नेकपा माओवादी केन्द्रले निश्चित जित्ने भनेर दाबी गरेको उपमहानगर हो– दाङको घोराही। त्यही भएर सो पार्टीका दाङ जिल्ला अध्यक्ष रहेका जीवन गौतम आफैँ घोराहीको प्रमुख उठ्न चाहन्थे।
०७४ मा पनि उम्मेदवार बनेर हारेकाले गठबन्धन बनेको बेला चुनाव जित्ने उनको चाहना थियो। तर, त्यस्तो भएन। उम्मेदवार बन्न नपाएपछि गौतमले पार्टी त्यागे।
गौतमले पार्टी परित्याग गरेपछि केन्द्रीय सदस्य तथा युवा नेता हेमराज शर्मालाई घोराहीको मेयरमा उठाउने निर्णय माओवादीले गर्यो।
तर, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरानिकट शर्मा एमालेका नरुलाल चौधरीसँग शर्मा ५ हजार ३ सय ६० मतअन्तरले पराजित भए। जबकि घोराहीमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच चुनावी गठबन्धन भएको थियो ०७४ मा कांग्रेस र माओवादीले पाएको मत जोड्दा पनि विजय निश्चित थियो। तर, तीन दल मिलेर पाँच वर्षपछि भएको चुनावमा पुरानै मत पनि नपरेको उनीहरुको गुनासो छ।
किन त?
माओवादी केन्द्र दाङका सहइन्चार्ज निर्मल आचार्यले घोराही उपमहानगर हार्नुका दुई वटा कारण औँल्याए। पहिलो, कांग्रेसभित्रको अन्तर्घात र दोस्रो, प्रमुख पदमा हसियाँ हथौडामा परेकामध्ये १० हजार मत बदर।
‘कांग्रेसको दुई वटा पक्षबीचको लडाइँमा हाम्रा उम्मेदवार परे,’ आचार्यले नेपालखबरसँग भने, ‘अर्कोतिर, ५ हजारले प्रमुख पद हारेको चुनावमा १० हजार मत बदर भएछ।’
घोराहीका माओवादी नेताहरुले पार्टीभित्र पनि अन्तर्घात भएको बताएका छन्।
तर, उम्मेदवार शर्मा भने मत बदर नै हारको प्रमुख कारण देख्छन्।
‘मलाई परेको धेरै मत बदर भएको छ, जुन हारको प्रमुख कारण हो,’ शर्माले भने, ‘कांग्रेसले पनि उपमेयरमा हारेको छ।’
घोराहीमा माओवादीको हारबारे केन्द्रीय सदस्य तथा दाङ सहइन्चार्ज निर्मल आचार्यसँग गरिएको कुराकानीः
माओवादीको जनमत राम्रो भएको भनिएको, अरु दलसँग गठबन्धन पनि घरेको घोराहीमा माओवादी किन हार्यो?
सयुंक्त समीक्षा हुन पाएको छैन। तुल्सीपुरको टुंगिन दिनुस् भनेकोले समीक्षा रोकिएको छ।
घोराहीमा हार हुनुको पहिलो कारण गठबन्धनलाई आत्मसात गर्न नसक्नु हो। नेपाली कांग्रेसका साथीहरुभित्र पुरानो समान्तवादी अहं छ। एउटा पक्षले अर्काे पक्षलाई हराउने, पुरानो समस्या छ। त्यो अहिलेसम्म रहेको पाइयो।
अर्काे कारण, हाम्रो समयावधि कम भयो, मतदाता शिक्षाको अभाव भयो र ५ हजारले हार्ने, १० हजार मत बदर हुने स्थिति देखियो। गठबन्धनको कारण बदर मतको संख्या निकै बढी देखियो।
२०७४ मा उपमहानगरमध्ये माओवादीले सबैभन्दा बढी मत पाएको स्थान यही थियो। अहिले गठबन्धन गर्दा पनि सफल हुनुभएन..
हो, अघिल्लो पालि उपमहानगरमध्ये हाम्रो पार्टीले सबैभन्दा बढी मत पाएको घोराहीमै थियो। १२ हजार ८० मत पाएका थियौँ। नेपाली कांग्रेसको १९ हजार चानचुन थियो। नेकपा एमालेको २२ हजार चानचुन थियो।
त्यो हुँदा सोझो अर्थमा गठबन्धनले जित्नुपर्ने हो। तर, नेतृत्वस्तरमा गरिएको गठबन्धनलाई रुपमा स्वीकारिएको देखिए पनि सारमा स्वीकारिएन।
दोस्रो, पश्चिमतिरको सामन्तवाद अलि चर्कै हुन्छ। किनभने सबैभन्दा बढी गठबन्धनको विरोध गरिएको चितवनमा थियो। तर, मत त्यहीँ राम्रो खस्यो, त्यो पुँजीवादी संस्कृति हो। सामन्तवादमा के हुन्छ भने भित्र दबेर बसेको हुन्छ। बाहिर नमस्ते, नमस्ते गर्दै हिँड्छन्। अन्तिममा बदला लिने हुन्छन् क्या!
त्यही भएर दुई वटा वडामा मात्र गठबन्धनको स्पष्ट मत आयो। ९ र १९ नम्बर वडामा। अन्य वडामा मत आएन।
गठबन्धनमा अन्य दल पनि थिए, कांग्रेसलाई मात्र किन दोष दिनुभएको?
समाजवादी सहभागी थिएन, उहाँहरुको एक हजार जति मत आएको छ। वडा विभाजनमा उहाँहरु सन्तुष्ट हुनुभएन। त्यो भएपछि सबैतिर उम्मेदवारी दिनुभयो।
यहाँ जनमोर्चा, कांग्रेस र माओवादीबीच गठबन्धन थियो। माओवादी तर्फबाट इमान्दार मत दिइएको छ। किनभने हामी स्वभाविक रुपमा तेस्रो दल हौँ। कांग्रेसको १९ हजार र हाम्रो साढे १२ हजार मत भनेको धेरै फरक हो।
तर, कांग्रेसको त्यो मत खसेन, खसेका पनि बदर भए, यो भनेको गठबन्धन नमानेको हाम्रो ठहर हो।
उहाँहरुको पुरानो रोग, सामन्तवादी हठ यो चुनावमा प्रकट भयो। त्यस्तै प्रकृति तुल्सीपुर उपमहानगरमा पनि देखियो।
१० वटा स्थानीय तहमध्ये ७ वटा गाउँपालिका र एउटा नगरपालिका गरी ७ पालिकामा एमाले हार्यो। गठबन्धन गरेको ठाउँमा (२ उपमहानगर) मा हारेको छ, धोका भयो।
हामी एक्लै जित्न सक्ने अवस्थामा थिएनौँ। तर कांग्रेसका साथीहरुले एक्लै जित्ने दाबी गरेको परिस्थितिमा हाम्रो मत पुरै खसेर पनि हारिने भनेको कांग्रेसको यदुवंशी ताल भयो।
Shares
प्रतिक्रिया