सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता पश्चात दुवै दलबीच मात्र चुनावी तालमेल सम्भव भएको हो । माओवादी केन्द्रले मेयर पद र एकीकृत समाजवादीले उपमेयर पद लिने सहमति भएको छ ।
यसअघि दुवै दलले मेयर र उपमेयरका लागि छुट्टाछुट्टै मनोनयन दर्ता गराएका थिए।
अब माओवादीबाट मेयरमा प्रह्लाद बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारी उम्मेदवार भएका छन् । बुढाथोकी माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष हुन् ।
माओवादीले उपमेयरको उम्मेदवार र समाजवादीले मेयरको उम्मेदवार फिर्ता लिएपछि चुनावी तालमेलको निर्णय भएको हो ।
तालमेलको लागि माओवादीबाट उपमेयरकी उम्मेदवारमा सुमित्रा श्रेष्ठ र नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरमा रमा पौडेलले एकैसाथ शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
फिर्तापछि दुवै दलबीच मेयर र उपमेयर पदमा चुनावी तालमेल भएको उम्मेदवार बुढाथोकीले जानकारी दिए। अहिले मेयर र उपमेयरमा तालमेल भएको छ । केही वडामा पनि तालमेल भइसकेको छ । बाँकीमा गर्ने प्रयास जारी छ, बुढाथोकीले नेपालखबरसँग भने ।
सुरुदेखि नै दुवै दलबीच तालमेको प्रयास जारी राखे पनि सम्भव हुन सकेको थिएन । त्यसैले उनीहरुले संवाद जारी राख्दै छुट्टाछुट्टै मनोनयन दर्ता गराएको थियो ।
Shares
प्रतिक्रिया