२०७४ सालको स्थानीय चुनावमा अहिलेजस्तो कांग्रेस र माओवादी केन्द्रको देशव्यापी गठबन्धन थिएन। अर्घाखाँची र केही जिल्लामा स्थानीय रुपमा दुई दलले तालमेल गरेका थिए।
अर्घाखाँचीमा ३ गाउँपालिका र ३ नगरपालिका गरी ६ स्थानीय तह छन्। ५ वर्षअघिको चुनावमा ४ पालिका प्रमुखको उम्मेदवार आफूसँग राखेर कांग्रेसले माओवादी केन्द्रलाई २ पालिकाको उम्मेदवार दिएको थियो। तालमेलबाट कांग्रेसले २ नगरपालिका र २ गाउँपालिका जितेको थियो। माओवादी केन्द्र भूमिकास्थान नगरपालिकामा मात्र विजयी भयो। मालारानीमा एमालेले जित हासिल गरेको थियो।
यो वर्षको चुनावमा सत्तारुढ दलले देशव्यापी रुपमा गठबन्धन गरे। केन्द्रमा दलका शीर्ष नेताले निर्णय नगर्दै अर्घाखाँचीमा भने जिल्लागत रुपमा गठबन्धन गर्ने सहमति गरेका थिए।
तर सबैभन्दा पहिले सहमति गरेर पनि अर्घाखाँचीमा गठबन्धन सफल हुन सकेन। यो चुनावमा अर्घाखाँचीमा सबैभन्दा बढी नोक्सान कांग्रेसलाई भएको छ।
अघिल्लो पटक ४ पालिका जितेको कांग्रेसले यो पटक हालसम्म एउटा पालिक मात्र जितेको छ। कांग्रेसले सन्धिखर्क नगरपालिका र पाणीनी गाउँपालिका गुमाएको छ। यी दुई पालिकामा एमाले विजयी भएको छ।
छत्रदेव गाउँपालिकामा मात्र कांग्रेसले अध्यक्ष जितेको छ। तर उपाध्यक्षमा भने पराजित भएको छ।
शीतगंगा गाउँपालिकाको मतगणना जारी रहँदा कांग्रेस उम्मेद्वार झिनो अन्तरले अगाडि छन्।
भूमिकास्थान नगरपालिकामा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाले पालिका प्रमुख जितेको छ। माओवादी केन्द्र उपप्रमुखमा विजयी भएको छ।
अर्घाखाँचीमा कांग्रेस कम्जोर देखिएपछि पार्टीका लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानले राजीनामा दिएका छन्। उनी अर्घाखाँचीका पूर्व जिल्ला सभापति हुन्।
अर्घाखाँचीमा कांग्रेस कमजोर हुनुमा पार्टीभित्रको अन्तर्घात भएको एक कार्यकर्ताले बताए।
‘उम्मेदवार छनोट गर्दा पनि मनोमानी भयो। राम्रो उम्मेदवार नआउँदा आक्रोश बढ्यो,’ उनले भने, ‘पार्टीभित्रै एक खालले अन्तरर्घात भयो।’
सन्धिखर्क नगरपालिका १ मा कांग्रेसका उम्मेदवार माधव श्रेष्ठ १ हजार २४६ मत ल्याएर विजयी हुँदा त्यही वडामा मेयरका उम्मेद्वार शान्ता भण्डारीले झण्डै साढे ३ सय कम अर्थात ९०३ मत ल्याएकी थिइन्।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अर्घाखाँची सहइन्चार्ज ठाकुरकुमार विकले कांग्रेसभित्रै अन्तर्घात भएको मतगणनाका क्रममा पनि देखिएको बताए।
‘सन्धिखर्क १ मा कांग्रेसको बर्चश्व छ। त्यहीँ वडाध्यक्षको भोट र कांग्रेसको मतमा धेरै अन्तर पर्यो,’ उनले भने, ‘अरु कांग्रेसले जितेका वडामा पनि मेयरमा कम भोट छ।’
कांग्रेसको अन्तर्घातको चर्चा एकातिर छँदैछ, त्यसबाहेक टोपबहादुर रायमाझीको प्रभावको कारण पनि अर्घाखाँचीमा गठबन्धन कमजोर भएको हो।
पाँच वर्षअघिको चुनावमा रायमाझी नेकपा माओवादी केन्द्रमा थिए। नेकपा विभाजनपछि उनी एमालेमा गए। गृहजिल्लामा उनीसँगै धेरै कार्यकर्ता एमालेमै गएका छन्। माओवादीका मतदाता कम हुँदा पनि एमालेमाथि गठबन्धन हावी हुन नसकेको हो।
नेकपा माओवादी केन्द्रका ठाकुर विकले रायमाझीतर्फ संकेत गर्दै एमालेले ठूलो रकम परिचालन गरेर मतदाता प्रभावित गरेको आरोप लगाए।
‘हामीलाई जितिन्छ भन्ने आत्मविश्वास थियो। तर यहाँबाट पटकपटक मन्त्री र उपप्रधानमन्त्री समेत भएका व्यक्ति र एमालेबाट साधनश्रोतलाई भरपुर परिचालन गर्ने काम भयो,’ उनले भने ‘तटस्थ मत किन्ने काम भयो। लाखौँ पैसा परिचालन गरेकाले मतदाताहरु प्रभावित हुनुभयो।’
अघिल्लो पटक एक पालिका मात्र जितेको एमालेले यो पटक ३ वटा पालिका जितिसकेको छ।
Shares
प्रतिक्रिया