ad ad

निर्वाचन विशेष


भरतपुर: उपमेयरमा चित्रसेन र हिमलामध्ये को बलियो?

भरतपुर: उपमेयरमा चित्रसेन र हिमलामध्ये को बलियो?

सागर न्यौपाने
बैशाख १९, २०७९ सोमबार २०:५१, काठमाडौँ

अघिल्लो पटक भरतपुर महानगरपालिकाको उपप्रमुखमा ११ जना उम्मेदवार थिए। एमालेकी उम्मेदवार दिव्या शर्मालाई करिब आठ हजार मत अन्तरले हराउँदै कांग्रेसकी पार्वती शाह ठकुरी निर्वाचित भएकी थिइन्। 

शाहले ४७ हजार १ सय ९७ मत ल्याउँदा शर्माले ३९ हजार ५ सय २५ मत पाएकी थिइन्। राप्रपाकी रिना गुरुङले ७ हजार २ सय ५२ मत ल्याइन्।

यी तीनबाहेक अन्य उम्मेदवारले सम्मानजनक मत ल्याउन सकेका थिएनन्। बाँकी आठ जना उम्मेदवारले पाएको मत जोड्दा १२ सय २६ मात्र हुन्छ।

०७४ को चुनावमा भरतपुरमा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो। तसर्थ उपप्रमुख पदमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिएको थियो। यसपटक पनि सत्तारुढ दलबीच तालमेल छ। पहिले झैँ प्रमुख माओवादीले र उपप्रमुख कांग्रेसले पाएको छ। अर्कोतिर एमाले र राप्रपाले पनि तालमेल गरेका छन्। 

पाँच दलको तर्फबाट उपप्रमुखका साझा उम्मेदवार छन्, नेपाली कांग्रेसका चित्रसेन अधिकारी। उनी भरतपुर नेपाली कांग्रेस महानगर कमिटी सभापति पनि हुन्। 

भरतपुरमा सबैभन्दा बढी मत कांग्रेसको भएको सो पार्टीको दाबी छ। त्यसमाथि माओवादी केन्द्रको समेत समर्थन पाएकोले सजिलै उपप्रमुख जितिने कांग्रेसको आकलन छ। 

कांग्रेस चितवन उपसभापति तथा स्थानीय तह पाँच दलीय लोकतान्त्रिक गठबन्धनका चुनावप्रसार समितिका संयोजक राजीव न्यौपानेले सबै स्थानीय तहमा चुनाव जित्ने दाबी गरे। उनले पहिला भन्दा चुनावको माहोल निकै बढेको, गठबन्धनमै सबै मतदाताको आकर्षण बढेको बताए।

‘चितवनका सबै स्थानीय तहमा गठबन्धन शक्तिशाली हुँदै गएको छ,’ न्यौपानेले नेपालखबरसँग भने, ‘जनता र मतदातामा आकर्षण बढेको छ, हामी सबैमा चुनाव जित्छौँ।’

उनले भरतपुर महानगरमा प्रमुख र उपप्रमुख मात्र नभई २९ वटै वडामा गठबन्धन विजयी हुने ठोकुवा गरे।

‘अघिल्लो पटक भन्दा निकै मतान्तरले चुनाव जितिन्छ,’ न्यौपानेले थपे।

अघिल्लो पटक भरतपुरमा मात्र चुनावी तालमेल भएकोले खुलेर मत नखसेको र अहिले देशव्यापी गठबन्धन भएकोले सबै मत खुलेर खस्ने बताए।

‘हाम्रो उम्मेदवार नै छैनन् त कसलाई मत दिने? के केपी ओलीका मान्छे जिताउन कांग्रेस तयार हुन्छ? हुँदैन,’ न्यौपानेले भने, ‘गठबन्धन जिताउने पार्टीको नीति कसैले पनि तोड्दैनन्।’

माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले पनि महानगरको चुनाव जित्नेगरी सबै घरदैलो अभियानमा लागेको बताए।

‘चुनावी अभियानमा सबैजना एकजुट भएर लाग्नुभएको छ,’ अधिकारीले भने, ‘कांग्रेस एक ढिक्का भएर लागेको छ, गठबन्धनका सबै दलहरु परिचालित छौँ।’

दुवै नेताको दाबीलाई आधार मान्ने हो भने महानगरको उपप्रमुखमा निकै बलिया उम्मेदवार हुन् अधिकारी।

तर, सो महानगरमा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ। प्रमुखमा राप्रपाले एमालेका विजय सुवेदीलाई समर्थन गरेर उपप्रमुखमा हिमला गुरुङलाई उठाएको छ।

२०७४ मा एमालेकी दिव्या शर्माले ३९ हजार ५ सय २५ मत पाएकी थिइन्। राप्रपाकी रिना गुरुङले ७ हजार २ सय ५२ मत पाएकी थिइन्।

चुनावी तालमेल भएकोले दुवैले ल्याएको मत एकैठाउँमा खस्ने सम्भावना छ। त्यसो हुँदा ४६ हजार ७ सय ७७ मत गुरुङले पाउने निश्चित रहेको उनीहरु बताउँछन्।

भरतपुरमा ३५ हजार ४ सय ७८ नयाँ मतदाता थपिएका छन्। २९ वटा वडा रहेको महानगरमा कुल मतदाता संख्या १ लाख ८५ हजार ७५२ पुगेको छ। जसमध्ये ९६ हजार ८६७ महिला, ८८ हजार ८८४ पुरुष र एक जना तेस्रो लिंगी छन्।

नयाँ मतदाताले महानगरमा प्रभाव पार्ने आकलन राजनीतिक दलहरुले गरेका छन्। तर, कुनै एउटा मात्र दललाई त्यो मत खनिने सम्भावना भने कम छ। अब नयाँ थपिएका ३५ हजार बढी मत पनि बाँडिन्छ। त्यसो हुँदा ५५ हजार मत उपप्रमुखले पाउने एमालेले आकलन गरेको छ।

भरतपुरमा एमालेको चुनावी कमान्डर रहेका देवी ज्ञवालीले त्यसको संकेत गरे। उनले एमालेको पुरै मत राप्रपाको उपप्रमुखलाई खस्ने दाबी गरे।

राप्रपाका भरतपुर अध्यक्ष दीपक थापाले प्रमुख र उपप्रमुख दुवै जित्ने सम्भावना देखेको बताए। उनले उपप्रमुखमा कांग्रेसभित्रको असन्तुष्ट पक्षको १० हजार बढी मत खस्ने विश्लेषण गरे।

‘चितवन महानगरमा राप्रपाको मत १२ हजार छ,’ थापाले नेपालखबरसँग भने, ‘एमालेको ४२ हजार पुगेको छ, कांग्रेसको असन्तुष्ट पक्षको मत १० हजार बढी खस्छ भन्ने हाम्रो विश्लेषण छ।’

त्यसो हुँदा झिनो मतले जित्न सकिने उनले सुनाए। तर, प्रमुखलाई जसरी सजिलै जित्न गाह्रो पर्ने उनले स्वीकार गरे।

‘भरतपुर मेयरमा विजय सुवेदीले आरामले जित्नुहुनेछ, हाम्रो पार्टीको उपमेयरलाई त्यति सजिलो हुँदैन। झिनो मतले जित्छौंँ,’ थापाले जिकिर गरे। 

हिमला गुरुङः ५१ वर्षदेखि राजनीतिमा सक्रिय
राप्रपाको चितवन उपाध्यक्ष रहेकी गुरुङ ६९ वर्षकी भइन्। बीएसम्मको अध्ययन गरेकी अविवाहित उनी राजनीति र समाजसेवामा लागेकै ५१ वर्ष भइसकेको थापा बताउँछन्।

११ वर्ष काठमाडौँ बसेकी उनी गणतन्त्र घोषणा भएपछि फेरि चितवनमै फर्केर समाजसेवा राजनीतिमा सक्रिय रहेको थापाले जानकारी दिए।

‘हाम्रो उपमेयर अहिले ६९ वर्षको हुनुहुन्छ, २०२८ सालको पञ्चायती व्यवस्थादेखि नै राजनीतिमा होमिनु भएको उहाँले जमानामै बीए पास गर्नुभएको छ,’ उनले ‘बीचमा ११ वर्षजति ग्याप गरे पनि त्यसपछि निरन्तर सक्रिय हुनुहुन्छ।’

एमालेसँग व्यावहारिक सम्बन्ध मिलेकोले तालमेल भएको उनले बताए।

‘एमालेको घोषणापत्र वा चुनावी प्रतिबद्धतापत्रमा जे लेखेको भए पनि राममन्दिर बनाउने, धार्मिक कुरा गर्ने हाम्रो एजेन्डा मिलेको छ,’ उनले भने, ‘व्यवहारमै कुरा मिलेपछि चुनावी तालमेल भयो।’

चित्रसेन अधिकारीः केन्द्रले छानेको उम्मेदवार
अधिकारी २०७४ सालको चुनावमा भरतपुर २१ बाट वडाध्यक्ष निर्वाचित भएका हुन्। असोज १० गते भएको भरतपुर महानगरपालिका कार्यसमितिको चुनावमा उनी सभापति पदमा निर्वाचित भए।

उनी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट चिनिन्छन्। स्पष्ट वक्ताको छवि बनाएका अधिकारी सबै मतदातासँग घुलमिल हुनसक्ने नेता भएको स्थानीय बताउँछन्।

उनलाई उपप्रमुखमा अगाडि सार्ने निर्णय केन्द्रमै भएको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई भरतपुर महानगरको उपप्रमुख बनाउने आफ्नो निर्णय पार्टीकै नेताहरुलाई सुनाएका थिए।

तर, महानगर सभापति रहेका उनी आफैँ उम्मेदवार भएको भन्दै कांग्रेसभित्र तीव्र असन्तुष्टि पनि छ।

‘आफैँ सभापति आफैँ उपप्रमुखको उम्मेदवार कसरी बन्न मिल्छ?’ कांग्रेसका असन्तुष्ट नेताहरु भन्छन्।

तर, महानगरमा उनको प्रभाव निकै छ। गठबन्धन जोगाएर लैजाने योजना उनकै हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .