कोरोनाका कारण लामो समयदेखि बन्द रहेका हल गत हप्ता सरकारले सञ्चालन गर्ने निर्णय ग¥यो। तर फिल्म निर्माताहरू तत्काल हलमा फिल्म लैजाने मनस्थितिमा थिएनन्।
‘कारण, काठमाडौं उपत्यकामा मात्र हल खोल्ने निर्णय गरिएको छ । त्यसमाथि ५० प्रतिशत दर्शक राखेर खोल्दा कोही पनि निर्माता यो जोखिम लिन चाहन्न,’ चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी भन्छन्।
कोरोना महामारीले अस्तव्यस्त बनेको फिल्म क्षेत्रमा उसो त नयाँ फिल्म यो अवधिमा बन्न सकेका छैनन्। २०७६ चैत्रअघिदेखि निर्माण भएका करिब ६० भन्दा बढी फिल्म रिलिजका लागि उपयुक्त समय कुरेर बसिरहेका छन्। ‘झण्डै दुई वर्ष भयो, निर्माताहरू लगानी डुब्ने डरमा बसिरहेका छन्। त्यसैले हल खोल्ने निर्णय गर्दैमा फिल्म रिलिज हुने अवस्था छैन,’ अधिकारी भन्छन्।
लाखौं ऋण र लगानी गरेर बनाइएका फिल्म डुब्ने चिन्ता निर्माताहरूमा छ। चलचित्र संघ, निर्माता संघ र चलचित्र विकास बोर्डको यसको निकासका लागि छलफल गरिरहेको छ।
निर्माता संघका अध्यक्ष अधिकारी सुरुवाती सिनेमाको रिलिजमा रिस्क भएकाले कोही तयार भइनहाल्ने बताउँछन्।
छैनन् नयाँ फिल्म
पोस्ट प्रोडक्सनको काम भइरहे पनि रिलिज कहिले गर्ने भन्ने अन्योल निर्माण टिममा छ। ‘हलमा दर्शक आउने नआउने थाहा छैन। त्यसकारण रिलिज गरेर नोक्सानी व्यहोर्न चाहँदैनौँ,’ उनी भन्छन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल नयाँ फिल्म महामारीको बीचमा खासै नबनेको बताउँछन्। ‘सुटिङमा गए पनि फिल्म तयार हुन समय लाग्छ। अहिले हामीसँग रिलिज गर्न तयार भएका बसेका फिल्म प्रायः दुई वर्ष अघिकै हुन्।
ती फिल्म पनि तत्काल रिलिज गर्न सकिने सम्भावना नभएको उनी स्वीकार्छन्। ‘चलचित्र बोर्ड, निर्माता संघ, वितरकहरूबीचमा साझा सहमतिबाट कसरी चलाउने भनेर वर्क आउट गरिरहेका छौं। त्यसपछि मात्र रिलिज कसरी गर्ने भन्नेबारे निष्कर्ष हुन्छ,’ उनी भन्छन्।
ओटिटीमा पनि जोखिमको डर
फिल्म रिलिज गर्नका लागि अहिले हलका विकल्प नभएका हैनन्। गत भदौ ११ गते धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओटिटी प्लेटफर्मबाट रिलिज भयो। निर्देशक मनोज पण्डितले पनि नयाँ सिनेमा ‘एक’ आगामी असोज २१ गते ओटिटीबाटै रिलिज गर्ने तयारी थालेका छन्। हलमा जान जोखिम भएकाले ओटिटीबाटै लगानी सुरक्षित गर्न सकिने मनोजको दाबी छ।
तर, निर्देशक तथा निर्माताहरू ओटिटी प्लेटफर्मबाट नेपालमा लगानी सुरक्षित हुने अवस्था बनिनसकेको बताउँछन्। निर्देशक दीपेन्द्र के खनालको ‘चिसो मान्छे’ तिहारसम्म तयार हुन्छ। तर, उनी ओटिटी प्लेटफर्ममा जान चाहन्नन्। ‘किनकि नेपाली चलचित्रको लगानीको एक हिस्सा पनि ओटिटीले पैसा उठाउँदैन। त्यसकारण ओटिटी सोचमै छैन। ओटिटीमा पनि कन्टेन्ट चाहियो। कन्टेन्टमा पनि लगानी छैन यहाँ,’ खनाल भन्छन्।
हल खुले पनि दर्शक किन जाँदैनन् ?
फिल्म निर्देशक नवीन सुब्बा हल खोले पनि पहिलेजस्तो दर्शकहरू आकर्षित नहुने बताउँछन्। ‘युवाहरूलाई हलसम्म तान्ने फिल्म हुनुपर्यो। नाइट क्लबमा अहिले पनि भिडभाड नै छ। खोल्ने बित्तिकै जान्छन्। तर त्यही युवा हलसम्म किन आउँदैनन् त? सिनेमा उनीहरूको लागि नाइट क्लब जानु जस्तो पनि भएन,’ उनी भन्छन्।
अन्य देशमा जस्तो नेपालमा दर्शक तान्न सकिने फिल्म र प्रविधि नभएको उनको बुझाइ छ। ‘चीन वा अरु देशका हलमा हेर्दा लकडाउनपछि दर्शकको फ्लो देखिन्छ। उनीहरूको लगाव लगातार रहेको देखिन्छ । हाम्रो पहिले पनि नेपाली सिनेमा पहिलो प्राथमिकतामा पर्ने थिएन। युवाहरूको छनोटमा नेपाली भन्दा हिन्दी सिनेमा नै बढी परिरहेको छ। हाम्रो सिनेमा ले नै तान्न नसकेको हो,’ उनी सुनाउँछन् ।
त्यो क्षमता नेपाली सिनेमाको अझै नदेखिएको उनी बताउँछन्।
नवीनको विचारमा फिल्म हेर्ने कल्चरमा नै विश्वभर परिवर्त आएको छ। उनका अनुसार हलहरूमा दर्शक संख्या कम नै देखिन्छ। ‘मान्छेहरूले विकल्प प्राप्त गरिरहेका छन्। ओटिटी, होम थिएटर नै निर्माण भएको छ। इन्टरनेटबाट हेर्ने चलन सुरु भएको छ। हलमा जाने दर्शकको संख्या विकसित मुलुकमा पनि कम भएको छ,’ उनी भन्छन्।
Shares
प्रतिक्रिया