ad ad

निर्वाचन विशेष


मञ्जली भर्सेस बाबुराज : ललितपुरको उपमेयरमा कसले मार्ला बाजी?

मञ्जली भर्सेस बाबुराज : ललितपुरको उपमेयरमा कसले मार्ला बाजी?

बाबुराम र मञ्जली।


सागर न्यौपाने
बैशाख १९, २०७९ सोमबार १४:३०, काठमाडौँ

देशभरिका ६ महानगर र ११ उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवारको जति चर्चा चुलिएको छ तर उपप्रमुखको भने निकै कम चर्चा छ।

ललितपुर महानगरको अवस्था पनि यस्तै छ।

संविधानले महानगर, उपमहानगर, नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षहरुको भूमिका, जिम्मेवारीबारे प्रष्ट उल्लेख गरेको छ। त्यही आधारमा उपप्रमुखको हैसियत प्रमुखको सहयोगी जस्तो होइन, महत्त्वपूर्ण छ।

सबै स्थानीय तहमा बन्ने न्यायिक समिति उपप्रमुखकै नेतृत्वमा बन्छन्। मुद्दामामिलाको निरूपण, विवाद समाधान गर्नेदेखि स्थानीय तहबाट प्रभावकारी काम भए÷नभएको अनुगमन गर्ने काम पनि उपप्रमुखबाटै हुने गर्छ।

उपप्रमुखको भूमिका बलियो देखेरै प्रभावशाली नेताहरुले पनि वैशाख ३० गतेको चुनावका लागि उपप्रमुखमै उम्मेदवारी दिएका छन्।

त्यसमध्ये हामीले ललितपुर महानगरपालिकाका उपप्रमुख पदका केही उम्मेदवारको बारेमा जानकारी दिने प्रयास गरेका छौँ।

ललितपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीका अनुसार दल र स्वतन्त्र गरी ११ जनाले उपप्रमुख पदका लागि उम्मेदवारी दिएका छन्।

२०७४ को चुनावमा नेपाली कांग्रेसकी गीता सत्यालले १९ हजार ८ सय १९ मत ल्याएर उपप्रमुख जितेकी थिइन्।

त्यसबेला साझा पार्टीकी शोभा शाक्यले १४ हजार २ सय ४० मत ल्याएर माओवादी केन्द्रकी उम्मेदवारलाई निकै पछि पारेकी थिइन्।

माओवादी केन्द्रकी हसिना शाक्यले १२ हजार ९ सय ६० मत ल्याउँदा एमाले–राप्रपाका गठबन्धन उम्मेदवार बाबुकाजी प्रधानले १० हजार ५ सय ४० मत मात्र ल्याए।

त्यसबेला स्वतन्त्रसहित ११ जना उपप्रमुखको दौडमा थिए।

अहिले भने ललितपुर महानगरको अवस्था बेग्लै छ।

एकातिर पाँचदलीय गठबन्धनले साझा उम्मेदवार बनाएको छ भने एमाले एक्लै लड्दैछ। अन्य दलबाट पनि उम्मेदवारी परेको छ। तर, महानगरको हकमा मुख्य प्रतिस्पर्धा गठबन्धनका साझा उम्मेदवार र एमालेका उम्मेदवारबीच हुने विश्लेषण भइरहेको छ।

मञ्जली शाक्य : सांगठनिक मतकै भरमा जित्ने लक्ष्य
नेकपा एमालेले ललितपुर महानगरको उपप्रमुख उम्मेदवार मञ्जली शाक्य बज्राचार्यलाई बनाएको छ। उपप्रमुखमा

नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा २०५६ देखि सहभागी भएकी शाक्यले राजनीति शास्त्रमा एमए र कानुनमा विए गरेकी छन्।

२०३८ साल कात्तिक १२ गते जन्मेकी उनी नेकपा भंग भएपछि माओवादी नेता रामबहादुर थापासँगै एमालेमै बसेकी हुन्।

अहिले एमाले ललितपुर महानगरपालिका कमिटीको अध्यक्ष रहेकी उनी उपप्रमुखको उम्मेदवार बनेकी छन्।

आइतबार दिनभर उनी चुनावी प्रचार अभियानमा थिइन।

गत २०७४ को निर्वाचनमा पनि उनी माओवादी केन्द्रबाट ललितपुर महानगरपालिकाको उपप्रमुख पदकै उम्मेदवार थिइन। तर, मतदाता नामावलीमा नामै नभएपछि उनको उम्मेदवारी दर्ता भएन।

यसपटक भने शाक्यले सबैभन्दा पहिला मतदाता नामावलीमा नाम कायम गराइन्।

‘नेकपामा हुँदै सीडीओ कार्यालय पुगेर फोटोसहितको नामावली बनाएँ,’ उनले नेपालखबरसँग भनिन्, ‘पहिला पनि उम्मेदवार बन्न नपाएकोले यसपटक पाउँछु भन्ने विश्वास थियो।’

अहिले उनले आफ्नो जितको पहिलो आधार एमालेको संगठित सदस्य देखेकी छन्।

हरिकृष्ण व्यञ्जनकारसँगै दिनभर चुनाव प्रचारमा घरदैलो गर्दा उनले एमालेको लोभलाग्दोे संगठन देखेकी छिन्।

‘जहाँ गए पनि संगठित नेता र कार्यकर्ता, उस्तै सम्मान, उस्तै माया,’ उनले भनिन्।

जिल्लामै रहेकाले उनी महानगरबासीका लागि चिनिएकै अनुहार हुन्। ‘विभिन्न सामाजिक कार्यक्रम, पार्टीका विभिन्न कार्यक्रममा सहभागी भइरहेकोले म महानगरबासीका लागि पुरानै अनुहार हुँ,’ शाक्यले भनिन, ‘मेरो नाम प्रायले सुन्नुभएकै रहेछ, धेरै भाषण त गरेको छैन तर उत्साहित बनाएको छ।’

तर, एमालेमा उनको योगदान लामो छैन। गठबन्धनमै बलियो उम्मेदवार भएकाले शाक्यलाई चुनाव जित्न त्यति सहज नभएको एमालेकै नेताहरुको विश्लेषण छ।

‘उहाँ पुरानो एमाले पनि होइन, विगतमा अर्काे पार्टीमा गरेको योगदानले पुग्दैन,’ एमालेका एक नेताले नेपालखबरसँग भने,‘उहाँले अलि मिहेनत गर्नुपर्छ।’

तर, गठबन्धनमा जाने मत धेरै बदर हुने खतराबीच शाक्यले बाजी मार्न सक्ने ती नेता बताउँछन्।

‘हाम्रो पार्टीमा मत दिन कसैलाई कुनै कन्फ्युजन हुँदैन, सबेलाई नाम नै कण्ठ छ, दल गठबन्धनमा भद्रगोल छ, त्यसबेला गठबन्धनको मत बदर हुँदा एमालेले बाजी मार्ने संभावना निकै छ,’ ती नेताले भने।

अघिल्लोपटकको चुनावको मत परिणाम हेरौँ
त्यसबेला नेकपा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो।

महानगर प्रमुखमा हरिकृष्ण व्यञ्जनकार थिए। उपप्रमुखमा राप्रपाका बाबुकाजी प्रधान थिए।

तर, उपप्रमुखमा एमाले चौथो स्थानमा सीमित भयो  ।

व्यञ्जनकारले २४ हजार ३ सय १६ मत ल्याउँदा उपप्रमुखमा प्रधानले जम्मा १० हजार ५ सय ४० मत मात्र ल्याए।

महानगरमा अहिले १० हजार नयाँ मतदाता थपिएका छन्। २०७४ मा १ लाखद १२ हजार ९ सय २२ मतदाता थिए। अहिले १ लाख २२ हजार ८ सय ९० पुगेका छन्।

त्यो बढेको मतमा एमालेको ध्यान छ।

बाबुराज बज्राचार्य : गठबन्धनको साथ
पाँच दलीय गठबन्धनका तर्फबाट उपप्रमुखको उम्मेदवार बनाइएका बाबुराज बज्राचार्य नेकपा माओवादी केन्द्रका महानगर कमिटी अध्यक्ष हुन्।

ललितपुर पाटन बुःवहालका उनी ५५ वर्षका भए।

१२ वर्षको उमेरदेखि नै बहुदलीय व्यवस्थाका लागि निलो झण्डा बोकेर हिँडेका उनले लगनखेलको नमुना मच्छिन्द्र क्याम्पसबाट स्नातक (बीए) गरेका छन्।

उमेर नपुग्दा वडाध्यक्ष बन्ने सपना तुहियो 
२०४९ मा भएको स्थानीय निकाय निर्वाचनमा एमालेबाट उनले वडाध्यक्षको टिकट पाए। तर, गुमाउनुप¥यो। कारण थियो उमेर।

‘त्यसबेला भरखरै २४ वर्ष टेकेको मात्र थिएँ, बज्राचार्यले नेपालखबरसँग भने, ‘वडाध्यक्ष बन्न २५ वर्ष पुग्नैपर्ने व्यवस्था थियो, मैले पाएको टिकट खोसियो।’

उनको टिकट ज्ञानेन्द्र शाक्यले पाए।

फेरि २०५४ सालमा पनि स्थानीय निकायकै चुनाव थियो। बज्राचार्यले नगरपालिकाको वडा १८ मा उठ्ने घोषणा गरे।

त्यसबेला भने शाक्य र उनीमध्ये कसलाई उम्मेदवार बनाउने ? भनेर विवाद भयो।

दुबैले दाबी नछोडेपछि एमालेका तत्कालीन संगठन विभाग प्रमुख केपी ओलीले शाक्यलाई नै टिकट दिए। बज्राचार्यलाई नगरप्रमुख बुद्धिराज बज्राचार्यको स्वकीय सचिव बनाउने सहमति गरियो– २०५६ सम्म उनी स्वकीय बने।

तर, उनलाई स्वकीयको जागिर मन परेन। एमाले पार्टी नै त्यागेर २०५६ सालमा उनी माओवादी प्रवेश गरे।

जनयुद्धमै रहेको पार्टी प्रवेश गरेकोले केही समय उनले अर्ध भूमिगत भएर राजनीति गरे।

पहिलो र दोस्रो संविधानसभाको निर्वाचनपछि उनको भूमिका बढेको छ। २०७० मा एमाओवादीको महानगर कमिटीको अध्यक्ष भए। फेरि २०७८ मा माओवादी केन्द्रको महानगर कमिटी अध्यक्ष बने।

उपप्रमुखमै उम्मेदवारी किन ? त उनको जवाफ सटिक छ–

‘महानगरबासीले राजनीतिक र समाजसेवी दुवै व्यक्तिका रुपमा मलाई चिन्छन्।’

गठबन्धन नभएको भए उनी महानगरको प्रमुख पदका दाबेदार हुन्।

आफू अध्यक्ष भएपछि माओवादीको संगठन बलियो बनाएको उनको दाबी छ।

संघीय निर्वाचन अन्तर्गत पर्ने ललितपुर क्षेत्र ३ मा महानगरको धेरै वडा पर्छ।

‘ललितपुर क्षेत्र नम्बर ३ को विकासमा माओवादीले जसरी रोलमोडल काम गरेको छ, महानगरको नेतृत्व पनि माओवादीले नै गर्नुपर्छ,’ उनी भन्छन्।

अनि व्यवसाय चौपट
उनी हस्तकलाको व्यवसाय गर्थे। राजनीतिमा लागेपछि आफ्नो व्यवसाय चौपट भएको नमिठो अनुभव उनीसँग छ। राजनीतिमा यति व्यस्त भए कि व्यवसाय कुरेर बस्नै सकेनन्।

ललितपुरको महानगरभित्रको नेवारी संस्कृति र सम्पदाको राम्रो ज्ञान बटुलेका बज्राचार्यले पाटनबासीको मन जितेको विश्वास लिएका छन्।

गठबन्धनमा रहेकाले सजिलै जितिने उनले आकलन गरेका छन्।

‘महानगरमा माओवादी केन्द्र तेस्रो स्थानमा छ। हाम्रो मत र गठबन्धनमा रहेका अन्य दलहरुको मत जोड्दा चुनाव जित्ने कुरामा कुनै समस्या देखिदैँन, बज्राचार्यले भने, ‘त्यसमाथि मेरो व्यक्तिगत स्वभाव, मैले पाटन क्षेत्रमा संस्कृति र सम्पदा संरक्षणमा खेलेको भूमिकालाई मतदाताले माया गर्नुहुनेछ।’

तर, जानकारहरुका अनुसार गठबन्धनभित्र पनि नेपाली कांग्रेसको बढी मत रहेकाले त्यो पूरै मत उपप्रमुख उम्मेदवार बज्राचार्यले खस्छ कि खस्दैन भन्ने प्रश्न मुख्य हो।

अघिल्लो केही जिल्लाको उदाहरण हेर्दा कांग्रेसले पाएको पुरै मत उपप्रमुखमा खसेको थिएन।

यसपटक पनि गठबन्धनमा रहेका सबै दलबाट शतप्रतिशत मत खस्ने सम्भावना कम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .