‘यो पोस्टरमा भएको मान्छे तपाईं हो? यही फिल्मकै हिरोजस्तो देख्छु त?’
गोपीकृष्ण हलको गेटबाट अनुहार बिगार्दै बाहिरिएका एक दर्शकले विशाल पोखरेललाई सोधे।
हलबाट बाहिरिँदै गर्दा ‘कस्तो झुर फिल्म रहेछ’ भन्दै चौरमा गफिनेहरूलाई उनले सिधा नजरले हेर्न समेत सकेका थिएनन्। त्यही बेलामा अनायास यस्तो प्रश्न सामना गर्नुपर्दा उनी हतप्रभ भए।
‘म त हैन, तर मैजस्तो पो देखिने रहेछ,’ बान्की नमिलेको हाँसोसहित उनले जवाफ दिए।
२०७० सालतिर ‘रथ’ फिल्म रिलिज हुँदा उनी जति उत्साहित थिए, हलबाट निस्कँदै गरेका दर्शकहरूको प्रतिक्रियाले खङ्ग्रङ्ग भए।
‘म सी ग्रेडको फिल्म खेल्न त आएको थिइनँ। तर मैले गलत गरिरहेको रहेछु,’ उनी मनमनै पछुताए।
त्यति बेलासम्म विशालले करिब पाँच वटा फिल्म र दुई सय एपिसोडभन्दा धेरै टेलिसिरियल खेलिसकेका थिए।
‘मेरो परिवार मिडिया पृष्ठभूमिको थियो। त्यसैले मलाई फिल्म र टेलिफिल्म खेल्न संघर्ष पनि गर्नुपरेन,’ उनी सम्झन्छन्।
०५९ सालतिर निर्देशक रमेश बुढाथोकीले एउटा सिरियल बनाइरहेका थिए। ‘हिरो’ बन्ने शौख पालेका विशाललाई सुटिङमा बोलाए। ठूलै रोल पाउँछु भनेर दंग पर्दै गएका उनी सुटिङस्थलमा पुगेपछि खिस्स परे।
रोल सानो थियो।
त्यसपछि पनि अर्को टेलिसिरियल खेल्न अफर आयो। गए, तर अभिनय गर्न जानेनन्। स्क्रिनमा देखिने चाहना सजिलै पूरा गरेर भए पनि अभिनय शून्य थियो। उनी वीरेन्द्र हमालसँग अभिनय सिक्न दौडिए।
बाका साथीमार्फत उनले टेलिफिल्महरूमा पर्याप्त रोल पाए। ०५९ सालयता ‘जीवनचक्र’ र ‘थोरै भए पुगिसरी’मार्फत् आफ्नो अनुहार दर्शकमाझ चिनाए।
त्यसपछि जाग्यो फिल्म खेल्ने रहर। आफूले समेत लगानी गरेर पहिलो फिल्म खेले–‘भइहाल्छ नि।’ अनि लहरै चार-पाँच वटा फिल्म।
तर ती दर्शकको आँखामै परेनन्।
‘रथ’ फिल्म रिलिज भइसकेपछि भने उनले महसुस गरे, ‘मेरो एक दशक खेरै गएछ।’
विशालको स्टारडमको भोक र अहम् चकनाचुर भयो।
‘जब मेरा फिल्म हेरेर दर्शक मुख बिगार्दै बाहिर निस्किन्छन् भने के नै गरेछु र! म फिल्मको लागि होइन रहेछु,’ मनमनै सोचे।
त्यसपछि विशालले निराश हुँदै घर(दाङ) फर्कने सोच बनाए।
मनोज पण्डितले बदलेको सोच
दाङमा एउटा फिल्मसम्बन्बन्धी वर्कसप हुँदै थियो। त्यहाँका आयोजकले उनलाई भने, ‘वर्कशपमा निर्देशक मनोज पण्डितलाई बोलाएका छौँ। सँगै लिएर आउनू।’
मनोजको फिल्म ‘वधशाला’ र ‘दासढुंगा’बाट प्रभावित थिए विशाल। मनोजले सोह्रखुट्टेमा चलाएको एउटा वर्कशपको सेसनमा उनी सहभागी समेत भएका थिए। त्यसैले मनोजसँगै दाङ जान उत्साहित थिए।
दाङको वर्कसप सकेर काठमाडौं फर्कने क्रममा विशालले मनोजसँग दुःख पोखे, ‘म सिनेमाको लागि होइन रहेछु सर! कलाकार बन्न लायक रहेनछु।’
त्यतिबेला मनोजले विशाललाई बलिउडको उदाहरण दिँदै भने, ‘वान्टेडमा सलमान खेलेको भए नि हिट हुन्थ्यो, शाहरुख खेलेको भए पनि हिट हुन्थ्यो। शहन्शाहमा जितेन्द्र खेलेको भए नि हिट हुन्थ्यो, धर्मेन्द्र खेलेको भए नि हिट हुन्थ्यो। तिमीले खेलेको सिनेमाको कथावस्तु कमजोर थियो। फिल्म चल्ने त क्यारेक्टर बलियो भएर हो।’
विशालको जिज्ञासा थियो, ‘उसो भए क्यारेक्टर कसले बनाउँछ त?’
‘पहिलो लेखक, त्यसपछि निर्देशक र निर्देशकले दिएको परिधिमा एक्टरले बनाउने हो।’
मनोजको यो जवाफले विशालको आशा अलिकति पलायो। ‘मेरो पाँच वटा फिल्म फ्लप हुनुमा त पहिले स्टोरी र त्यसपछि निर्देशक जिम्मेवार रहेछन्। अनिमात्र म,’ उनले ठाने।
‘मेरो सबै अहम् भत्किसकेको थियो। अब मैले सिनेमामा पुनः शून्यबाट सुरुवात गर्नु थियो,’ विशाल सम्झिन्छन्।
‘एक’ले सिकाएको अभिनय
‘विशाल एउटा फिल्ममा सहकार्य गरौँ हामी,’ मनोजले एकदिन प्रस्ताव गरे।
मनोजसँग काम गर्ने रहर थियो। त्यसैले उनले त्यो प्रस्ताव खुसीसाथ स्वीकारे। मनोजले स्क्रिप्ट लेख्दै गरेको सिनेमाको नाम थियो, ‘एक।’
चलचित्र ‘एक’ आगामी असोज २१ गते ओटिटी प्लाटफर्ममार्फत् रिलिज हुँदैछ। फिल्ममा विशाल एक गुप्तचरको भूमिकामा छन्। मधेश विखण्डनविरुद्ध निर्माण गरिएको उक्त फिल्मको केन्द्रीय पात्र उनै विशाल हुन्।
एक्सन विधाको यो फिल्मको ट्रेलरमार्फत् नै थाहा हुन्छ, विशालको अभिनय सशक्त छ। तर, यसमा विशाल पोखरेलबाट पात्र विशाल क्षेत्री बन्न उनले कम्ता संघर्ष गर्नु परेन!
पाँच वर्षअघि मनोजले स्क्रिप्ट लेख्न थालेका थिए। मनोज स्टोरी बनाउँदै जान्थे, विशाल क्यारेक्टर बनाउनतर्फ केन्द्रित हुन्थे।
‘तिमी विपश्यना जान त सक्दैनौ। तर दिनमा दुई घण्टा जति मेडिटेसन गर,’ अस्थिर स्वभावका विशाललाई एकदिन मनोजले भने।
मनोजको ‘सक्दैनौ होला’ भन्ने शब्दले विशाल झस्किए। ‘यदि विपश्यना गएर क्यारेक्टरमा सपोर्ट हुन्छ भने किन नजाने?’ तर, उनी आफूसँग विश्वस्त थिएनन्।
शिवपुरी डाँडामा विपश्यनाका लागि जाने अघिल्लो रात उनको मुटुमा डरले ढ्याङ्ग्रो ठोक्यो। त्यतिबेला उनले बीपी कोइरालाको जेल जीवन सम्झिए। ‘उनी जेलमा प्रकाशसमेत छिर्न नपाउने ठाउँमा त बसे। म यति पनि किन नसक्ने?’
अन्ततः उनी विपश्यना गए। १० दिनको ध्यान पूरा गरेर फर्किए। फर्किंदा उनको स्वभाव परिवर्तन भइसकेको थियो। कम बोल्ने र आफ्नो कुरा प्रष्ट राख्न सक्ने भएका थिए।
जब मनोजले उनको चरित्रबारे बताए, विशाल तर्सिए। उनले कमान्डोको भूमिका खेल्नुपर्ने थियो। तर, उनी शारीरिक र मानसिक रुपमा त्यो चरित्रसँग मेल खाने खालका थिएन।
उनले एक जना मार्सल आर्ट सिकेका मित्रसँग आफूलाई पनि सिकाइदिन आग्रह गरे।
‘त्यसपछि ती साथीलाई ६ महिनासम्म मेरै घरमा राखेँ। हामी साढे चार बजे उठ्थ्यौँ र दौडन सुरु गर्थ्यौँ’ विशाल सम्झिन्छन्।
डेढ वर्षसम्म उनले मेहनत गरे। उनले त्यो अवधिमा भात नै खाएनन्। दैनिक घण्टौँ कसरत गरेर निखार ल्याउन मनोजसँग काम गर्न थाले।
त्यसपछि सुटिङमा निस्किए।
उनको क्यारेक्टर गम्भीर थियो। कहिल्यै नहाँस्ने। तर, सुटिङमा एक जना पात्रलाई हेरेर हाँस्नुपर्ने दृश्य थियो। विशाल हाँस्न सकेनन्।
‘क्यारेक्टरमा यतिसम्म सिरियस भइसकेछु, मैले हाँस्नै बिर्सिसकेको रहेछु।’
पहिले अत्यधिक बोल्ने उनी मौन बसेको देखेर साथीभाइ दंग परे।
‘के भयो? जँचाउन पो लैजानुपर्छ कि?’ परिवारमा चिन्ता छायो।
‘म कम बोल्नुको पीडा मेरो परिवारले भोग्यो। त्यो सम्झँदा अहिले झसँग हुन्छु,’ विशाल सम्झन्छन्।
...
‘के तपाईं स्वस्थ हुनुहुन्छ?’
हालै नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको टेलिसिरियल जीवन चक्रमा एक स्वास्थ्यकर्मीले मुगुका स्थानीयहरुलाई मुस्कुराउँदै सोधिरहेका हुन्छन्।
स्वास्थ्यकर्मीको जीवन्त अभिनय गर्ने कलाकार हुन् विशाल। मनोज पण्डितद्वारा निर्देशित नयाँ टेलिसिरियल ‘जीवनचक्र’मा नेपालको दुर्गम ठाउँमा गएर त्यहीँको विषयवस्तुमाथि कथा निर्माण गरिएको छ।
१० वर्षअघिको जीवनचक्रका विशाल र अहिलेको जीवनचक्रका विशालबीच निकै भिन्नता छ। यतिबेलाको उनको अभिनयले दर्शकलाई आकर्षित गरेको छ।
विशाल अब स्टारडमको पछाडि कुद्न चाहँदैनन्। उनी चाहन्छन्, आफूले खेलेको पात्रलाई न्याय गर्न।
बीचमा उनलाई केही फिल्मका लागि अफर पनि आए। तर, पहिलेजस्तो उनी आँखा चिम्लेर दौडेनन्।
‘एउटा पात्र निर्माण गर्न कति मेहनत गर्नुपर्छ, बल्ल बुझेको छु। म बिनातयारी सुटिङमा जान सक्दिनँ,’ उनी भन्छन्।
उनले डेढ वर्ष मेहनत गरेको फिल्म ‘एक’ रिलिजको छेकोमा छ। यतिबेला भने विशाल आशावादी छन्, अब दर्शकले उनको अभिनय देखेर अनुहार बिगार्ने छैनन्।
‘र मेरो प्रयत्न असल पफर्मर बन्नु नै हुनेछ,’ उनी आशावादी सुनिन्छन्।
विशाल अभिनित फिल्म 'एक' को ट्रेलर
Shares
प्रतिक्रिया