ad ad

निर्वाचन विशेष


३० वर्षदेखि एमाले नहारेको हेटौँडामा यसपटक गठबन्धन भारी!

३० वर्षदेखि एमाले नहारेको हेटौँडामा यसपटक गठबन्धन भारी!

फाइल फोटो


सागर न्यौपाने
बैशाख १४, २०७९ बुधबार २१:४४, काठमाडौँ

फराकिला सडकका दायाँबायाँ रोपिएका रुख, पिउने पानीको सुविधा, व्यवस्थित बसोबास। काठमाडौँबाट साढे दुई घण्टाको सडक यात्रामा पुगिने बागमती प्रदेशको राजधानी हेटौँडामा देखिने दृश्यले धेरैलाई आकर्षित गर्छ। 

२०४८ सालमा नगरपालिका घोषणा भएपछि हेटौँडामा पूर्वाधार विकासले छलाङ मारेको स्थानीय बताउँछन्। २०७१ मंसिर १८ गते चुरियामाई, पदमपोखरी, हटिया, हर्नामाडी र बसामाडी समेत पाँच गाविस हेटौँडा नगरपालिकामा गाभेर उपमहानगर बनाउने निर्णय सरकारले गर्यो। 

आधुनिक सहर बन्ने प्रयासमा रहेको हेटौँडामा आउँदो स्थानीय तहको चुनावमा २१ नेता मेयर बन्ने प्रतिस्पर्धामा छन्। उपप्रमुखमा ११ जनाको मनोनयन परेको छ।

१९ वडा रहेको उपमहानगरको वडा अध्यक्षका लागि १ सय ११ जना भिड्दैछन्। 

३० वर्षदेखि एमालेको पकड
रोचक कुरा, २०४९ देखि अहिलेसम्म एमालेले हेटौंडाको स्थानीय निर्वाचन हारेको छैन। २०४९ र २०५४ को स्थानीय निकायको निर्वाचनमा एमालेले नगरपालिका मेयर जितेपछि हेटौँडा बजारको स्वरुप फेरिएको कतिपयको भनाइ छ। त्यसैले पनि एमाले यहाँ बलियो छ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले उपमहानगर जितेबाट पनि त्यसको पुष्टि हुन्छ। एमालेसँग कांग्रेस–माओवादी गठबन्धनले प्रतिस्पर्धा गरेको थियो। तर, तालमेलको प्रभाव देखिएन। 

एमालेका हरिबहादुर महत २३ हजार १२४ मत ल्याएर निर्वाचित भए। कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५ सय ९ मत ल्याए।

राप्रपाका मधुकरप्रसाद अधिकारीले ६ हजार ८ सय ५७ मत ल्याए। 

एमालेका ‘हेबिवेट’विरुद्ध  गठबन्धनका उम्मेदवार
एमाले हेटौँडामा ३० वर्षदेखिको आफ्नो बर्चस्व जोगाउन  चाहन्छ। त्यसैले पुराना नेता अनन्त पौडेललाई उपमहानगर प्रमुख पदको उम्मेदवार बनाएको छ। सांगठनिक कुशलता भएका पौडेल २०७० को संविधानसभा सदस्य थिए। पौडेल विपक्षी दलसँग घुलमिल गर्न सक्ने खुबी भएका नेता हुन्। 

त्यही भएर अन्य थुप्रै नेताहरुलाई पछाडि पार्दै पौडेलले अध्यक्ष केपी शर्मा ओलीकै हातबाट टिकट लिन सफल भए।

एमालेले यसअघि प्राप्त गरेको मत मात्र जोगाएर हेटौँडा जित्ने छैन, अहिले थपिएको २० हजार ८ सय ७८ नयाँ मतदातालाई पनि विश्वासमा लिनुपर्नेछ।

‘नयाँ मतदातालाई प्रभाव पार्न सक्छु,’ पौडेलले नेपालखबरसँग भने, ‘पाँच दलको गठबन्धन परास्त गर्ने उम्मेदवार हुँ, भुइँमा, चकटीमा र खाटमा बसेर जनताको काम गर्न सक्ने मेरो क्षमता छ।’

अहिले कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन छ। गठबन्धनबाट साझा उम्मेदवार छिन्, एकीकृत समाजवादीकी मीनाकुमारी लामा।

२०७४ मा एमालेबाटै हेटौँडा उपमहानगरको उपप्रमुख जितेकी उनी गठबन्धनबाट साझा उम्मेदवार भएकीले एमालेलाई विरासत जोगाउन कठिन हुने विश्लेषण हेटौँडामा भइरहेको छ। कारण, एमाले पहिलेझैँ सग्लो छैन। पार्टीको एउटा हिस्सा नेकपा एकीकृत समाजवादीतर्फ लागेको छ। अर्कोतिर पाँच दलीय गठबन्धनको साथ पनि लामालाई छ।

लामाले गठबन्धनबाट साझा उम्मेदवार भएकैले आफ्नो जित सुनिश्चित रहेको बताइन्।

‘गठबन्धनले चुनाव जिताउनुपर्छ भनेर प्रतिबद्धता जारी गरेको छ,’ उनले भनिन्, ‘हाम्रो एउटै साझा मुद्दा भनेको चुनाव जित्नु हो, त्यसका लागि सबै असन्तुष्टि हल गरेर खटिन्छौँ।’

एकपटक अघिल्लो चुनावको मतपरिणाम हेरौँ।

प्रमुखमा एमालेका हरिबहादुर महत २३ हजार १ सय २४ मत ल्याएर विजयी हुँदा कांग्रेसका आनन्दराम पराजुली जम्मा ६ सय १५ मत अन्तरले पराजित भए। उनले २२ हजार ५ सय ९ मत पाए। राप्रपाका मधुकरप्रसाद अधिकारीले ६ हजार ८ सय ५७ मत ल्याए। 

उपप्रमुखमा एमालेबाटै मीनाकुमारी लामाले २३ हजार ४ सय ३७ मत ल्याएर विजयी भएकी थिइन्। कांग्रेस–माओवादी गठबन्धनबाट बलराम लामाले १७ हजार ११ मत ल्याए। त्यसबेला माओवादीमा रहेका बलराम लामा अहिले एमाले प्रवेश गरेका छन्।

राप्रपाकी इन्दिरा न्यौपानेले ७ हजार ७ सय २ मत ल्याएकी थिइन्।

बदर मतको चिन्ता

२०७४ मा कांग्रेस-माओवादी गठबन्धन हुँदा उपमहानगर प्रमुखमा ७ हजार ५ सय ८२ र उपप्रमुखमा ११ हजार ९ सय ९५ मत बदर भएको थियो।

निर्वाचन कार्यालयका अनुसार त्यसबेला काङ्ग्रेस उम्मेदवार ६ सयभन्दा केही बढी मतले पराजित भएका थिए।

कांग्रेस र माओवादीको गठबन्धनबाट उपप्रमुखमा उठेका बलराम बल ६ हजार बढी मतले पराजित हुँदा ११ हजार बढी मत बदर भएको थियो।

अहिले पनि पाँच दलीय गठबन्धन छ। दुईभन्दा धेरै दल एक ठाउँमा भएकाले २०७४ मा भन्दा धेरै मत बदर हुने चिन्ता छ। त्यसैलाई लिएर गठबन्धनले बदर मत घटाउन घरदैलो अभियान थाल्ने भएको छ।

यस्तोमा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीबाट प्रमुखकी प्रत्यासी लामाको चुनौती भनेको पाँच वर्षअघि पाएको मत जोगाउनु हो।

उनको चुनौती बढ्नुको कारण के पनि हो भने एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग हेटौँडा उपमहानगरमा तालमेल गरेको छ।

थापाले भर्खर गठन गरेको राप्रपा नेपालको जनमत कस्तो छ, अहिले भन्न सकिँदैन, जसरी एकीकृत समाजवादीको जनमतबारे आकलन गर्न कठिन छ।

तर, समाजवादीका नेताहरु मकवानपुरमा संगठन निकै राम्रो रहेको दाबी गर्छन्।

स्वास्थ्यमन्त्री विरोध खतिवडा बागमती प्रदेश समाजवादी दलकी प्रमुख सचेतक मुनु सिग्देल त्यही क्षेत्रको हुनाले एकीकृत समाजवादीको प्रभाव राम्रो भएको उनीहरुको भनाइ छ।

कांग्रेसभित्र अन्तरसंघर्ष 
मेयर पद अर्कै पार्टीलाई दिएको भन्दै कांग्रेसको एक पक्ष असन्तुष्ट छ। जनाधार नभएको पार्टीलाई उपमहानगरको प्रमुखको चाबी दिएर जित्ने निश्चित भएको क्षेत्र गुमाउनुपरेको  भन्दै उनीहरु चुनावी प्रचारमा समेत नजाने योजनामा छन्।

बागी उम्मेदवारी दिएका केहीले पार्टी निर्देशनअनुसार फिर्ता लिए पनि चुनाव प्रचारमा गएनन् भने त्यसको सिधा असर लामालाई पर्नेछ। 

यसैको फाइदा उठाउने तयारीमा छ एमाले।

‘गठबन्धनमा पनि कांग्रेसभित्र अन्तरविरोध छ,’ समाजवादीमा गएकाहरूको पूर्ति गरिसकेका छौँ,’ एमाले उम्मेदवार पौडेलले भने, ‘२०४९ देखि बलियो अवस्थामा रहेका हाम्रो अहिले झन् सुधार भएको छ।’

हेटौँडामा एमाले एकताबद्ध रहेको उनले ठोकुवा गरे।

‘हामी एकताबद्ध छौँ, उम्मेदवारी चयनदेखि मनोनयनसम्म हाम्रो एकता देखिएको छ, अब चुनावमा यसैगरी एक भएर होमिन्छौं। पहिलाको विरासत कायम राख्छौँ,’ उनले थपे।

प्रमुख पदकी उम्मेदवार मीनाकुमारी लामा चुनावका लागि पाँच दलको साझा घोषणा पत्र बनाउन व्यस्त छिन्। 

गठबन्धन एक रहेको सन्देश दिन मंगलबार परिचयात्मक कार्यक्रम पनि भइसकेको छ।

‘सामाजिक रुपान्तरणमा खेलेको भूमिका, न्यायिक समितिबाट १७ सय विवाद सुल्झाएको कारण हेटौँडाबासीले मत दिनुहुनेछ,’ उनले भनिन्, ‘पाँच वर्ष उपप्रमुख भएर कमाएको विश्वसनीयताले पनि हेटौँडाबासीको माया पाउनेछु।’

थरीथरीका योजना 
एमालेले आहा! हेटौँडा बनाउने योजना अघि सारेको छ। हेटौँडालाई पर्यटकीय गन्तव्य बनाउने, जीवनलाई रोजगारसँग जोडेर युवालाई उपमहानगरभित्रै टिक्ने योजना पनि बनाएको छ। 

‘भौतिक पूर्वाधार विकाससँगै अब जीवनसँग युवाहरुलाई जोड्ने योजना चाहिन्छ,’ पौडेलले भने, ‘अब हामी आहा! हेटौँडा बनाउने अभियानमा हुन्छौँ।’

लामाले हेटौडालाई बालमैत्री नगर घोषणा गर्ने योजना बनाएको बताइन्।

बागमती प्रदेशको राजधानीलाई डिजिटल सिटी बनाउने अवधारणा बनाइएको पनि बताइन्।

‘विज्ञ, प्राविधिकहरुको सहयोग लिएर बागमती प्रदेशको राजधानी हेटौँडालाई डिजिटल सिटी बनाउँछौँ, अन्य भौतिक पूर्वाधार निरन्तर चलिरहने प्रक्रिया हो,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .