मनोनयन दर्ता भएदेखि बुटवलमा उम्मेदवारहरू चुनावी सभा तथा घरदैलोमा व्यस्त छन्।
बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट बाबुराम भट्टराई तथा गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेबीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ।
घरदैलो बाहेक दुवै पक्षले आफू निकट पेशागत तथा व्यवसायिक संघसंस्थाको भेलासमेत गर्ने गरेका छन्।
चुनावी प्रचार प्रसारको लागि अब मंगलबार एक दिन मात्र समय छ। मौन अवधि नजिकिँदै जाँदा उम्मेदवारहरूले मतदातालाई आकर्षित गर्ने फरक शैली अपनाउन थालेका छन्।
एमाले उम्मेदवार बाबुराम भट्टराईले आफ्नै हातले लेखेको चिठी सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
उनले सहकर्मीहरुलाई ‘प्रिय...’ र आफन्त तथा आम मतदातालाई ‘श्री... साइनो अनुसारको ढोग तथा नमस्ते’ भन्दै लेखेका छन्।
‘कुशल छु, सपरिवार कुशल हुनुहुन्छ भन्ने कामना गर्दछु’ भन्दै पत्रको सुरुवात गरेका छन्।
उनले आफ्नो पत्रमा ‘हाम्रो बटौलीलाई तपाईं हामीले सोचेजस्तो सुन्दर, शान्त, हराभरा र व्यवस्थित शहर बनाउने तपाईं र हाम्रो चाहना पुरा गर्न...’ भन्दै मत मागेका छन्।
भट्टराइले लेखेको उक्त चिठ्ठी प्रत्येक मतदाताको घरमा पुर्याउने एमाले बुटवल नगर कमिटीका अध्यक्ष किसन ज्ञवालीले बताए।
यता कांग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले प्रथम शहिद मानिएका लखन थापा मगरको शालिकमा माल्यार्पण गरेका छन्। सोमबार बुटवलमा घरदैलो सुरु गर्नु अगाडि पाण्डेले राजमार्ग चौराहामा रहेको सहिद थापाको शालिकमा माल्यार्पण गरेका हुन्।
केही हप्ताअघि एमाले अध्यक्ष केपी ओलीले प्रथम सहिदको बारेमा अरु कसैको चर्चा गर्दा मगर समुदायहरुले आपत्ति जनाएका थिए। लखन थापा नेपालको प्रथम सहिद भएको बताउँदै मेयरका उम्मेदवार पाण्डेले प्रथम सहिदको बारेमा एमाले अध्यक्ष ओलीले भ्रम छर्ने काम गरेको बताएका थिए।
लुम्बिनी मगर समुदायको बाहुल्य भएको प्रदेश हो।
Shares
प्रतिक्रिया