२०६४ को पहिलो संविधान सभा निर्वाचनमा नेकपा एमालेले तत्कालीन बागमती अञ्चल अन्तर्गत पर्ने काभ्रेको क्षेत्र नम्बर ४ बाहेक सबैतिर पराजय बेहोर्यो।
बागमती अञ्चलका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र धादिङ गरी ८ जिल्लामा २९ वटा निर्वाचन क्षेत्र थिए। तीमध्ये काभ्रे–४ ले मात्रै एमालेलाई बागमतीमा क्लिनस्विप हुनबाट जोगायो।
०६४ को चुनावमा देशभर प्रत्यक्षतर्फ २ सय २० क्षेत्र जितेर माओवादी संविधान सभाको सबैभन्दा ठूलो पार्टी बन्यो। तर, संविधान नबनी संविधान सभा विघटन भएपछि ०७० मा पुनः संविधान सभाको निर्वाचन भयो।
यसपटक बागमती अञ्चलबाट बढारिने पालो माओवादीको थियो। सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ बाहेक माओवादीले अञ्चलभरि कुनै पनि क्षेत्र जित्न सकेन।
०६४ मा एमाले र ०७० मा माओवादी करिबकरिब क्लिनस्विप भएको यो अञ्चलमा पछि चितवन, सिन्धुली, दोलखा, रामेछाप र मकवानपुर जिल्ला पनि थपेर १३ जिल्लाको बागमती प्रदेश बन्यो।
यो प्रदेशमा ०७४ मा पनि माओवादी केन्द्रले राम्रो नतिजा ल्याउन सकेन। तर, यसपटकको स्थानीय तहको निर्वाचनमा भने ०७४ को भन्दा केही तह थप्दै माओवादी केन्द्रले नतिजामा सुधार गरेको छ।
संविधान जारी भएपछि ०७४ मा पहिलो पटक स्थानीय तहको निर्वाचन भयो। १ सय १९ स्थानीय तह रहेको बागमतीमा माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकासहित जम्मा १७ तह मात्र जित्यो।
त्यसबेला माओवादीले सिन्धुलीमा ३, रामेछापमा २, काभ्रेमा २, सिन्धुपाल्चोकमा २, नुवाकोटमा २, धादिङमा १, चितवनमा २ र मकवानपुरमा २ स्थानीय तहमा प्रमुख जितेको थियो।
संघीय राजधानी रहेको उपत्यकामा माओवादीलाई ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले ‘क्लिनस्विप’ हुनबाट जोगाएको थियो।
काठमाडौँ र भक्तपुरमा एउटा तह पनि नजितेको माओवादीले त्यसबेला कोन्ज्योसोम गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ३ वडा जितेको थियो।
०७४ मा माओवादी केन्द्र दोलखा, काठमाडौँ र भक्तपुरमा एक तह पनि जित्न नसकेर पत्तासाफ भएको थियो।
तर, ०७९ वैशाख ३० गते दोस्रो स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम आउन बाँकी हुँदै माओवादी केन्द्रले २० स्थानीय तहमा जित हात पारिसकेको छ। अहिलेसम्म माओवादी केन्द्रले सिन्धुलीमा ३, सिन्धुपाल्चोकमा ४, नुवाकोटमा ४, धादिङमा ३, काभ्रेमा ३, मकवानपुरमा २ र दोलखामा १ पालिका जितेको छ।
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता छ। काठमाडौँमा चन्द्रागिरि नगरपालिका र शंकरापुर नगरपालिकामा एक/एक वडा, भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका उपप्रमुख र वडा सदस्य जितेकाे छ।
भक्तपुरमा माओवादीले पहिलाेपटक जनप्रतिनिधि निर्वाचित गरेकाे हाे।
ललितपुर र रसुवा जिल्लामा माओवादी केन्द्रले प्रमुख पद जित्न नसके पनि उपाध्यक्ष र केही वडा भने जितेको छ।
बागमती प्रदेशका अधिकांश जिल्लामा मतगणना जारी छ। मतगणना जारी रहेका स्थानीय तहमध्ये माओवादी केन्द्रले काभ्रे, दोलखा, रामेछापसहित पाँच स्थानीय तहमा अग्रता लिइरहेको छ।
अग्रता लिएका सबै पालिकामा विजयी भए माओवादीले २५ तह जित्ने देखिन्छ।
तर, अघिल्लो पालि जितेको ललितपुरको कोन्ज्योसोम र चितवनको माडी भने यसपटक माओवादीले गुमाएको छ।
केन्द्रीय सदस्य तथा ललितपुर जिल्लाका इन्चार्ज हरि दाहालले कोन्ज्योसोममा गठबन्धन भए पनि कांग्रेसको धोकाका कारण हार्नुपरेको प्रतिक्रिया दिए।
‘हामीले इमान्दार भएर गठबन्धनमा कांग्रेसलाई मत दियौँ,’ दाहालले नेपालखबरसँग भने, ‘तर, हाम्रो पालिका अध्यक्षलाई कांग्रेसले मत नै दिएनन्, त्यो मत सबै एमालेलाई परेको देखियो।’
माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले केही पालिकामा अनुमानविपरीत नतिजा आए पनि समग्र परिणामले निराश नबनाएको बताए।
‘हामीले पहिले जितेको भन्दा दोब्बर बढी जित्ने सोचेका थियौँ,’ उनले नेपालखबरसँग भने, ‘त्यति नभए पनि ३० पालिका जित्ने देखिन्छ। हामीले वडा तहसम्म गठबन्धन बनाउने भनेका हौँ तर विभिन्न कारण सफल भएन, त्यसको प्रत्यक्ष असर पालिका प्रमुखमा पर्यो र केही गुम्यो।’
बागमती प्रदेशमा माओवादी केन्द्रबाट प्रमुख मात्र होइन उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य पनि जितेकोले पार्टी निर्माण सबै तहमा बलियो भएको उनले तर्क गरे।
‘गठबन्धन सबैतिर सफल भएको छ। तर, माडी र ललितपुरको कोन्ज्योसोममा कांग्रेसले असहयोग गरेको देखियो, माओवादीको नुवाकोटमा सबैभन्दा राम्रो भएको छ,’ उनले भने।
Shares
प्रतिक्रिया