बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपाल पार्टी छाडेपछि अभिनेत्री करिश्मा मानन्धर राजनीतिक रुपमा सक्रिय छैनन्। व्यवसायमा उनी व्यस्त छिन्।
तर, बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोटमा भेटेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेपछि धेरैको मनमा प्रश्न उब्जियो, ‘करिश्मा एमाले प्रवेश त गर्र्दै छैनन्?’
ओलीसँग खिचिएको तस्बिरमा लोक गायिका एवम् राष्ट्रिय सभा सांसद कोमल वली, कलाकार जितु नेपाल र करिश्मा छन्। फोटो सेयर गर्दै बुधबार जितुले सामाजिक सञ्जालमा करिश्मासँग ओलीको पढाइकेन्द्रित कुराकानी मात्र भएको संकेत गरेका थिए।
के कुरा भयो त ओलीसँग?
करिश्माले ओलीसँग पढाइ र सिनेमा क्षेत्रको बारेमा मात्र कुराकानी भएको प्रस्ट्याइन्। केपी ओलीले देखेपछि भेट्न मन गरेपछि आफूहरु गएको बताइन्।
‘सरले मेरो अस्तिको स्टाटस हेर्नुभएछ। त्यसपछि फेरि उहाँले मलाई फोन गर्नुभयो। सञ्चो नभएर फोन उठाइनँ। अनि उहाँले सेक्रेटरीमार्फत् जितुलाई भन्नुभएछ। विनोदजीले मलाई जितुले कल गरेको थियो भनेर भन्नुभयो। त्यसपछि हामी हिजो उहाँलाई भेट्न गयौँ,’ करिश्माले सुनाइन्।
ओलीले सिनेमा क्षेत्रको विषयमा जानकारी लिन खोजे। करिश्माले महामारीले पारेको प्रभावबारी जानकारी दिइन्। पढाइको विषयमा कुरा गर्दा ओलीले भने, ‘लर्निङ इज नेभर इन्डिङ प्रोसेस।’
ओलीले पढाइको बारेमा एउटा पुरानो घटना सुनाएको जितुले बताए। ‘उहाँकोमा एक जना विद्यार्थी आउनुभएछ। ओलीले उनलाई कति पढ्यौ भनेर सोध्नुभएछ। ती व्यक्तिले मास्टर्स गरेँ, पढाइ सकियो भन्नुभएछ। ओलीले उनलाई सम्झाउँदै भन्नुभएछ– पढाइ होइन, सर्टिफिकेट लिने काम पो सकियो त। पढ्ने काम त कहाँ सकिनु! पढ्ने चिज जीवनभर सकिन्न।’
बालकोटमा चिया पिउँदै ओलीसँग डेढ घण्टा संवाद भएको उनले बताए। संवादमा जितुले ओलीको प्रशंसा गर्दै भने, ‘कला संगीतको बारेमा चासो राख्ने, कलाकारलाई माया गर्ने हजुरको बानी असाध्यै राम्रो लाग्यो। कति नेताले कलाकार चिन्दैनन्। तपाईंले चिन्नुहुन्छ। माया गर्नुहुन्छ। त्यो राम्रो लाग्छ।’
जितुले ‘मुन्द्रे’को कमेडी क्लबमा ओलीलाई निम्ता पनि गरे। ‘उहाँले समय मिल्यो भने आउँछु भन्नुभएको छ,’ जितुले भने।
ओलीले सुनाए– बाबु छोरा र गधाको कथा
कुराकानीको पुछारतिर ओलीले करिश्मालाई भने, ‘एउटा सुझाव छ चेली, डन्ट रन आफ्टर क्रिटिसिजम!’
ओलीले आलोचनादेखि नडराउन र कमेन्टको पछि नलाग्न सुझाव दिँदै बाबु छोरा र गधाको कथा सुनाए– बाबुछोरा गधालाई आलोपालो डोहोर्याउँदै हिँडेको देखेर एउटा बटुवाले भनेछ, ‘कस्ता मूर्ख? गधा डोहोर्याएर आफूहरू पैदल हिँड्छन्।’
त्यसपछि एक जना अनि दुई जना चढ्दा पनि खिसिट्युरी कम भएन। आखिरमा गधालाई बोक्दा पनि उनीहरुले धर पाएनन्। ‘अन्तिममा बाबुछोराले गधालाई भीरबाट फालिन्छिन्,’ ओलीले सुनाए।
ओलीले आफ्नै बारेमा आएका गालीगलौज र टीकाटिप्पणी सुनाए।
‘मैले मान्छेलाई हँसायो भन्छन्। सिरियस त किन हुने र? के गरेको छु र सिरियस हुनु? खुसी हुन नपाउनु मैले? म त्यो १४ वर्ष जेल बस्दा त बेखुसी छैन। आज त किन बेखुसी हुन्छु?’ ओलीले संवादका क्रममा भने।
ओलीको सुझावपछि करिश्मा आफूमा केही परिवर्तन आएको बताउँछिन्।
‘तपाईंले कसैलाई पनि शतप्रतिशत सन्तुष्ट पार्न सक्नुहुन्न भन्नुभयो। उहाँले भनेपछि आजबाट म कमेन्ट नहेर्ने पक्षमा पुगेँ। कहिलेकाहीँ फेसबकुमा आएको कमेन्ट देख्दा आत्तिन्छु,’ करिश्मा भन्छिन्।
केही साताअघि ओलीले फोन गरेको प्रसंगबारे फेसबुकमा पोस्ट गर्दा करिश्माको आलोचना भएको थियो। करिश्मा अब फेसबुकमा फोटोबाहेक अरु कुरा निकै सोच विचार गरेर मात्र राख्ने बताइन्।
‘मेरो पनि सल्लाहकार हुनुहुन्छ। सुझाव दिनुहुन्छ। सबै कुरा राख्नुपर्दैन। अबचाहिँ म फोटोहरूबाहेक विचारचाहिँ स्योर नभई राख्दा पनि राख्दिनँ। किनकि कसैलाई गाली खान, मुड अफ हुन मन हुँदैन। म विचार गर्छु भन्ने कुरामा पुगेको छु,’ उनी भन्छिन्।
‘राजनीतिमा सक्रिय हुँन्न’
करिश्माले ओलीसँगको भेटमा राजनीतिक कुराकानी नै नभएको बताइन्। मानिसहरूले विभिन्न टिकाटिप्पणी गरिरहँदा उनी भने आफू एमालेमा प्रवेश गर्न लागेको कुरा भ्रममात्र फैलिएको बताइन्।
‘सक्रिय राजनीतिमा आउने मेरो विचार पटक्कै होइन। म आफ्नै काममा व्यस्त छु। ओलीसँग भेट्दैमा म एमाले प्रवेश गर्ने होइन। म नागरिक हुँ। भोट त चुनावमा दिन्छु। कुनै न कुनै विचारलाई त भोट दिन्छौँ। त्यो हिसाबले पनि नागरिकको कर्तव्य हो। तर सक्रिय राजनीतिमा आएर नेता बन्ने कुनै सपना छैन,’ करिश्माले भनिन्।
जितु पनि राजनीतिक पार्टीमा सक्रिय हुने कुनै चाहना नभएको बताउँछन्।
‘कुनै पार्टीमा लाग्नु पनि छैन। कुनै मान्छेको हुनु पनि छैन। हामीले जो पनि भेटम्ला र आदर गर्ने हो, र त्यो गर्छौं,’ उनी भन्छिन्।
Shares
प्रतिक्रिया