बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा १६ हजार २४७ जनाको लागि मतदान स्थल निर्माण गरिएको छ। यहाँ बुटवल उपमहानगरपालिका ११ नम्बर वडाका मतदाताले मतदान गर्ने छन्।
बुटवल ११ उपमहानगरमा मात्र नभइ लुम्बिनी प्रदेशकै सबै भन्दा बढी जनसंख्या र मतदाता भएको वडा हो। मुलुकका निकै कम वडामा मात्र यो संख्यामा मतदाता रहेका छन्।
मतदान केन्द्रमा १६ वटा मतदान केन्द्र राखिएको छ। १६ वटा मतदान केन्द्र भएको एउटै स्थल प्रदेशका अन्य ठाउँमा नभएको रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले बताए।
वाणिज्य क्याम्पसको प्रत्येक मतदान केन्द्रमा कम्तीमा १ हजार ८ र बढीमा १ हजार ३६ जनाले मतदान गर्ने व्यवस्था गरिएको छ। प्रत्येक मतदान केन्द्रमा महिला र पुरुषको छुट्टा छुट्टै लाइनको व्यवस्था गरिएको मतदान केन्द्र ‘झ’का मतदान अधिकृत युवराज पौडेलले बताए।
‘१६ वटा केन्द्रमा महिला र पुरुषको गरेर ३२ वटा लाइन हुन्छ। ठूलो भिड मुख्य गेटबाटै कन्ट्रोल हुने छ। १० २० जनाका दरले बाहिरबाट पठाइन्छ’ उनले भने, ‘मतदान गरेर पछाडिबाट निस्कने व्यवस्था गरिएको छ। अगाडि कर्मचारी बस्नलाई टेन्टको व्यवस्था गर्दैछौं।’
क्याम्पसको मुख्य गेट बाहिर पनि ठूलो प्राङ्गण छ। जहाँ मतदाताहरु जम्मा हुने ठाउँ छ। बुटवल ११ वडाको भूगोल पनि ठूलो भएकाले टाढा टाढाबाट मतदाता आउनुपर्ने हुन्छ।
योगिकुटीदेखि, शिवालय हुँदै लुम्बिनी वाणिज्य क्याम्पसभन्दा माथिसम्म, प्रगतिनगर हुँदै तिनाउ पारीको बुद्धनगर, नहरपुर, टपमजुवा, मैनाबगरसम्मको भूभाग अहिले बुटवल वडा नम्बर ११ अन्तर्गत पर्दछ।
२०५४ सालमा स्थानीय चुनाव हुँदा बुटवलको तत्कालीन १३ अर्थात् अहिलेको ११ नम्बर वडामा करिब २ हजार मतदाता थिए।
राजमार्ग चौराहबाट दक्षिणतर्फ झर्दैगर्दा त्यतिबेला फाट्टफुट्ट मात्र बस्ती थियो। वडाको धेरैजसो स्थानमा खेतैखेत र सार्वजनिक जग्गा थियो। अहिले यो स्थान बस्तीले भरिएको छ।
विगतमा थोरै जनसंख्यालाई आधार मानेर वडा तोकिएको थियो। बुटवलको बजार उत्तरतर्फ भरिएर दक्षिणतर्फ झर्ने क्रम सुरु भयो। जसका कारण खाली जग्गा रहेको अहिलेको बुटवल ११ मा बस्ती विस्तार हुँदै गयो। बस्तीमध्ये झण्डै आधाजसो सुकुम्बासी बस्ती छ।
२०७४ को चुनावमा यहाँ साढे १३ हजार मतदाता थिए।
केही महिना अघि बुटवल उपमहानगरपालिकाले ११ नम्बर वडालाई तीनवटा वडामा विभाजन गर्नको लागि प्रस्ताव गरेर संघीय सरकारमा सिफारिस समेत गरेको थियो। त्यस्तो सिफारिस निर्वाचन भन्दा एक वर्षअघि नै हुनुपर्ने कानूनी व्यवस्था छ। सिफारिस ढिला गएकाले कार्यान्वयन भएन।
यो वडाबाट निर्वाचित हुने जनप्रतिनिधि सबै भन्दा व्यस्त हुने गर्दछन्।
११ नम्बर वडामा आधाजसो सुकुम्बासी बस्ती छ। ठूलो वडा र बाक्लो सुकुम्बासी बस्ती भएकाले दल तथा उम्मेदवारहरूको ध्यान बढी जसो यही वडामा पुगेको थियो।
चुनावका बेला उम्मेदवारहरूले सुकुम्बासी समाधानको मुद्दा अघि सारेर यो वडामा मत मागिरहेका छन्। सुकुम्बासी बस्तीलाई आफ्नो पक्षमा पार्न उनीहरु हर तरहले लागेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी गठबन्धनको चुनावी सभा र केपी ओली सहभागी एमालेको चुनावी सभा केही दिन अघि यही वडामा भएको थियो।
Shares
प्रतिक्रिया