सानै उमेरमा सांसारिक मोह भंग हुनु। किशोरावस्था लाग्दा नलाग्दै गुम्बा जानु। जीवनको स्वतन्त्र लय समातेर हुर्कनु पर्ने उमेरमा पालना गर्नु पर्ने कडा आचरण। माया, मोह, बा–आमाभन्दा परको दुनियाँ सोचेको जस्तो सजिलो पटक्कै थिएन आनी छोइङ डोल्मालाई। यो असजिलो जीवनलाई सजिलो बनाउने काम गथ्र्यो गुम्बामा बज्ने मन्त्रले। यही मन्त्रले बिस्तारै तान्दै लग्यो र संगीतको गहिराइमा डुबायो उनलाई।
सन १९९६ मा पहिलो पटक आनीले आफ्नो स्वरमा बौद्ध मन्त्र रेकर्ड गराइन्। त्यसको पछिल्लो वर्ष उनको उक्त मन्त्र कम्प्याक्ट डिस्क (सीडी)मा निस्कियो। देशमा यसको खासै चर्चा भएन तर विदेशमा उनको स्वरको तारिफ भयो। यही मन्त्रको बाटो भएर आनीले संगीतको यात्रा सुरु गरिन्।
मन्त्र गाउँदै गर्दा पनि आनीलाई संगीतको रस थाहा थिएन, न त संसार घुम्ने चाहना। विश्वका विभिन्न देशबाट लाइभ गायनका लागि निम्तो आउन थाल्यो। जिन्दगी भन्नु नै नसोचेको यात्रा गर्नु रहेछ। सोचेको जस्तो भइदिएको भए आँखामा आफ्नै पिताको पीडक अनुहार बोकेर वैराग्यको जीवन कहाँ सुरु हुन्थ्यो होला र? चिटिक्कको घर, साथमा मायालु श्रीमान्, जीन्दगीको रंगीन यात्राको सपना कयौँ पटक आए र भत्किए उनको आँखामा। यसैगरी भत्किँदै जानु रहेछ, जीवका कयौँ असम्भव बाटाहरु।
आनीको जीवनमा यस्ता कयौँ कल्पनै नगरेका बाटाहरु आए। कति पार भए, कति छाडिए, त्यसको हिसाब उनीसँग छैन। सबैभन्दा पहिले उनी गाउनका लागि अमेरिका पुगिन्। र, यतिबेलासम्म आनीलाई गाएर पैसा पाइन्छ भन्ने पनि थाहा थिएन। यो यात्राबाट थाहा पाएको अर्को पाटो कमाइको हो।
आनीको स्वरको तरंग आफ्नो देशमा भन्दा पहिला विदेशमा फैलियो। आफैँ जन्मिएको भूगोलको सिमाना छाडेर स्वरको जादु बुझेकी आनीलाई लाग्यो– संगीतको त कुनै भूगोल हुँदैन रहेछ। नेपालमा भने यतिबेलासम्म बौद्ध मन्त्रको त्यति प्रयोग गरिँदैनथ्यो। नेपालमा रहेका विदेशी बौद्धहरुले सुन्थे, गाउँथे। बिस्तारै विदेशीहरु आनीका साथी बन्न थाले। तिनै साथीले नेपालमा पनि आनीको ‘कन्सर्ट’ गराए। वर्षको एकपटक होटल याक एन्ड यतीमा आनीको कन्सर्ट हुन थाल्यो। अझै पनि आनीलाई लागेकै थिएन, आफ्नो स्वर नेपाली स्रोतासम्म जानु पर्छ।
जब ‘फूलको आँखामा फूलै संसार’ रेकर्ड भयो त्यसपछि भने आनीका नेपाली स्रोता पनि असंख्य बने। आनीलाई न कुनैदिन नाम कमाउँछु भन्ने लागेको थियो, न पैसा नै। नलागेरै दुवै कमाइन्। गायनले ध्यानको काम गर्यो आनीलाई। जीवनमा फरक तरंग पैदा गर्यो। संगीतले आफूलाई झन् धेरै शान्त बनाएको अनुभव उनलाई छ।
आनीलाई आफ्नै देशमा चिनिन झण्डै १० वर्ष लाग्यो। सन् २०९७ मै विदेशी कन्सर्टमा निक्कै चर्चित भइसकेकी आनी सन २००६ मा मात्रै नेपाली स्रोताका लागि गायिका भइन्, नेपालकी गायिका भइन्।
‘इराकमा नेपाली मारिएपछि फूलको आँखामा फूलै संसार झन् धेरै मानिसले गाए,’ आनीले सुनाइन्।
नेपालीभाषीमाझ आनीको सांगीतिक जीवनको महत्वपूर्ण घुम्ती यहीँ सुरु भयो। यो गीतसँग जोडिएका अनगिन्ती सम्झना नाचिरहन्छन् आनीका आँखामा। सबैभन्दा सुरुमा दुर्गालाल केसीलाई यो गीत तयार पार्नलाई थुप्रै गीत लेख्दै मेट्दै गर्नु पर्यो। संगीत गर्न न्ह्यू बज्राचार्यलाई लामो समय लाग्यो। गीत तयार भैसक्दा आनीका आँखा कयौँ पटक भरिए र पोखिए।
आज पनि यो गीत सुन्दा होस् वा गाउँदा, उनका आँखा बिर्सिंदैनन्, आँखाको धर्म रुनु पनि हो भन्ने कुरा। यो गीतले थुप्रै स्रोताहरुलाई पनि ‘निको पारेको’ आनी सुनाउँछिन्।
आनीले संगीतको औपचारिक शिक्षा लिएकी छैनन्। गीत/संगीत उनको सपना पनि थिएन। उनका लागि आमाले गाएको लोरी नै संगीतको पहिलो ज्ञान थियो।
भन्छिन्, ‘मेरो संगीतको गुरु मेरै आमा हुन। आमाले गाएको लोरीको लयले नै मलाई संगीतमा तानेको हो।’
पूर्वजन्ममा विश्वास गर्ने आनीलाई संगीत अघिल्लो जन्मको तपस्या पनि हो भन्ने लाग्दो रहेछ।
आनीको रोजाइमा पुराना हिन्दी गीत, गजल र नेपाली पुराना गीत पर्छन्। जीवनको एक कालखण्डमा आनीले यसप्रकारका गीत असाध्यै धेरै सुनिन्। तर, छोटा मन्त्र उच्चारणले दिने मन्त्रमुग्धता केहीले पनि दिएन।
भन्छिन्, ‘छोटो मन्त्र जप गर्दाको ध्वनिभन्दा मिठो संगीत अरु लाग्दैन।’
आनी आफू सबैखाले गीत गाउन सक्ने बताउँछिन। तर आत्मासमीक्षाको भाषा बोल्ने गीत मात्रै उनको रोजाइमा पर्छन्।
‘अरुलाई उपदेश दिने शब्द भएको गीत म गाउँदिनँ। कसैमाथि औँला उठाएर यसो गर्नुस् भन्ने मेरो हैसियत छैन,’ उनी भन्छिन्, ‘गीतमा करुणा आयो भने म गाउँछु।’
समयअनुसार स्रोताको पनि रुचि परिवर्तन हुँदो रहेछ। आनीको गीत संगीतको स्वाद पनि समयसँगै फेरिएर गयो। हिजोआज भक्तिभावका गीतले उनको मन तानिरहन्छ। यदाकदा पछिल्लो समय बजारमा आएका नयाँ गीत पनि सुन्छिन्। तर खै किन हो, पछिल्लो समयका गीतले उनको मन तान्न सकेको छैन।
‘जीवनलाई फरक रुपले हेरिनु पर्छ। प्रेमबिछोडका गीत धेरै आइरहेका हुन्छन्। त्यो पनि प्रेरणा दिने खालका हुँदैनन्। निरुत्साहित गर्नेखालका गीत सिर्जना भएरहेका छन्,’ उनी भन्छिन्, ‘जीवन त्यति मात्रै हुँदै होइन। आध्यात्मिक चिन्तनले आनन्द दिन्छ। मान्छेमा आफ्नो मात्रै होइन, अरुको पनि कल्याण गर्न सक्ने गुण लुकेर बसेको छ। त्यो गुण बाहिर ल्याउने सामथ्र्य संगीतले राख्छ। त्यस्ता खालका गीत पनि सिर्जना हुनु पर्छ।’
गीत-संगीतले आनीलाई सकारात्मक चर्चा मात्रै दिएन। आनीका विषयमा नकारात्मक समाचार पनि छापिए। एक समय उनी सिंगापुर कन्सर्टमा गइन्। त्यहाँका डिजेहरुसँग डिस्कोमा मज्जाले खुलेर गीत गाइन्। देश र विदेशको टोन मिसिएर फ्युजन भएको गीत निक्कै मिठो सुनियो।
त्यहाँको एक पत्रिकामा ‘डिस्कोमा पपुलर आनी’ भनेर समाचार छापियो। नेपालमा पनि ‘आनी डिस्कोमा’ भनेर समाचार आयो। थुप्रैखालका टीकाटिप्पणी भए। त्यसपछि धेरैले उनलाई ‘डिस्को आनी’ भनेर सम्बोधन गरे। यस्ता समाचारले आनीलाई कुनै फरक पारेन। उनको धेरै सोच्ने बानी पनि छैन।
‘मान्छेले भगवान बुद्धलाई त खोट लगाउने ठाउँ खोज्छन्। म त तुच्छ मन भएको मान्छे, अनेक खालका कुरा बाहिर आइहाल्छ,’ उनी भन्छिन्, ‘तर यस्ता खालका कुराले मलाई फरक पार्दैन। म को हुँ, मलाई थाहा छ। मेरो स्रोता तथा यो मानव संसारसँग लुकाउनु पर्ने मैले केही पनि गरेको छैन।’
Shares
प्रतिक्रिया