पाँचदलीय गठबन्धनबाट भरतपुर महानगर पालिका प्रमुख पदकी उम्मेदवार रेनु दाहालसहितको टोलीले शुक्रबार एकै दिन वडा नम्बर १, २ र ११ मा घरदैलो कार्यक्रम गर्यो।
बिहानै अविरल वर्षाले घरदैलो कार्यक्रम बिथोल्न खोजेपनि भोट माग्ने कार्यक्रम रोकिएन। प्रमुख रेनु र उपप्रमुख चित्रसेन अधिकारीसहितको टिम चुनावी प्रचारका लागि घरदैलोमा पुग्यो।
शुक्रबारको प्रचार टोलीको संख्या अघिल्लो दिनको भन्दा ह्वात्तै बढेको त्यसबेला देखियो जब, उम्मेदवारसँगै प्रचार टोली वडा नम्बर १, पुल्चोकमा पुग्यो।
भरतपुर महानगरपालिकाको वडा नम्बर १, पुल्चोक लायन्सचोक र पोखरा बसपार्क पुगेपछि प्रचारमा पुराना कांग्रेस नेताहरु र केही नयाँ युवा पनि थपिए।
झण्डै पाँच हजारको हाराहारीमा मतदाता रहेको सो वडाको भूभाग रामनगरसम्म फैलिएको छ। स्थानीयले बताएअनुसार यो वडा नेपाली कांग्रेसको गढ नै हो।
प्रचारमा सहभागी एकजना नेपाली कांग्रेसका नेताले नेपालखबरलाई बताएअनुसार अघिल्लो दिनभन्दा दोब्बर कांग्रेसहरु शुक्रबारदेखि घरदैलो अभियानमा खुल्न थालेका छन्।
यसको कारण के हो त?
‘हाम्रो पार्टीका सभापति प्रधानमन्त्री शेरबहादुर दाइको भरतपुरमा बास बसाइ र बिहीबार पाँचदलले यहाँ गरेको चुनावी सभाको प्रभाव हो,’ ती नेताले भने, ‘त्यही भएर मेयर रेनु दाहालतिर विस्तारै कांग्रेसका साथीहरु खुल्न थालेका छन्। यो संख्या अब दैनिक बढ्छ।’
गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी दाहाललाई यसपटक प्रमुखमा उठाएको भन्दै कांग्रेसको एउटा समूहले असन्तुष्ट भएर बागी उम्मेदवारी दिएको छ।
कांग्रेसका पुरानामध्येका जगन्नाथ पौडेलले दिएको उम्मेदवारी फिर्ता गराउन कांग्रेसले हर प्रयास गरे पनि सफल भएन। पौडेलले उम्मेदवारी कायम राखेका छन्।
जगन्नाथको उम्मेदवारीले तनावमा देखिएका देउवाले आफ्ना विश्वासपात्र बालकृष्ण खाँण, उमेश श्रेष्ठ लगायतका नेतालाई चितवन पठाएका थिए।
तर, पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि बिहीबार पाँच दलले भरतपुरमा देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ लगायतले एउटै सभामा सम्बोधन गरे।
सबै नेताहरुले सम्बोधनका क्रममा भरतपुर प्रमुख र उपप्रमुख लगायतको सिंगो टिम जिताएर गठबन्धनको भविष्य जोगाउन आग्रह गरेका थिए।
बिहीबारको त्यही कार्यक्रमलगत्तै शुक्रबारदेखि भएको घरदैलो कार्यक्रममा कांग्रेसका नखुलेका नेता र कार्यकर्ता पनि खुल्न थालेको नेताहरु बताउँछन्।
‘हिजोसम्म रहेको अन्योल हट्यो, गठबन्धन जोगाउन रामचन्द्र दाइ र हाम्रो सभापति शेरबहादुर देउवाले हामीलाई निर्देशन दिनुभयो, हामी अब पुरै खटिनुपर्छ भन्ने साथीहरुलाई परिसक्यो,’ नेपाली कांग्रेस २७ नम्बर वडा समिति तरुण दलका अध्यक्ष मुक्ति श्रेष्ठले भने, ‘आजदेखि खुल्न थाल्नुभयो, भोलिदेखि यो संख्या निकै बढ्छ।’
गठबन्धनले एकैदिन गरेका तीनवटा वडामा कांग्रेसको संख्या ह्वात्तै बढेको देखिएको माओवादी केन्द्र भरतपुर महानगर कमिटीका अध्यक्ष रामचन्द्र अधिकारीले पनि स्वीकार गरे।
‘आजको मास हेर्दा कांग्रेसका साथीहरु प्रचारमा हिँड्न थाल्नुभएको देखिएको छ, अब भोलि हेरौं, कति थपिन्छ, अधिकारीले नेपालखबरसँग भने, ‘कांग्रेसले दह्रो साथ दिन्छ भन्ने कुरामा हामी पहिले ढुक्क थियौं।’
जगन्नाथलाई साथ दिने संख्या घट्न थालेको हो त?
पार्टी नीति बाहिर गएर उम्मेदवारी दिएको भन्दै पौडेललाई कांग्रेसले पार्टीबाट निस्कासन गरिसकेको छ।
देउवा भरतपुरमा बास नबसकेको भए पौडेलले माहोल बढाउँदै लगेको कांग्रेसकै स्थानीय नेताहरु स्वीकार गर्छन्।
तर, दुई दिनमा चितवनमा व्यापक फेरबदल भइसकेको उनीहरुले विश्लेषण गरेका छन्।
‘चितवनका दुईजना प्रभावशाली कांग्रेस नेताहरु जीतनारायण श्रेष्ठ र टेकप्रसाद गुरुङ हुन्, उनीहरु लागेपछि काम सफल पार्छन, जिल्लामा राम्रो होल्ड उनीहरुको पनि छ,’ कांग्रेसका अर्का एक जिल्ला नेताले सुनाए, ‘जब हिजो जीतनारायण र टेकप्रसादले रेनुसहितको सबै टिम जिताएर पठाउने घोषणा गरे, अब कांग्रेस आक्रामक रुपमा खटिन्छ। सिंगो टीम परिचालित हुन्छ।’
शनिबार वडा नम्बर २७, २८, १५, २० र १३ मा घरदैलो कार्यक्रम राखिएको छ। सबै कार्यक्रममा कांग्रेसका नेताहरु अनिवार्य उपस्थित हुने ती नेताले बताए।
‘हामीले शनिबारको कार्यक्रमका लागि तयारी गरिसकेका छौँ, हाम्रा साथीहरु खटिनुहुन्छ, कांग्रेसका पुराना नेताहरु पनि विस्तारै खुल्नुहुन्छ,’ ती नेताले थपे।
बागी उम्मेदवार पौडेलले कति मत काट्छन् भन्ने अझै प्रष्ट भइसकेको छैन। तर, उनले काट्न सक्ने मत घटाउँदै जितको अग्रता बढाउने योजना कांग्रेसको देखिन्छ। शुक्रबारदेखि कांग्रेसले सबै संयन्त्र परिचालन गरेको छ।
लालसलाम र जय नेपाल
शुक्रबार तीनवटा चुनावी सभालाई सम्बोधन गरेकी प्रमुख पदकी उम्मेदवार दाहालले लालसलाम र जय नेपाल भन्दै भाषण सुरु गरेकी थिइन्।
बिहीबार प्रचण्डले पनि लालसलाम र जय नेपाल भन्दै भाषण सुरु गरेका थिए। दाहालले पनि त्यही बाटो पछ्याएकी हुन्। कांग्रेसका प्राय नेताहरु भाषणको सुरु र अन्त्यमा जय नेपाल भन्ने गर्छन्। रेनुले पनि त्यही गर्न थालेकी छन्।
एमाले गढमा रेनुको धावा
शुक्रबार साँझ घरदैलो कार्यक्रमको अन्तिम सभा राखिएको थियो, ११ नम्बर वडाको भोजाड चोकमा।
नवजागृति सामुदायिक वन प्रवेश गर्ने गेटमै राखिएको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यसअघि वडालाई गरेको विकास निर्माण र अब गर्ने योजनाको फेहरिस्त सुनाइन्। झण्डै सय जना उपस्थित सो घरदैलोपछिको सभामा रेनुले वडा ११ मा गर्नुपर्ने कामको लिष्ट नै तयार पारेको बताइन्। उनले सडक, पूर्वाधार र कृषिलाई प्राथामिकता दिएको र त्यसलाई निरन्तरता दिने घोषणा पनि गरिन्।
भोजाड चोकमा खाजा पसल सञ्चालन गर्ने एक व्यक्तिले नेपालखबरलाई बताएअनुसार सो वडामा अहिलेसम्म एमालेले हारेको छैन। १४ हजार भन्दा बढी मतदाता रहेको सो वडा भरतपुर महानगरको सबैभन्दा ठूलो वडा पनि हो। त्यहीँ पुगेर रेनुले अधुरो विकास गर्ने प्रतिवद्धता मात्र जनाइनन्, वडा ११ मा सडक, पूर्वाधारको क्षेत्रमा आक्रामक बजेट पार्न वडाध्यक्षबाट साथ नै नपाएको बताइन्।उनले आफूले ५ वर्षमा गरेको काम अन्य कुनै नेताले १० वर्षमा समेत गर्न नसकेको दाबी गरिन्।
विगतमा यो वडा एमालेको गढ हो भनेर स्थानीयबासीले ठीकै भनेका हुन्। किनभने, वडा नम्बर ११ एमालेको गढ हो भन्ने ०७४ को तथ्यांकले पनि देखाउँछ। विगत ०७४ को चुनावमा यस वडामा एमालेका बाबुराम अधिकारीले ३ हजार ४१ मत ल्याएर जित्दा काँग्रेसका ज्ञानेन्द्र गिरीले १ हजार ७४४ मत पाएका थिए। माओवादीका वडाध्यक्षका उम्मेदवार राजन कुमार श्रेष्ठले १३९० मत पाएका थिए। यस वडामा राप्रपाको मत ३२६ थियो।
रेनुको घरमा कांग्रेसको भीड
रेनु दाहालको भरतपुरमा रहेको घरमा भेट्नका लागि मानिसहरुको भीड लाग्न थालेको छ। चुनावी प्रचारको शुक्रबारको कार्यक्रम सकेर उनी लखतरान परेर घर पुग्दा चितवन जिल्लाका कांग्रेसका प्रभावशाली नेताहरु उनकै प्रतिक्षामा थिए।
कोही १५ मिनेट समय लिन्थे, कोही ५ मिनेट भए पनि भेट्थे। त्यहाँ कांग्रेसका ५ जना नेता रेनुको प्रतीक्षामा थिए। ‘चुनावमा असहयोग हुँदैन, हामी जिताएर पठाउँछौं भन्न आएका हौँ, चितवन कांग्रेसका एक नेताले सुनाए’, ‘सबै वडा जित्नैपर्छ,’ त्यो हामी गर्छौं।
तस्बिरहरु: विक्रम राई/नेपालखबर
Shares
प्रतिक्रिया