भनिन्छ १२ वर्षमा खोलो फर्कन्छ। तर, नेपालको संसदीय राजनीतिमा खोलो फर्कन १२ वर्ष कुर्नै पर्दैन, पाँच वर्षमै सम्भव हुन्छ।
यो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसलाई त्यस्तै भएको छ।
२०७४ को स्थानीय तह निर्वाचनमा बागमती प्रदेशमा जम्मा ३५ तह जितेर दोस्रो बनेको कांग्रेसले पाँच वर्षपछिको चुनावमा ५८ तह जितेको छ।
२०७४ को अवस्था
संविधानसभा चुनाव २०७० मा तत्कालीन प्रदेश ३ बाट नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो।
त्यसपछि कांग्रेसकै नेतृत्वको सरकारले संविधान जारी गर्यो। त्यससँगै औपचारिक रुपमा देश संघीय संरचनामा प्रवेश गर्यो।
२०७४ मा स्थानीय तहको निर्वाचन हुँदा २०७० मा पहिलो पार्टी बनेको कांग्रेस दोस्रोमा झर्यौ।
१ सय १९ स्थानीय तह रहेको प्रदेश ३ (हालको बागमती प्रदेश) मा एमालेले ६४ तह जित्दा २०७० को पहिलो दल कांग्रेसले जम्मा ३५ तह मात्रै जित्यो।
त्यसबेला कांग्रेसले ललितपुर महानगरसहित ३ तह, काठमाडौंका ४ नगरपालिका र सिन्धुलीका ३ पालिका जितेको थियो।
यस्तै, रामेछाप १, दोलखा २, सिन्धुपाल्चोक ३, काभ्रेपलाञ्चोक ४, रसुवाका २ स्थानीय तह कांग्रेसले जित्यो।
नुवाकोटमा ७, धादिङमा ३, चितवनमा १ र मकवानपुरमा २ स्थानीय तह मात्र जिते पनि कांग्रेसले भक्तपुरका सबै पालिका गुमाएर सबैभन्दा ठूलो क्षति ब्यहोर्यो।
२०७९ मा कसरी सुधार गर्यो?
पहिलो स्थानीय तह निर्वाचनमा भक्तपुरमा पत्तासाफ भई बाँकी १२ जिल्लामा कमजोर देखिएको कांग्रेसले पाँच वर्षपछि बागमती प्रदेशमा राम्रो पुनरागमन गरेको छ।
यो विजय माओवादी र एकीकृत समाजवादीसहितका गठबन्धनका कारण सहज भएको हो।
गठबन्धनकै बलमा एमालेलाई दोस्रोमा झार्दै कांग्रेस देशभर पहिलो पार्टी बन्न सफल भएको छ।
तर बागमती प्रदेशमा २०७४ मा एमालेले जितेको ६४ तहको रेकर्ड कांग्रेसले तोड्न सकेन। कांग्रेस बागमतीमा ५८ तह जित्दै पहिलो दल बनेको छ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँले गठबन्धनको साथ मिले पनि आफ्नै मिहिनेतले जीत सम्भव भएको बताए।
उनका अनुसार बागमतीमा प्राप्त भएको नतिजाबाट कांग्रेस सन्तुष्ट छ। बागमतीमा गठबन्धनसहित ८० प्रतिशत तह जितेको उनले बताए।
‘हामीले ५५ प्रतिशत जित्ने आशा गरेका थियौँ,’ बानियाँले नेपालखबरसँग भने, ‘गठबन्धनसहित ८० प्रतिशत जितेका छौँ ।’
गठबन्धनकै कारण यो जित सम्भव भएको उनले बताए। ‘गठबन्धन भएकैले यो जीत सम्भव भएको हो, यदि एक्लै लडेको भए हामी पहिलो पार्टी त बन्ने थियौँ,’ बानियाँले थपे, ‘तर, यही ठूलो नतिजा आउँथ्यो, आउँदैनथ्यो भन्ने छ।’
उनले कांग्रेसको व्यवहार, लोकतन्त्रप्रतिको इमानदारिताकै कारण जनताले मत दिएको पनि बताए।
गठबन्धनबिना एक्लै लडेको भए त्यसले उद्दण्ड देखिने, तर, एकल बहुमत नआउने उनले बताए।
यी हुन् कांग्रेसले जितेका ५० स्थानीय तह
दोलखाको कालिन्चोक गाउँपालिका र बैतेश्वर गाउँपालिका, रामेछापका गोकुलगंगा गाउँपालिका, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिका कांग्रेसले जितेको छ।
सिन्धुलीमा घ्याङलेख गाउँपालिका, तीनपाटन गाउँपालिका जितेको छ। कमलामाई नगरपालिकामा अग्रता लिएको छ।
यस्तै रसुवाको कालिका, नौकुण्ड र आमाछोदिङमो गाउँपालिका कांग्रेसले जितेको छ।
धादिङको खनियाँबास, गंगाजमुना, ज्वालामुखी, नेत्रावती डबजोङ र सिद्धलेक गाउँपालिकासहित नीलकण्ठ नगरपालिका जितेको छ।
यस्तै नुवाकोटमा तादी, तारकेश्वर, म्यागङ, लिखु, शिवपुरी र सूर्यगढी गाउँपालिकामा कांग्रेस विजयी भइसकेको छ। विदुर नगरपालिकामा अग्रता लिएको छ।
काठमाडौंका तारकेश्वर, दक्षिणकाली, कीर्तिपुर, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी र गोकर्णेश्वर नगरपालिका कांग्रेसले जितेको छ।
ललितपुरमा गोदावरी नगरपालिका, बागमती, महाँकाल ललितपुर महानगरमा कांग्रेसले जितेको छ।
भक्तपुरमा कांग्रेसले चाँगुनारायण र मध्यपुर थिमी नगरपालिका जितेको छ।
उता काभ्रेमा नमोबुद्ध, पनौती र बनेपा नगरपालिका जितेको कांग्रेसले रोशी गाउँपालिका पनि आफ्नो पक्षमा पारेको छ।
उता सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी, भोटेकोशी हेलम्बु गाउँपालिका जितेको कांग्रेसले मेलम्ची र बाह्रविसे नगरपालिकामा पनि जीत निकालेको छ।
मकवानपुरमा कैलाश, बकैया, मकवानपुरगढी र राक्सिराङमा पनि कांग्रेस जित निकालेको छ।
चितवनमा खैरहनी नगरपालिका कांग्रेसले जितेको छ। यस्तै रत्ननगरमा पनि जित दर्ता गराएको छ।
कांग्रेसले देशभर ३ सय २७ स्थानीय तह जितेको छ। अन्य प्रदेशजस्तै बागमती पनि कांग्रेस ५८ तह जितेर पहिलो पार्टी बनेको छ।
Shares
प्रतिक्रिया