ययन गरिएको थियो। जसबाट सबैभन्दा बढी यातायात संसाधनको क्षेत्रमा र रासायनिक मल उत्पादनको लागि नेपालमा हाइड्रोजन उत्पादन उपयुक्त देखिएको विश्वविद्यालयको निष्कर्ष छ।
‘नेपालमा सबैभन्दा धेरै सम्भावना यातायात क्षेत्रमा देखियो’, काठमाडौं विश्वविद्यालयस्थित मेकानिकल इन्जिनियरिङ विभागका एसोसिएट प्रोफेसर डा. विराजसिंह थापाले भने, ‘डिजेलबाट चल्ने साधनलाई ब्याट्रीले प्रतिस्थापन गर्न चुनौती छ। हाइड्रोजन फ्युलले सहजै विस्थापित गर्न सक्ने देख्यौँ।’
विश्वविद्यालयले प्रयोगशाला स्थापनापछि निगमसँगको समझदारीअनुसार हाइड्रोजन प्रयोग र यससम्बन्धी कानुनी अवस्था तथा कुनै एक क्षेत्रमा यसको प्रयोगात्मक परीक्षण गर्ने कामलाई प्राथमिकता दिएको थियो। आइतबारको परीक्षण त्यसैमध्येको एक हो।
परीक्षणमा पाएको सफलतालाई विश्वविद्यालयले नेपालको लागि ऐतिहासिक फड्को मानेको छ।
कोरियाबाट गाडी ल्याएर परीक्षण
परीक्षणको लागि दक्षिण कोरियाबाट हाइड्रोजनबाट चल्ने गाडी खरिद गरिएको थियो। यसका लागि विश्वविद्यालयको एक टोली कोरिया पुगेको थियो।
सो क्रममा हाइड्रोजन उत्पादन गर्ने रिफ्युलिङ स्टेसनको एसेम्बलिङ कोरियामै गरिएको थियो। त्यसलाई नेपालमा ल्याएर सञ्चालनबारे तालिम लिएर टोली फर्किएको थियो।
हाल प्रयोगशालामा रहेको उक्त स्टेसन परीक्षण प्रयोजनको लागि मात्र भएकाले कम क्षमताको छ।
प्रयोगशालाबाट रिफ्युलिङ स्टेसन सञ्चालनको लागि कोरियाबाटै हाइड्रोजनसम्बन्धी विज्ञ नेपाल आएका थिए। सफल परीक्षणपछि उनीहरू फर्किएको विश्वविद्यालयले जनाएको छ।
अब विश्वविद्यालयका इन्जिनियरले नै स्टेसन सञ्चालन गर्नेछन्। यही स्टेसनबाट हाइड्रोजन उत्पादनसँगै गाडीमा इन्धन भर्न सकिन्छ।
केयूको ल्याबसँग ५ किलोवाटको इलेक्ट्रोलाइजर छ। यसले पानीबाट हाइड्रोजन छुट्याउँछ। जसबाट १ घण्टामा १ हजार लिटर हाइड्रोजन निकाल्न सकिन्छ।
त्यसलाई कम्प्रेसन गरी आधा किलो हाइड्रोजन बनाई हाईप्रेसर ट्यांकमा राखिन्छ। त्यसपछि ल्याबसँग भएको रिफ्युल स्टेसनबाट एकपटकमा आधा किलो हाइड्रोजन गाडीमा भर्न सकिन्छ।
विश्वविद्यालयले यही प्रक्रिया पूरा गरेको हो। यसको लागि ३ मिनेट खर्च भएको विश्वविद्यालयको भनाइ छ।
ल्याबमा भएको गाडीको ट्ंयाकी भरिन भने ६ किलो हाइड्रोजन चाहिन्छ। एक ठाउँबाट पानी हालेपछि विद्युतको प्रयोगबाट हाइड्रोजन उत्पादन भई सिधै गाडीमा हाल्न सकिने थापा बताउँछन्।
‘गफ मात्रै र सैद्धान्तिक कुरा मात्रै गरेर हाइड्रोजनमा अघि बढ्न सकिँदैन भनेरै प्रयोगात्मक रूपमा काम थालेका हौँ’, हाइड्रोजन ल्याबको नेतृत्व गरेका उनले थपे, ‘नेपाली सर्वसाधारणदेखि व्यवसायीसम्मलाई अबको भविष्य यो हो भन्ने बुझाउन खोजेका हौँ।’
काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन मनीष पोखरेलले २ वर्षको प्रयासपछि उत्पादन र परीक्षण सफल भएको बताए।
‘नेपालमा हाइड्रोजन उत्पादन गरी गाडी नै चलाइसकेका छौँ’, उनले भने, ‘यसले अरू विश्वविद्यालयलाई पनि नयाँ विषयमा अनुसन्धान गर्न प्रेरणा मिल्छ।’
काठमाडौं विश्वविद्यालयले ग्रिन इनर्जीमा कसरी काम गर्न सकिन्छ भन्ने प्रयत्नमा हाइड्रोजन उत्पादन थालिएको बताएको छ।
व्यावसायिक बनाउन गर्नुपर्ने काम
नेपालमा हाइड्रोजनमा कति अघि बढ्ने भन्ने सरकारी नीतिले फरक पार्नेछ।
सरकारले वैकल्पिक इन्धन मानेर आवश्यक कानुनी व्यवस्था मिलाउनुपर्ने हुन्छ। हाल हाइड्रोजनसम्बन्धी नीति पारित गरेर त्यो दिशामा सरकार अघि बढिसकेको छ। तर अझै धेरै काम गर्नुपर्ने देखिन्छ। अहिले हाइड्रोजन गाडी भित्र्याउन र रिफ्युलिङ स्टेसन राख्ने कानुनी व्यवस्था भएकै छैन।
नीतिगत व्यवस्थाको स्पष्टतासँगै लगानीको विषय अर्को चुनौती हुनेछ।
तर थापा भने नेपालमा हाइड्रोजनको कच्चा पदार्थको रूपमा प्रयोग हुने पानी र विद्युत् जति पनि रहेकाले लगानीमा उत्सुक रहेको बताउँछन्।
‘नेपालमा जसरी विद्युतीय गाडीको बजार हिस्सा बढ्दै गएको छ, त्यसैगरी हाइड्रोजन फ्युलमा पनि धेरैको चासो छ’, थापा भन्छन्, ‘ईभीको मार्केट पेट्रोलबाट चल्ने गाडीको विकल्प हुन्छ तर डिजेलबाट चल्ने गाडीको विकल्प हाइड्रोजन नै हो।’
विश्वबजारमा विद्युतीय गाडीहरू पेट्रोलका गाडीको विकल्पको रूपमा देखिएका छन्।
कार, जिप, भ्यानलगायत हलुका सवारी ब्याट्रीबाटै चल्न थालेका छन्। तर बस, ट्रक, टिप्परलगायत ठूला र मालवाहक सवारीसाधनलाई ब्याट्रीको क्षमताले धान्ने देखिँदैन।
त्यसैले हाइड्रोजन इन्धनमा विश्वव्यापीरूपमा अध्ययन भइरहेको थापा बताउँछन्। नेपालमा ३ खर्ब बढीको पेट्रोलियम पदार्थ आयात हुँदा करिब २ खर्बको डिजेल भित्रिन्छ।
उनी भन्छन्, ‘हामीले एक चौथाइ अर्थात् ५० अर्ब रुपैयाँबराबरको आयात मात्रै हाइड्रोजन फ्युलले विस्थापित गर्न सके पनि नेपालको सफलता हो।’
हाइड्रोजनको अध्ययन भारतमा पनि भइरहेको छ। भारतमा टाटा ग्रुपले हाइड्रोजनसम्बन्धी अध्ययनमा ठूलो लगानी गरिरहेको छ।
टाटा मोटर्सले ५५ लाख भारुको गाडीमा १५ टन वस्तु बोकेर ४५० किलोमिटर गुड्ने ट्रक तथा बस उत्पादन गरिरहेको छ। यसअनुसार १० किलो हाइड्रोजनले साढे चार सय किलोमिटर गुड्ने दाबी गरिएको छ।
यस्तोमा हाइड्रोजन सुलभ हुँदा भारतमा उत्पादित ट्रक र बस नेपाल भित्रिन अप्ठ्यारो हुने छैन।
‘हाइड्रोजन नै अबको प्रविधि हो, यसैतर्फ जानुपर्छ भनेर केयुले अध्ययन गरेको हो’, डिन पोखरेल भन्छन्, ‘प्राविधिक परीक्षण हामी गर्छौँ सरकारले कानुनी सहजता प्रदान गरोस् भन्ने मात्रै हो।’
हाइड्रोजन प्रविधि नयाँ भएकाले विस्तारै सस्तो हुने देखिन्छ। अहिले प्रतिकिलो ५ डलर पर्ने हाइड्रोजन भारतले २०३० सम्म १ डलरमा झार्ने दाबी गरेको छ।
टोयोटाको मिराई कार १ किलो हाइड्रोजनले करिब २०० किमि गुड्ने देखिएको छ। यता हुन्डाईले एक हजार किमिसम्म गुड्ने ट्रक ल्याइसकेको छ।
‘उपभोक्ताले १ डलरमै हाइड्रोजन फ्युल पाए भने पेट्रोल, डिजेल, ब्याट्रीभन्दा सस्तो हुन्छ’, थापा भन्छन्।
खेर जाने बिजुलीको भण्डारण
नेपालमा वर्षातमा उत्पादिन विद्युत् खेर जाने गरेको छ। उक्त विद्युतलाई हाइड्रोजन उत्पादनमार्फत भण्डारण गर्न सकिने उनी बताउँछन्।
‘नेपालमा जसरी हाइड्रोपावर उत्पादनमा लगानी भइरहेको छ, त्यसैगरी हाइड्रोजनमा निजी क्षेत्रबाटै लगानी आउँछ’, उनको विश्वास छ।
नेपालमा हाइड्रोजन इन्धनको रूपमा प्रयोगमा आउँदा प्राविधिक कुराहरू तयार भइसक्ने विश्वविद्यालयको विश्वास छ।
‘हामीले स्नातक, स्नातकोत्तर र विद्यावारिधिसम्मै हाइड्रोजन प्रविधिसम्बन्धी अध्यापन गराइरहेका छौँ’, एसोसियट प्रोफेसर थापा भन्छन्, ‘विस्तारै बजारमा हाइड्रोजनसम्बन्धी जानकार बढ्छन्।’
काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका सहायक डिन वृजेश अधिकारीले अनुसन्धानको क्रममा थुप्रै अप्ठ्यारो भए पनि विराजसिंह थापासहितको टिमले सफलतापूर्वक परीक्षण गरेको बताए।
‘विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको भिजनले नयाँ प्रविधिको हाइड्रोजन परीक्षण गरी गाडी नै कुदाउन पाएका छौँ’, अधिकारीले भने, ‘नेपालको बिजुली कि बाल कि फाल भन्ने अवस्थामा हाइड्रोजन ल्याब सुरु गरेका हौँ। अब यसलाई व्यावसायिक रूपमा प्रयोग गरेसँगै बढी सफल भएको मानिन्छ।’
भिडिओ
तस्बिर/भिडिओ : सरोज बैजु
प्रतिक्रिया